03 Baishak, 2078 / 16 April , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

"बाबाले सोध्लान नि खैँ छोरा भन्लान् रण जित्दै छ भन्दिए"





-लक्ष्मण सिटौला-

झलकमानले त्यतिबेला गायको यो गीत अहिलेसम्म पनि सार्थक भैरहेको छ। त्यतिबेला सायद छोराहरू रणमा होमिन जान्थे । मलाया लाहुरे, भारतीय सेना र बृटिस सेनामा ।रणमा जान लागेको आफ्नो छोरालाई दहि अक्षता लगाइदिएर आमाले बिदाइ गर्थिन छोराको दिर्घायुको लागि। जो युद्धमा जान्थ्यो उ फर्की आउँथ्यो वा आउदैनथ्यो केही भर हुदैनथ्यो । नेपाली सस्कृतीमा यो एउटा रोचक तर हिर्दयबिदारक प्रचनलन थियो। झलकमानले त्यही दृश्यलाई गीतको मालामा उनेका हुन्।

आज युद्धमा नभएर भोक र गरिबी बाट पार पाउन नेपालीका छोराछोरी काम गर्न बिदेश जान्छन् । युद्धमा जाने छोराहरुका लागि दहि अक्षता मुछेर रुने आमाहरू आज छोरा काम गरेको कर्मथलोमा लाइभ प्रसारण हेर्छिन र दङ्ग पर्छिन। समय बदलिएको छ। समय सग हामी बदलियौ। आज म को हु भन्ने कुरा सबैलाई ज्ञान छ। तर पनि यो म को हु भन्ने प्रश्न भने सदियौ देखि नेपालीको भाग्यमा प्रश्न बनेर लम्पसार अगाडि तेर्सिरहेको छ ।

म को हुँ ? मनको भित्तामा लेखिएको एउटा प्रस्न हु म स्वयं । मुटुको कित्तामा ठाेकिएको एउटा डाेब हुँ । साच्चै म को हु त ? के म झलकमान गन्धर्व हु ? कि म कविताको भोकले कलिलै उमेरमा मरेको धरानको बिमल गुरुङ पो हु कि ?सधैं मैले आफैलाइ सोध्दै आएको एउटा उत्तरहीन प्रस्न । म को हुँ ?

नाममा केही छैन । म जोसुकै हु । मतलब छैन । नाममा झलनाथ ठुलो कि झलकमान ? झलनाथ भुपु प्रधानमन्त्री । झलकमान एउटा जाबो गाइने । पोखराको गाइने । बैदामचोक तिर सारङ्गी रेटेर हिडथे रे ! झलकमान छैनन् । उनी देवताको प्यारा भएकोमा लाखौं लाई खिन्नता छ । झलकमान झलनाथ होइनन यति कुरो चै म ठोकुवा गरेर भन्न सक्छु । झलनाथ झलकमान पनि होइनन् । म चै के हु त ? कि म देवकोटाको मुनामदनको मदन हु ? पसिनाले सपना किन्न भोट जाने एउटा असफल लाहुरे । मदन उतै मरे ।मुना पनि मदनकै सम्झनामा यतै मरिन । इतिहास देखि बर्तमान सम्म यहाँ मुना र मदन बिचको बिछोडको कथा सारङीले गाइरहेकै छ तर कस्ले सुनिदिने । भोट जानेहरूको सपना कहिले पनि नतुइयोस भन्छु म तर बिधिको बिधान बिचित्रको छ ।

