15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सत्ता गठबन्धनलाई हराउँदै लमजुङ बेसीशहर नगरपालिकाको मेयरमा पुनः गुमानसिंह अर्याल विजयी




सत्ता गठबन्धनलाई हराउँदै लमजुङ बेसीशहर नगरपालिकाको मेयरमा पुनः गुमानसिंह  अर्याल विजयी

काठमाडौं, ३ जेठ  । लमजुङ बेसीशहर नगरपालिकाको मेयरमा पुनः एमालेबाट उम्मेदवार गुमानसिंह अर्याल निर्वाचित भएका छन् । यसअघि ५  वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका अर्याल पुनः ५ वर्षका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । यस्तै उपप्रमुखमा पद्मा गुरुङ निर्वाचित भएकी छन् ।

दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् । गुमानसिंहले सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराए ।  अर्यालले ९ हजार ४ सय ७९ मत पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हरिजंग तामाङलाई ४ हजार १५ मतले हराएका पदमाले ८ हजार ७ सय १४ मत पाएका छिन् । श्रीकान्तले ७ हजार ४ सय ७१ मत पाएका छन् । हरिजंगले ४ हजार ६ सय ९९ मत पाएका छन् ।

गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा १ हजार ६ सय १५ मत पाएका छन् । प्रमुखमा राप्रपाका अजितबहादुर अधिकारीले १ सय ४६ मत पाएका छन् । मंगोल नेश्नल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ मत पाएकी छन् । जसपाका बलबहादुर रानाले ४३ मत पाएका छन् ।

उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १ सय ४८ मत र मंगोल नेश्नल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत पाएका छन् ।

बेसीशहर नगरपालिकामा ११ वटा वडा रहेकोमा एमालेबाट वडा नं. १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं. ७ मा ऋषि बस्नेत, वडा नं. ८ मा पवित्रा थापा राना, वडा नं. १० मा गंगाबहादुर थापा र वडा नं. ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं. ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापाले वडाध्यक्षमा जितेका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसतर्फ वडा नंं ४ मा गमबहादुर गुरुङ र वडा नं.९ मा खुसीजंग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट वडा नं.३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

को हुन् मेयरमा विजयी अर्याल ? 

२०३७ सालदेखि कानुन व्यवसायमा लागेका अर्याल २०४३ सालमा पहिलो पटक बेसीशहर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । पञ्चायती शासनविरुद्ध जनपक्षीय उम्मेदवार बन्दै अर्याल बेसीशहर गाविसको प्रधानपञ्च बनेका थिए ।

२०५४ सालमा नेकपा एमालेबाट उम्मेदवार बन्दै बेसीशहर गाविसको अध्यक्ष निर्वाचित भएका अर्याल २०७४ को स्थानीय निर्वाचनमा सोही नगरपालिकाको मेयरमा निर्वाचित भए । ७ हजार ६ सय २४ मत ल्याएर अर्यालले तत्कालिन कांग्रेस सभापति समेत रहेका भेषबहादुर पौडेललाई २९७ मत अन्तरले पराजित गरेका थिए ।

 उनले २०५४ मा भेषबहादुरका बुबा तिलकबहादुर पौडेललाई हराए भने २०७४ मा छोरा भेषबहादुरलाई । बाबुछोरालाई हराएर बेसीशहरको जनप्रतिधिमा ‘ह्याट्रिक’ गरेको भन्दै चर्चा कमाएका अर्याललाई यसपटक पनि एमालेले मेयरको टिकट दिएको छ । 

२०४३ सालमा पञ्चहरु स्व. रणबहादुर अधिकारी, पूर्वप्रधानपञ्चहरु गणेशबहादुर रावल, बमबहादुर अर्यालसहित केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेललगायतका ७ जना उम्मेदवारलाई हराउँदै अर्याल जनपक्षीय प्रधानपञ्च बनेका थिए ।  त्यतिबेला जिल्लामा तीनजना जनपक्षीय उम्मेदवारले मात्र चुनाव जितेका थिए । भोजेबाट प्रधानपञ्चमा रुकबहादुर गुरुङ, करापुबाट उपाध्यक्षमा कुलबहादुर गुरुङ र बेसीशहरबाट मोहन थापा विजयी भएका थिए ।

२०४७ मा पार्टीले बालकृष्ण बराललाई उम्मेदवार बनाएपछि बेसीशहरमा कांग्रेसले नेतृत्व लियो । २०४७ मा अर्यालका प्रतिद्वन्द्वी रणबहादुर अधिकारी गाविस अध्यक्षमा निर्वाचित भए । २०५४ को स्थानीय निर्वाचनमा बेसीशहरमा अर्यालको माग बढ्न थाल्यो । पार्टीले अध्यक्षमा अर्याल र उपाध्यक्षमा मोहन थापालाई नै टिकट दियो, दुवैजना भारी मतले विजयी बने । 

१९ वर्षसम्म स्थानीय निकायको निर्वाचन नहुँदा अर्यालले यसअघि भएका संविधानसभा निर्वाचनमा सभासद उम्मेदवारको दावी गरे । पार्टीले दुवैपटक केन्द्रीय नेता पृथ्वी सुब्बा गुरुङलाई नै टिकट दियो, अर्याल पछि परे । अघिल्लो पटक बेसीशहरको मेयरमा अर्यालको चर्चा चलेपनि मेयर बन्न ८ जना तम्सिए ।

तर, जनस्तरबाट जोडतोडले अर्यालको नाम आएपछि उम्मेदवारी दर्ता गर्ने दिन दिउसो ढिलागरि पार्टीले टिकट दिएको थियो । माओवादीसँगको गठबन्धनबाट निकै ठूलो प्रतिष्प्रधाबाट अर्याल मेयरमा निर्वाचित भए । 




यसमा तपाइको मत


Comments