12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कारोना संक्रमण घट्दै, डेंगुको संक्रमण बढ्दै




कारोना संक्रमण घट्दै, डेंगुको संक्रमण बढ्दै

काठमाडौं, ३ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ८८ जनाको पिसिआर र एक हजार चार सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा एक सय ६५ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार पाँच सय ६० पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा साउनयता मात्रै  डेंगु संक्रमणबाट २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता मात्रै  डेंगु संक्रमणबाट देशभर २० जनाको मृत्यु भएको हो।

देशभर डेंगु संक्रमितको संख्या १६ हजार पाँच सय ८७ पुगेको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ। हालसम्म ललितपुरमा संक्रमितको संख्या चार हजार ६ सय सात पुगेको छ।  

बागमती प्रदेशमा १२ हजार चार सय एक, लुम्बिनीमा दुई हजार चार सय २२, प्रदेश १ मा पाँच सय चार, मधेस प्रदेशमा दुई सय ८२, गण्डकीमा तीन सय २२, सुदूरपश्चिममा चार सय ९३ र कर्णालीमा दुई सय तीनजनामा डेंगु संक्रमण भएको छ। 

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातवटै प्रदेशमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ४० रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार छ सय ७८, संस्थागत आइसोलेशनमा ६२ र आइसियुमा २० सङ्क्रमित रहेका छन् ।     
     
 हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा छ सय ६८, ललितपुरमा दुई सय ७२ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।     
–––   
 




यसमा तपाइको मत


Comments