09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, २३ वैशाख । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा उनको निधन भएको हो। गायक प्रधानको छातिमा सामान्य समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो। सामान्य ज्वरो र छातिमा समस्या देखिएपछि कोरोना आशंका गरिएको भए पनि उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘‘पर लैजाउ फूलहरु’, लगायतका गीत चर्चित छन्।
८३ वर्षीय प्रधानको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको थियो। प्रधान आमा प्राणदेवी प्रधानको प्रेरणामा संगीतमा लागेको बताउथे।
नेपाली गीत शक्तिका शिखर व्यक्तित्व प्रधानले विभिन्न राष्ट्रिय सम्मान पाएका थिए। २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रोसँगै गायक प्रधानले छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कार पाएका थिए।