12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेताहरूले नदेखेको सुदूरपश्चिमको आँसु




नेताहरूले नदेखेको सुदूरपश्चिमको आँसु

-डा.अरुणा उप्रेती-

अझै पनि सुदूरपश्चिमकै केही भागमा गौरा उदास भएर रोइरहेकै छिन् । उनको आँसु पुछ्ने हातहरू सुदूरपश्चिममा छन् होला नि ? उनको आँसु रावल, चन्द, देउवाले देख्दैनन्, किनभने यी नेताका आमा, बहिनी र छोरीहरू छाउपडीमा बस्दैनन् ।

ती गौरा जो छाउपडीमा बस्दा रोग, सर्प र बाघको टोकाइ, बलात्कारबाट पिडित हुन्छिन्, उनको क्रन्दन सुनिदिने कोही छ र ? गौरालाई देवी मानेर पूजा गर्ने हामीहरु शायदै जिवीत गौरालाई सम्मान गर्छौं ।

डोटी र बैतडी अनि अछामका विभिन्न गाउँहरुमा गएरहेर्दा थाहा हुन्छ, कसरी त्यहाँ किशोरीहरु अझैँ पनि किशोरावस्थामा नै विवाह गर्न विवश गराइनछन् र चाँडै आमा बनेपछि उनीहरुको स्वास्थ्य नराम्रो हुन्छ । कसरी उनीहरु पाठेघर खसेर झर्ने व्यथाबाट रुन खोज्छन् तर उनीहरुको रुवाईलाई थिचेर राखिन्छ ।

पाठेघर खसेपछि पनि जबसम्म छोरा हुँदैन, त्यही खसेकै पाठेघरबाट श्रीमानलाई यौन सन्तुष्टि दिएर गर्भ बोक्नुपर्छ, सन्तान अर्थात छोरा पाउनै पर्छ । एउटी आमाले छोरीहरु पनि मेरा सन्तान हुन् भन्न पाउँदिनन् । ती गौराका बोलीको कुनै अर्थ छ्रैन सुदूरपश्चिमका मानिसहरुको लागि ।

गौरालाई पूजा गर्नेहरु नै जब ती ‘गौरा’ छोरीको रुपमा उनीहरुको घरमा आउँछिन्, आमालाई “हारेको कर्म” “धिक्कार” “अलच्छिनी” आदि जस्ता शब्दहरु भन्छन् । पत्थरकी गौरालाई फूल र सिँदूरले पूजेर देउडा नाच गर्नेहरु साँच्चीकै गौरालाई चाहीँ मानौं पत्थर हान्छन् । उनको शरीरलाई महिनावारी हुँदा अशुद्ध मानेर छाउगोठमा राख्छन्, मानौं ती किशोरी र महिला कुनै पशु हुन् ।

पशुहरुलाई शायद अलि उज्यालो, घाम आउने ठाउँमा राख्छन् मानिसहरुले किन भने पशहरुको दूध बेचेर पैसा आउँछ, तर जिवित गौरा चाहिँ शायद भार हुन्छिन्, अनि उनको अवस्था जे भए पनि हुन्छ भनेर सुदूरपश्चिमका मानिसले भन्छन् ।

सुदूरपश्चिमको गाउँमा भएको एच.आइ.भी.एड्सको संक्रमणबाट पनि ‘गौरा’ नै पिडित हुन्छिन् । श्रीमानले एच.आइ.भी. को संक्रमण ल्याएर, जिवित गौरालाई दिन्छन् । श्रीमान एड्सबाट मरेपछि ती एकल गौरा चाहीँ त्यो सुदूरपशिचमको समाजको आँखाको तारो बन्छिन् । उनी एड्सबाट संक्रमित भएकी श्रीमान्को कारणले नै हो भन्ने कुरा त्यो गाउँ र समाजले विचार गर्दैनन् । कति चोटी त अपमान, गरिबी सहन नसकेर गौरा, आत्महत्या पनि गर्न चाहन्छिन् ।

May be an image of 1 person and smiling

कहिले ‘गौरा’ मर्छिन्, कहिले बाँच्छिन् । तर बाँचे पनि प्रत्येक पल मानौं पहाड समान हुन्छ उनको जिवन, सुदूर पश्चिमका केही नाँगा डाँडा झैं जहाँ हरियाली छैन ।

एकातिर देवी गौरालाई सम्मान गर्नेहरु अर्कोतिर जिवित देवी गौराको शरीर, जिवनलाई किन सम्मान गर्न नसकेका होला । ?

