06 Baishak, 2081 / 18 April , 2024
काठमाडौं, २७ वैशाख । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालय प्रमुख रमेश अर्यालका अनुसार आगामी जेठ ६ गते देखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको छ ।
कार्यालयले २०७८ माघ २ गते देखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गते देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भिड हटेको छ ।
हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाईनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्ण रुपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।
वैधानिकीकरण मार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने कामदार सरह श्रम स्वीकृति दिने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएकोले अब वैधानिकीकरणमार्फत् श्रम स्वीकृति नहुने तर सो प्रकृतिका काम नयाँ व्यक्तिगत श्रम स्वीकृतिबाट हुने कार्यालयले जनाएको छ ।