16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो




चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

काठमाडौं, २० कात्तिक । कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२÷११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए ।
उक्त स्थानमा खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए । मन्त्रिपरिषद्को १७ माघ २०७८को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।
 
प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माण पूर्वका प्रारम्भिक कार्यहरु सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उप–प्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ । कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था र भद्रभलादमीहरुसँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने छ ।  चोभारस्थित शुख्खा बन्दरगाहको प्रवेशद्धारबाट सुरु भएको करिब २ किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकोले स्थानीयको माग बमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन  गरिदिने सहमति भएको छ ।  

प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउने छ । विद्युत आपूर्तिको अत्यावश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ ।  




यसमा तपाइको मत


Comments