13 Baishak, 2081 / 25 April , 2024
-रुपा थापा-
एक मुठ्ठि श्वासको गहिराइलाई
कैद गरेका पवनहरुसँग
लाग्छ यति खेर मेरा ओठबाट छुटेका
चुरोटका धुँवाहरुकेा भेट बादलसँग हुनेछ र
फेरि पनि सफा हुनेछ आकाश त्यस्तै गरी
केहि पुराना डुङ्गाहरु नियाल्दै छु यतिखेर
जसका रङहरु बिस्तारै बिस्तारै हराउँदै छन्
किनारा त फर्किनेहरुको लागि मात्र हो
थाहा त थियो महासागरबाट तिमिले
फेरि अब त्यो झरनासम्मको यात्रा तय गर्ने छैनौँ भनेर
डायरिका पानाहरु फेरि पनि पल्टाइदिन्छ
भर्खरै चलिरहेका ति बतासहरूले
जहाँ समुन्द्रकाे गहिराइसँगै
झन झन मधुरो हुँदै थियो
काेरिएका ती रेखा चित्रहरू
समयको फ्रेमसँगै बिलिन हुँदै गएका
तिम्रा केहि सम्झनाहरु
सायद हराउँदै थिए कत्तै
जीन्दगीका बिशाल राजमार्गबाट
प्रेम तिमी प्रतिक्षा बनेर
फुलि रहेछौँ एतिखेर मायाको ओठमा
र मेरा मुस्कानहरु त्यहि तिम्रा मायाका
मुस्कानहरुसँग फुलि रहेछन् यति खेर
यादका धुँवाहरु पनि त
त्यहि तुवालोसँगै बाफ बनेर छुट्दो रहेछ
जहाँ मधुरो सुर्यकाे प्रकाशसँगै
हराउँदै थिए सितका थोपाहरु
भुमध्ये सागरमा खिचिएका रेखाहरु
जो फेरि फेरि भेटिदैनन एक अर्कासँग
बस त्यहि एक पल थियो
जहाँ तिम्रो र मेराे मुस्कानलाइ कैद गरेको थियो
समयका सुनाैला रङका किरणहरुले
बाफ बनेर उड्दै गरेका
प्रेमका ति प्यालाहरुसँग
न त तिमीसँग नै मेरो कुनै गुनासो छ
न त तिम्री मायाका ति रङहरुसँग नै
मेरो कुनै गुनासो छ
मलाई त नियाल्नु थियो बस तिमिलाई
छुटिरहेका ती बाफहरूसँगै
जहाँबाट छुटिएका थिए
तिम्रेा र मेराे जीन्दगीका गन्तव्यहरू