13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रु खाना नदिने नीति ?




पत्रु खाना नदिने नीति ?

-डा.अरुणा उप्रेती-

केही हप्तापहिले सरकारले १ देखि ५ कक्षासम्मका बालबालिकालाई दिइने दिवा खाजामा पत्रु खाना नदिने राम्रो निर्णय गरेको छ । यसको साथै ६ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि पनि स्कुलका क्यान्टिनमा पत्रु खाना बेच्न नपाउने नियम ल्याउन जरुरी छ ।

यसो गर्दा बालबालिका तथा किशोर–कोशोरीले स्वस्थ खाना खान पाउँछन् । यो अभ्यासले भविष्यमा उनीहरु र उनीहरुका सन्ततीलाई पनि स्वस्थ खाना खाने बानी पार्छ । तर यो नीति कतिसम्म सफल हुन्छ भन्ने कुरा शिक्षा र स्वास्थ्य मन्त्रालयले स्कुलमा कति अनुगमन गर्छ, त्यसमा भर पर्छ ।

स्वस्थकर खाना महँगो हुन्छ भन्ने कतिपयको बुझाइ हुन्छ तर हामीले दैनिक खाने दालभात, रोटी, ढिँडो, हरियो तरकारी, अचार, फलफूल आदि सबै पौष्टिक हुन्छन् । तर भोजन सही तरिकाले पकाएको र ताजा हुन जरुरी छ । खाना एकैचोटि धेरै पकाउने, बासी खाने चलनचाहिँ ठीक होइन ।

महिलाहरुमा रगतको कमी भयो भने गर्भवती अवस्थामा पनि रगतको कमी हुन्छ र भ्रूण सानो हुन जान्छ, जन्मिदा कम तौलको, कमजोर जन्मिने सम्भावना हुन्छ ।

May be an image of 1 person

फलामको भाँडामा पकाइएको खाना, कोदो, फापर, लट्टे, पालुङ्गो, दही आदि नियमित खाने हो भने यसले स्वस्थ हुन सहयोग गर्छ । स्थानीय रुपमा पाइने कर्कलो, सिस्नु, फर्सीको मुन्टाजस्ता सागपातको प्रयोग गर्दा रक्तअल्पताको समस्या हुँदैन । दक्षिण भारतमा महिनावारी शुरु भएकी किशोरीलाई मेथीको लड्डु बनाएर खुवाउने विशेष चलन छ । यो खाँदा रगतको कमी हुँदैन ।

यस्तै घरवरिपरि नै पाइने विभिन्न गेडागुडी, सागपात, फलफूल, माछामासु, अण्डा, दूध–दही, ठाउँअनुसार पाइने विभिन्न अन्नहरु जस्तो– मकै, गहुँ, कोदो, फापर, उवा, जौ, चना आदि गर्भवतीलाई पर्याप्त मात्रामा खुवाउन सके आमा र शिशु दुवैलाई रगतको कमी नहुने मात्र होइन कि अन्य भिटामिन र सूक्ष्म पोषक तत्वहरुको पनि कमी हुँदैन । तर यस्तो खाना पनि कोचेर खुवाउनुचाहिँ हुँदैन ।

परम्परागत नेपाली खाना स्वस्थकर छ । यसमा भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन, सूक्ष्म पोषण तत्व पर्याप्त छ ।

खाना पकाउँदा लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनियाँ, जीरा, मरिच, दालचिनी, टिम्बुर, जिम्बु, कागती आदि औषधीय गुण भएका वस्तुको प्रयोग गरिन्छ । स्वाद र स्वस्थता दुवै पाउनु नेपाली परम्परागत खानाका विशेषता हुन् । यसरी पकाएको भोजनमा रोगसँग लड्ने शक्ति छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ ।

चामल, दाल गहुँ, कोदो फापर, जुनेलो, उवा, तरुल, चुकन्दर, सखरखण्ड, कर्कलो, सिस्नुजस्ता खाद्यवस्तु पौष्टिकताले भरिपूर्ण छन् । चेपाङहरुले खाने गिठ्ठा, भ्याकुर आदि पनि ऊर्जाका स्रोत हुन् । यिनमा रेसादार पदार्थका साथै सूक्ष्म पोषक तत्वहरु पनि हुन्छ ।

यसको साथै हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरु पनि पौष्टिक भोजनसँग जोडिएका छन् । वैशाखको अक्षय तृतियामा खाइने जौको सातु र सर्वत गर्मीमा लाभदायक छ । असार १५, साउने सङ्क्रान्ति, साउन १५, जनै पूर्णिमा, ठूलो एकादशी, दशैँ, तिहार, छठ, लोसार, माघे सङ्क्रान्ति आदि चाडपर्वमा खाने भोजन समयअनुसार आवश्यक पर्ने पौष्टिक खानासँग सम्बन्धित छन् ।

यस्तै विभिन्न जातजाति तथा समुदायले चाडपर्वहरुमा खाने खानाहरु पनि पौष्टिकताले भरिपूर्ण छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने खानाहरु र तिनमा पाइने पौष्टिक तत्वका बारेमा कृषि मन्त्रालयले सूची प्रकाशित गरेको छ । तर यो जानकारी समुदाय र आममानिससमक्ष पु¥याउन सकेको छैन ।

पहिले कर्णालीको गेडागुडी, फापर, जौ, कोदो अपहेलित थियो भने अहिले धेरै माग छ । अहिले त कर्णालीको ‘मार्सी चामल’ पनि काठमाडौंको बजारमा पाइन्छ । आमसञ्चारमा भएको प्रचारकै कारण यसो भएको हो । त्यसैले कृषि मन्त्रालयले तयार गरेका जानकारी आममानिसमा पुर्‍याउन जरुरी छ ।

कोदो, फापर मधुमेहका लागि स्वस्थकर हुन्छ भन्ने प्रमाणित भएपछि अहिले यी खाद्यवस्तु पाँचतारे होटल, ठूला मलहरुमा पनि पाइन थालेको छ । आममानिसले अहिले कोदोको मम, रोटी, पिज्जा, चाउमिन खोजेर खान थालेका छन् ।

हाम्रो परम्परागत ज्ञान बीचमा हराएको थियो । अहिले वैज्ञानिक अध्ययनले सिद्ध गरेपछि तिनको पुनः खोजी हुन थालेको हो । म त कोदो, फापर, सुप हरेक हप्तामा दुई–तीनचोटि खान्छु । कोरोना महामारीको समयमा धेरै नेपालीले बेसार, मरिच, दालचिनी आदि मसलाको बारेमा धेरै चासो दिए र प्रयोग गरे, जुन हाम्रो परम्परागत भान्सामा प्रयोग हुँदै आएको छ ।



Related News


यसमा तपाइको मत


Comments