16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सञ्चय कोषले राख्यो सीटीसी मल लिलामीमा




सञ्चय कोषले राख्यो सीटीसी मल लिलामीमा

काठमाडौं, २६ वैशाख ।  कर्मचारी सञ्चय कोषले ऋण नतिरेपछि सुन्धाराको सीटीसी मलका १३२ वटा पसल कवलहरु लिलाम गर्ने भएको छ।  कोषले काठमाण्डौको सुन्धारास्थित कित्ता नम्बर २४२४ को कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको सिभिल स्टेट्सको नाममा रहेको पसल कवलहरु लिलाम गर्नका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो। 

घरजग्गा व्यवसायी एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङले सिभिल स्टेट्सको नामबाट लिएको ऋणको साँवा र ब्याज नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो। हाल ठगी आरोपमा हिरासतमा रहेका तामाङको उक्त मलमा ५० प्रतिशत सेयर रहेको छ।

कोषले यसअघि पनि सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज, ब्याजमा लाग्ने जरिवाना र अन्य जरिवाना चुक्ता गर्नका लागि आग्रह गरेको थियो। उक्त सूचनामा तोकिएको मितिभित्र रकम चुक्ता नगरेमा धितो लिलाम गरेर रकम असुल गरिने स्पष्ट पारेको थियो।

सिभिल स्टेट्सका सञ्चालकमा तामाङसहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया छन्। ऋण लिँदा जमानीका रुपमा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमन नन्दन वैध छन्।

कोषको कार्यालय पुल्चोकबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ। बोलपत्र पेस गर्दा कुल रकमको १० प्रतिशत रकम धरौटीबापत जम्मा गर्नुपर्नेछ। 

बोलपत्र स्वीकृत भएको ३० दिनभित्र सम्पूर्ण रकम तिर्नुपर्ने अन्यथा र नतिरेको खण्डमा धरौटी जफत हुने कोषले स्पष्ट पारेको छ। 

 




यसमा तपाइको मत


Comments