11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ मा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण




नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ मा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण

काठमाडौं, २ माघ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ । आइतबार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरिएको जनाएको छ ।
प्राधिकरणले वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने दैनिक निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने ’सेड्युल इन्सपेक्सन’ जस्ता मर्मत सम्भारका कार्यहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको पनि बताएको छ ।

यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर–४२ र एटीआर–७२ वायुयानहरूको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको पनि प्राधिकरणले जनाएको छ। परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

त्यस्तै प्राधिकरणले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । दुर्घटनाका सम्बन्धमा प्राधिकरण केही उच्चपदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिबाट भएको टिकाटिप्पणी तथा अभिव्यक्तिका कारण सर्वसाधारणमा भ्रम फैलिएको प्राधिकरणले जनाएको छ ।

प्रवक्ता जगन्नाथ निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ’दुर्घटनाका सम्बन्धमा प्राधिकरणका केही उच्च पदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिहरूबाट विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलगायतका सञ्चारमाध्यममा दिइएका धारणा, टिकाटिप्पणी तथा अभिव्यक्तिहरुका कारण सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।’

दुर्घटना, खोज तथा उद्धारका सम्बन्धमा सर्वसाधारणको जानकारीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय समेत) मार्फत प्राप्त हुने सूचना तथा जानकारीलाई मात्र आधिकारिक मान्न पनि प्राधिकरणले आग्रह गरेको छ ।



Related News


यसमा तपाइको मत


Comments