11 Baishak, 2081 / 23 April , 2024
-डा.अरुणा उप्रेती-
हरेक देशका व्यक्तिहरूको राष्ट्रिय चरित्र हुन्छ । जस्तो जर्मनहरूको चरित्र कसैलाई समय दिएपछि ठीक समयमा पुग्नु हो । त्यस्तै इजरायलीहरूको चरित्र धेरै मिहिनेत गर्नु, फ्रेन्चहरूको चरित्र जीवनमा आनन्द लिनु हो । यस्तै नेपालीहरूको राष्ट्रिय चरित्र फोहोर गर्नु र थुक्नु हो भन्ने जस्तो लाग्दैन ? के कोरोनाविरुद्ध कदम चाल्दा ‘साबुनले हात धोउ र जता पायो उतै नथुकौं’ भन्ने नारा नेपालीले मान्लान् ?
हामीमध्ये कतिले जथाभाबी थुक्नेलाई किन थुकेको भनेर सोध्ने साहस गर्छौं ? माइक्रो चालकलाई बाहिर नथुक भन्न सक्छौं र ?
४ वर्षअघि दसैंका बेला काठमाडौंबाट दोलखा जाँदाको ७ घण्टा (४२० मिनेट) समयमा बस चालकले झन्डै २०० पटक थुके । चालकले थुक्दा बाटोमा मोटरसाइकल चढेर गइरहेका कतिपय महिला र पुरुषको लुगामा थुक र खकार लागेको उनीहरूले थाहै पाएनन् । सायद अफिस वा घर पुगेपछि थाहा पाए कि । थाहा पाएपछि रिसाए होलान् तर गर्न पो के सकिन्थ्यो र ?
त्यसबेला मैले बस चालकलाई ‘कति थुकिरहेको, मान्छेको जीउमा परेको देखेनौ’ भन्छु भन्ने विचार गर्दै थिएँ, मसँगैको साथीले मेरो विचार बुझेर भनिन्, ‘तिमी चालकलाई केही नभन, रिस उठायो भने कतै लगेर बस ठोकाइदिन्छन्, त्यसैले थुकेको हेर्न मन छैन भने आँखा चिम्ल ।’ मैले साथीको कुरा सुनेर केही बोलिनँ । अहिले पनि माइक्रोबस वा ट्याम्पोमा चढ्दा चालकले थुकेको देखे पनि म केही बोल्न सक्दिनँ ।
यस्तो लाग्छ, मानौं थुक्नु राष्ट्रिय चरित्र हो ।
‘कोरोना’ को छलफलमा ‘खोक्दा’ रुमालले नाक, मुख छोप्नुपर्छ त भनियो तर कसैलाई पनि जथाभाबी थुक्नु, ख्याक्क र खुक्क गर्नु हुँदैन भनिएन । यो बानी असभ्य मात्र होइन, रोग सर्ने कारण पनि बन्न सक्छ । यो बानीका कारण कोरोना मात्र होइन, क्षयरोग पनि सर्न सक्छ ।
क्षयरोगले नेपालमा हरेक दिन २० जना मर्छन् । तर प्रायः मानिसहरूले यो तथ्यांकलाई खासै वास्ता गर्दैनन् । सामान्य निरोगी मानिसले जथाभाबी थुक्नु लज्जाको विषय हुनुपर्ने हो ।
सिंगापुरमा जाने नेपालीले त्यहाँको सडकमा ‘ख्याक्क’ थुक्दैन न त युरोप जाने विद्यार्थीले नै । तर नेपालमा त जसले जहाँ पनि थुकिरहन्छन् । मानौं यो ‘गिनिज बुक अफ वर्ल्ड’ मा लेखिन योग्य चरित्र हो ।
अरूको देशमा फोहोर गर्न डराउनेले नेपालमा किन फोहोर गर्ने होलान् ? यहाँको हावापानी नै फोहोर भएकाले वा देशमा क्रान्ति ल्याउँछु भनेर ठूलो स्वरले चिच्याउने नेताले कहिल्यै ‘सफाइ क्रान्ति’ का बारेमा नबोलेर पो हो कि ?
चार जना पुरुष वा युवाहरू चिया पसलको वरिपरि उभिएर चिया खाइरहेको दृश्य १० मिनेट हेरिरहनुभयो भने पक्कै पनि दुई–दुई मिनेटमा सबै जनाले एक–दुई पटक थुकी नै हाल्छन् । पान पसलअघि उभिएर पान खाइरहेको वा सुर्ती माडेका मान्छे देख्नुभयो भने पक्कै तिनका वरिपरि रातो थुक र सुर्ती पनि देख्नु हुनेछ ।
मधेसतिरको अफिसमा त प्रत्येक कुनाकुनामा थरीथरीका चित्रहरू बनाउँदै थुकिएको हुन्छ । त्यहाँ कसैले पनि यसरी थुक्नेविरुद्ध आवाज उठाउँदैन किनभने यो त त्यहाँको चरित्र नै हो । पान खाने मानिसले पान थुक्ने, चुइगम खानेले जताततै थुक्ने र सडकको छेउमा पानीपुरी खाएर मुख कुल्ला गर्दै पिच्च थुक्ने बेलामा कसैलाई पनि ‘मैले थुकेको थुक कसले सफा गर्छ होला ?’ भन्ने प्रश्न मनमा आउँदैन ।