12 Baishak, 2081 / 24 April , 2024
-रुपा थापा-
शरद आउँछ र
शरदसँगै जब उदाउँछ आशाको जुन
मालश्रीको धुन बनेर
धानको बालासँगै
जब मनका फाटभरी झुलिदिन्छन्
केहि थान जीन्दगीको मुस्कान
जीन्दगीको एउटा टेवलमा
म सँधैझैँ फिटिरहेछु
तासका ती पत्ताहरुसँगै
हरेक वर्ष मेटिदै गएका
आफ्नै हत्केलाका रेखाहरुलाई
वर पिपलका पातहरु
केहि थान यादलाई बोेकेर
कसैको प्रतिक्षामा फेरि पनि
त्यसै गरि सुस्ताउँछन्
यादहरुका बगैँचा बनेर
मुस्कुराइरहेका सयपत्रीसँगै
स्याना स्याना हातहरुबाट
त्यसै गरि छुटिरहेछन्
यादका ती लट्टाईसँगै
जीन्दगीको धागोमा बेरिएका चङ्गाहरु
एक थान खुसिहरु फुलाउन
परदेशिएका मुटुहरु
अस्ताउदै गरेको जुनसँग
हरेक वर्ष त्यसरी नै फर्कने वाचा गर्छन
आशिर्वादका जमराहरु सिउरिन
जीन्दगीका रोटे पिङले घुमाएर
जसरी परिक्षा लिदैछ जीन्दगीको
लाग्छ यो विशाल क्षितिजमा फिजिएको छ
लङ्गुर बुर्जाको खाल र
पल्टिन बाकि छ अझै पनि जीन्दगीको दाउ
दशैँ आउँछ र दशैसँगै
यादहरु बनेर जब टलक्क टल्किन्छ
जीन्दगीको ऐनामा
केहि थान तस्विर
प्रत्येक दशैँसँगै
म यसरी नै केहि थान
आशिर्वादका हातसँगै
जीन्दगीको जमरालाइ सेलाउदैछु
या भनौ प्रत्येक वर्ष यसरी नै शरदसँगै
जीन्दगीको टाकुराबाट चिह्याइरहेछु
भरिन नसकेका खुसीका ती घडाहरु
एकदिन फेरि भरिने आशामा