लाहुरेकै नियति भोगिरहेछ आज मेरो देशले। म देख्छु लर्को लर्को एयर्पोट बाट जाहाजको प्रत्येक खुड्किला ढोग्दै आमाको यादमा मुड्कीले छातीमा हान्दै जाहाज भित्र छिर्दै गरेका हुलका हुल युवाहरूलाइ । कि सहिद हुनुपर्यो कि लाहुर जान पर्यो अनि मात्रै परिवारको पेट पुजा हुन सक्छ यहाँ ।आजकल झुंडका झुन्ड सहिद हुन्छन । सहिद बन्नुमा कुनै तुक र अर्थ देख्दिन म । एबोर्सनमा फ्याकिने लाखौ भ्रुण पनि सहिद घोषणा हुन सक्छन कुनै दिन यदि यस्तै ताल हुने हो भने । नवरात्रीमा काटिने रागा र सहिद उस्तै उस्तै महत्वहीन बनाउन लागिसके राजनीतिक नेताहरूले । तीन करोड नेपाली लाई सहिद घोषणा गरिदिए हुन्छ बरु । सहिदको लिस्टमा मेरो नाम पर्योकी परेन भनेर झगडा गर्नुपर्ने दिन नआवोस ।

सहिद यहाँ जो पनि हुन्छ । कसैले नामै नसुनिएको सहिद हुनु छैन । आफ्नो टोल छिमेकीले पनि नाम नचिन्ने सहिद के काम ? मुर्दा माथी झन्डा ओढाउनु झन्डाकै अपमान । खै झलकमानले कहिले झन्डा ओढ्नु परेन । झन्डा बोकेर सडक जाम गर्नेहरूका लागि झलकमान झलमल गर्ने दुर आकाशमा चम्किने एउटा सितारा । झलमल गरि झलमलाउने नील आकाशका आवाज झककमान । अझैसम्म पाएका छैनन होला रेडियो नेपाल बाट आफ्नो अमर आवाजको रोयल्टी ।

" बाबाले सोध्लान नि खै छोरा भन्लान् रण जित्दै छ भन्दिए"

खै कस्ले जित्यो रण ! गल्फ मुलुकको तातो बालुवामा आफै देखि युद्ध गर्दैछन युवाहरु । कतिखेर को बाकसमा थुनिएर आउने हो। बिदेशी आवाजका ब्लुज र र्याप झ्याप गाउनेहरु सरकारको हन्डि खाएर बाचिरहेका होलान । के थाहा झलकमानको किड्नी पनि फेल भाको पो थियोे कि ? तर कहिले पनि बाटुले चौरमा बटुको थापेको थाहा भएन उनले । जङ्गलको बाघले उपचारको भिख माग्दैन । सापटि मागेका भए ऊनी पनि बाचिरहेका हुन्थे होलान् । आवाजका प्रथम उद्घोषक पश्चिमका लाली !

ज्युदा झलकमान कहिले बेचिएनन सापटिमा । झलनाथ भन्दा झलकमान प्यारो मलाई । झलनाथहरु पातलो दिसा आयो भने जाहाज बुकिङ गरेर बिदेश जान्छन् । झलकमानहरु उपचार नपाइ मर्छन। यहाँ राजनीतिक पर्खालमा अडेस लागेर रोगी बाच्नेहरुलाइ सुर्य जता पनि अस्ताउन सक्छ बाल छैन । मुटु फेरेर पनि बाच्न सकिने युगमा युवाका झरिला शरीर जब बाकस भित्र कोचिएर आउँछ अनि म सम्झिन्छु तिम्रै गीत झलकमान ! " आमैले सोध्लिननी खै छोरा भनी "

पुरस्कारको पसल थापेर लगानीको ब्याज माग्ने बौद्धिक भिखारीहरुको भिडमा झलकमान एक्ला एकलब्ब्य थिए वा प्रगीतका हरिभक्त कटुवाल थिए वा नुतनताका भीम बिराग थिए । थाहा छैन झलकमान के थिए तर झलकमान सहस्र नेपालीका छातीमा बाचिरहने नेपाल रत्न थिए। गायिने किरा भने कतिले उन्लाइ । सारङ्गी खोसिए हातबाट । लखेटेर पारी पुर्याउन पनि खोजियो तर झलकमान नेपाली गन्धर्वका नुतन धुन थिए ।

भोलि नाङ्गै नाच्ने ज्योति मगर सास्क्रुतिक मन्त्री भइन भने ज्युदा भजन शिरोमणि भक्तराजलाई उनैले दोसल्ला ओढाउलीन र त्यो बेला भक्तराजका आँखाबाट इतिहासको अश्रुधारा बहला र यही हेर्न बाकी त छ अब । यो भिल्लको देश हो यहाँ मणि मिल्किन्छन ।

