13 Baishak, 2081 / 25 April , 2024
काठमाडौं, २० असार । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएलगत्तै नयाँ तीनजनाको नाम सिफारिस गरेको छ ।
भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले यसअघिका भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाएको हो ।
मन्त्रीमा सिफारिस भएका सांसद यादवले पार्टीले मन्त्री परिवर्तनका लागि सिफारिस गरेको जानकारी दिए । जसपाभित्र ६ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो । यसैबीच प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको हेरफेर गरेकी छन् ।