13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनाइयो कुकुर तिहार(फोटोफिचर)




मनाइयो कुकुर तिहार(फोटोफिचर)

काठमाडौं, १७ कात्तिक । यमपञ्चकको दोस्रो दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतम बताउँछन् । 


घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
यसैबीच यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बुधबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।


कार्यक्रममा उक्त महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् । उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई पुरस्कार प्रदान गरिन् । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत उनले पुरस्कार प्रदान गरिन् ।
कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए । 

तस्बिरः नेपाल प्रहरी


 




यसमा तपाइको मत


Comments