तिमी बाचेको भए तिम्रा आसुले सिरानी धुन सेतीको पानी चाहिन्नथ्यो ओ मेरा प्रीय गायक झलकमान ! । तिम्रा सारङ्गी पेट भोकको र्याइ र्याइ गाउथ्यो । ठिकै भो बाचेर बौलाहा बनिनु भन्दा मरेर सबको छातीमा बाच्नु नै उत्तम हो कि ?

यहाँ देशभक्ती गीत होइन पार्टी स्तुतिको भाका हाल्न जान्नुपर्छ।

यहाँ साँस्कृतिक गीत होइन बैशकी नारीलाइ पोइल जान प्रेरित गर्ने गीत गाउनु पर्छ अनि मात्रै बिकिन्छ ।

ओ स्वर्गवासी झलकमान ! खै तिम्रो गीत ? सेती दोभानको बालुवा तिम्रा आसुले भिजे होलान , दरौदीको किनारमा तिम्रा गीत रुदै होलान। ओइ स्वभिमानी सितारा ! तिम्रा प्रसुन गीतहरु गङ्गामा बगिरहेको छ यतिबेला म कान थापेर सुन्दै छु । जीवन शर्मा ! तिमीले गायको नेपाली स्वाभिमानको गीत ! ओ पाख्रीन दाइ तिमी गाउँदा गाउदै रगत छादेर मंचमा ढल्यौ खोइ के पायौ र ? । तिमीहरूले यौनका गीत गायनौ पछि पर्यौ । स्वाभिमान नबेच्नेहरुको हालत यस्तै हुन्छ । जब बैशका यौवनका यौनका उत्ताउला गीत गाउँछौँ अनि मात्रै पो सम्मानित सभासद होइन्छ यहाँ । स्वाभिमान झुक्छ यहाँ बेमान उठछ ।

झलकमान ! तिम्रो मुर्छनाको लयमा म आफ्नो बिम्ब खोजिरहेछु । भक्तराज थलापरेको बिसौ बर्ष भो । यतिबेला राम पनि बनबास बाट अयोध्या फर्किसकेका थिए तर भक्तराजको घरमा कोहि फर्केका छैनन् होला । गीतका गालिवहरुको चिहानमा मृत माला चढाउनु मात्रै आउछ नेताहरु ! त्यो पनि एक दिनको पुन्ने तिथिमा ।

दिनदिनै अफिस जादा नारायण गोपाल चोकमा उभिएको शालिक देख्छु । मलाई त्यो शालिकले नेपालका शालिकरामहरुलाइ गिजाए जस्तो लाग्छ । तिनै गायक हुन जो किड्नी फेल भएर मरे । झलकमान ! तिम्रो आवाजको पुस्तौनी ध्वनि अन्नपूर्णको शुभ्र शान्त आकाश मुनि चुपचापले बसेको छ । धेरै भो त्यस्को लयमा म मुर्छित नभएको । मिल्छ भने अन्नपूर्ण लाई एक चोटि भनिदेउन बिन्ती त्यो सश्य श्यामल ओतमा गुन्जिउन तिम्रा माधुर्य मुर्छनाहरु । मलाई देउन छुन तिम्रो प्यारो सारङ्गी खै कहाँ राखेका छौ झलकमान ?।

मलाई स्वप्न स्वतन्त्रताको नेपाली रास्ट्र गीत गाउन मन लागेको छ । मलाई मर्स्याङदी पुत्र माधव घिमिरेको "ज्योतीको पन्ख उचाली" धुन गाउन मन लागेको छ । खै कहाँ छोडेर गयौ तिम्ले तिम्रो जीवन गीत बोलेको नेपाली सारङ्गी भनिदेउन झलकमान !