किन प्रत्येक घरमा हुने देवी ‘गौरा’लाई विद्या, शिप आदीबाट वञ्चित गराएर उनको आँखामा आँसु र व्यथा दिइरहन्छन् ।?

किन सुदूरपश्चिमको गौराको आँसुको बेग पुग्दैन काठमाडौंसम्म ।?

काठमाडौंमा आइसकेपछि सुदूरपश्चिमका मानिसहरु “उतातिर सबै विकास भइसकेको छ अब सुदूरपशिचमका घर घरमा ‘किशोरी गौरा’ छमछम खशी भएर नाच्छिन्” भनेर काठमाडौंमा पनि देउडा नाचगान गर्न थालेको हो कि ?

कति जना सुदूरपश्चिमका गौराहरु सीता, सावित्रीहरु आप्mनो जिन्दगी सुधार गर्न धर्म बदलेर मरियम, सुजन, जुली भइसकेका छन् भन्ने कुरा हाम्रा पण्डित पूजारी र नेताहरुलाई शायद थाहा छैन होला ।

हरेक मानिसहरुलाई आप्mनो धर्म इच्छानुसार मान्ने हक छ तर त्यो हक आप्mनो स्वइच्छा र बुझेर गरेको हो भने त कसैलाई केही भन्ने अधिकार छैन । तर यी गौरा, अपमान सहन नसकेर त्यसबाट मुक्ति पाउन, पछि ‘गौरा’बाट ग्याब्रियल भइन् भने कसले उनलाई मान दिलाएर फेरी ‘गौरा’ बनाउला ? कसले गौराको आँसु पुछ्ला ? उनको हातमा सिप देला ? उनलाई सन्तान (अर्थात्) छोरा पाउन आपनो ज्यान नै जोखिममा हाल्नबाट बचाउला ? कसले ‘गौरा’ लाई छाउपडीको चिसो ठाउँमा गएर बस्ने बाध्यताबाट मुक्ति दिलाउला ?

गौरालाई बाहिरबाट पूज्नुको सट्टा उनलाई एक व्यक्ति मानेर एक मानव मानेर उनलाई मानवीय हक मात्र दिलाए पुग्छ ।

के नेताहरु मान्न तयार छन् ? के “छौपडी” जस्तो कुसंस्कार हटाउन तयार छन् ? यो प्रश्न अछाम र डोटीका गाउँहरुमा गएर हेर्दा थाहा हुन्छ की नेता, कानून यी सबै विवश छन् ‘गौरा’ को आँसु बगिरहेको हेर्न ।

छाउपडिमा एक कुसंस्कार हो भन्ने ज्ञान त सर्वोच्च अदालतले पनि मानेको छ । तर समस्या यो छ कि “यो कुसंस्कार हट्नु पर्छ भन्ने” मान्यता अछाम, बाजुर, कालीकोट, डोटीबाट चुनिएर आएका र सिंहदरबार भित्र बस्ने संसदहरुको मन भित्र पस्दैन ।

ती सांसदहरुलाई र मन्त्रीहरुलाई कसले बुझाईदिने होला लौन जिवित गौरालाई सम्मान गर्न सिक ? ।

छाउपडी प्रथा हटाउन मानसिक चिन्तन फेर्नुपर्ने र शिक्षा दिनुपर्ने भनेर अनेक छलफल हुन्छन्, तर शिक्षा र कानुनी कदम पनि चाहिन्छ भन्ने स्पष्ट छ ।

 

उप्रेतीको फेसबुकबाट साभार 

 

 



Related News


यसमा तपाइको मत


Comments