07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने




मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

काठमाडौं, ७ माघ । कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन्।

ती शवहरू नेपाल ल्याउन 'सरकारलाई आग्रह गरिए' अनुसार 'यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको' वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्‍याउने गर्छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ।

कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ।

कोभिड-१९ का कारण कामदारको आदानप्रदानमा कमी हुँदा र अन्य मानिसहरूको आवतजावतमा पनि कडाइ भएकाले मलेशिया र नेपालबीच हुने नियमित उडानहरू कम भएको अधिकारीहरू बताउँछन्।

त्यसले गर्दा अहिले भइरहेका उडानहरूमा पनि सबैजसो कम्पनीले साना जहाज मात्र उडाइरहेको मलेशियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताए।

उनले भने, "कोभिडपछि नेपाल र मलेशियाबीच हुने हवाई उडानको सङ्ख्या कम भयो।"

"अहिले मलेशियाबाट जाने उडानले पनि कार्गोभन्दा यात्रुलाई नै महत्त्व दिन्छन्। त्यसले गर्दा यहाँ शवको सङ्ख्या बढेको हो।"

उनले त्यसलाई समाधान गर्न नेपाल वायुसेवा निगमको ठूलो वाइडबडी जहाज पठाइदिन आग्रह गरिएको बताए।

त्यसै अनुरूप आगामी शुक्रवार निगमले जहाज मलेशिया पठाउने र शनिवार १८ वटा शवसहित यात्रु लिएर फर्कने खबर प्राप्त भएको उनले जानकारी दिए।

निगमका अधिकारीहरूले पनि त्यसबारे मलेशियालाई उडान अनुमतिका लागि प्रस्ताव पठाएको बताएका छन्।

तर ठूलो जहाजबाट हुने एउटा उडानले मात्र नेपालीका सबै शव स्वदेश पठाउन नसकिने देखिएको कार्कीले जानकारी दिए।

उनले भने, "हामीले सबै विमान कम्पनीलाई आग्रह गरेर एउटा/दुइटा शव त पठाइरहेका छौँ तर त्यसले मात्र सबै शव व्यवस्थापन हुन सक्ने अवस्था छैन।"

"त्यसैले हामीले थप वाइडबडीको उडानका लागि पहल गरिरहेका छौँ।"

वैदेशिक रोजगार बोर्डका श्रेष्ठका अनुसार कोभिडकै कारण अहिलेको समस्या उत्पन्न भएको हो।

उनका अनुसार अहिले यात्रु नहुँदा नेपाल र मलेशियाबीच सातामा तीनवटा मात्र उडानहरू भइरहेको र सानो जहाजमा एउटा उडानमा एउटै मात्र शव ल्याउन सकिन्छ।

बीबीसी नेपाली



Related News


यसमा तपाइको मत


Comments