मलाई रिमालको " जङ्गी निशान हाम्रो " गाउन मन लागेको छ तिम्रै सारङ्गी रेटेर । मलाइ तारादेवीको " काली पारी दाइ कति राम्रो" गुनगुनाउन मन लागेको छ । भनन बिन्ती खै तिम्रो सारङ्गी ? इतिहासले बिर्सिदै गएको नातीकाजीको स्वर सङीत " नेपाली हामी रहौला कहाँ नेपालै नरहे" असाध्य गाउन मन लागेको छ । खै कहाँ छ तिम्रो सारङ्गी ?

तिमी सुतेको, तिमी हिड्ने सबै बाटोतिर हेरिसके तर देखिन तिम्रो सारङ्गी । कि तार छिनेर असरल्ल भैमा कतै रोएर पो बसेको छ कि । मैले देखिन । एकफेर देखे भने तिम्ले रेटेको त्यो सारङ्गीलाइ पेटभरि माया गर्ने धोको छ ।

तिमी नभए पनि तिमी त्यही सारङ्गीमा बाचिरहेको प्रतीत हुन्छ मलाई । मरी जाउ मलाई खै के भाको पो हो तिम्रो हातले छोएको त्यो सारङ्गीमा तिम्ले पिएको मीठो जाणको बास्ना पो आको होलानी ! केही बर्ष अगाडि मैले नारायण गोपालले बजाएको हारमोनियमको पर्दालाइ छोएको थिए । अलिकति गुनगुनाए म " जीवन देखि धेरै -धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर ।'

तिम्रो सिरानीमा तार छिनेको अवस्थामा नदेखु मैले त्यो सारङ्गी अव । किनकि मलाई गाउनुछ " हजार सपनाहरूको माया लागेर आउँछ "। भक्तराजको गोधुली आखामा अझैसम्म बाचिरहेको छ धेरै - धेरै सपना । हामी सबै नेपालीहरुको हजार सपना ! ओइ मेरा प्रीय मोजार्ट संभावनाको सारङी भिरेर सयौ युवाले बिदेशमै आफ्ना सपनाहरू खोजिरहेको यो परिवेशमा दिनदिनै तिनैको लासको बाक्सा एयरपोर्ट बाट सिलबन्दी भएर आउदा इतिहासमा हराएका थुप्रै अरनिको लाई सम्झन्छु म । सारङीले झुठो कहिले बोल्दैन । रेटियो भने बोल्छ नरेटेमा बोल्दैन । असाध्य सोझो छ यो सारङ्गी । सयौंका सपनाका गीतहरु गायो यस्ले । सयौंका बिछोडको गीत गायो यस्ले ।

कुनै बेला दरबार पस्न पनि अनुमति थियो यस्लाइ । कुनै बेला बाटुले चौरमा पनि गुन्जियो यो झलकमानको आवाज बाट । अहिले झलकमान छैनन । यतिबेला झलकमानको सारङ्गीमा धुलो जमेको होला । तारहरु असरल्ल छिनेको अवस्थामा होलान । कस्ले स्याहार सम्भार गर्ने यस्को ? आजकल कला सुन्दैनन मान्छे । कला बुझ्दैनन मान्छे । आजकल मान्छेको भिडले तरुनीको तिघ्रा हेर्छ । देखाउनेको पनि कमि छैन हेर्नेको पनि कमि छैन । दुवै दोषी छन । न स्त्री मात्रै दोषी न पुरुष मात्रै दोषी । अहिलेका बाबाहरुलाइ छोरी जोगाउनु गार्हो छ। आमाहरुले खोइ छोरा होइन खोइ छोरी भनेर पुकारी रहेका छन । समयले यसरी झुक्याएर हामीलाई यति पर ल्याइसकेको छ कि हामी पुरै डिजिटल भयौ। जे भयौ र जे भए पनि आखिर धुन निकाल्न त सारङी नरेटि सुखै रहेनछ । रेटु कर्मरुपी सारङ्गी र समयको प्रवाहमा बगु गतिशील त हुनुनै छ नत्र लेउ लाग्छ जिन्दगीको डुङ्गामा !

laxmanrajsitaula@gmail.com


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti