04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पोर्चुगलमा ५५०० जना नेपाली राहदानीको पर्खाइमा, बेवास्ता गर्दै राजदूतावास 




पोर्चुगलमा ५५०० जना नेपाली राहदानीको पर्खाइमा, बेवास्ता गर्दै राजदूतावास 

सिएल शर्मा
लिस्वन । पोर्चुगलमा ५५०० जना नेपाली नयाँ राहदानी तथा नविकरणको  पर्खाइमा छन् । सरकारले यन्त्रबाचक राहदानी (एमआरपी’ लाई स्थगन गरी विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्न सुरु गरेपछि पोर्चुगलमा यतिका नेपाली समस्यामा परेका हुन् । हाल पोर्चुगलमा ३० हजार बढि नेपाली बसोबास गर्ने अनुमान गरिएको छ ।

सरकारले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि यन्त्रबाचक राहदानी पूर्ण रुपमा बन्द भएको छ । जसले गर्दा विदेशमा बस्ने नेपाली मारमा परेका छन् । युरोपियन मुलुक पोर्चुगलमा मात्रै तत्काल पाँच हजार ५ सय राहदानी जारी गर्नुपर्नेछ । जहाँ एक हजार भन्दा बढि हराएको, एक हजार ५ सय बढि म्याद नाघेको र तीन हजार बढि केही महिनामात्रै म्याद भएका राहदानी नविकरण तथा नयाँ जारी गर्नुपर्नेछ । अहिले सबैभन्दा धेरै मार राहदानी हराएका नेपालीलाई परेको छ । एकातिर कागजी कामकाजमा समस्या पैदा भएको छ भने अर्कोतिर आवतजावतमा समस्या भएको छ । पछिल्ला केही महिनायता विभिन्न मुलुकबाट पोर्चुगल आउने अधिकांश नेपालीसँग राहदानी छैन् । उनिहरुले यात्राका क्रममा बिचौलियालाई राहदानी बुझाउने, फ्याँकेर आउने कारणले गर्दा पोर्चुगलमा थप समस्या निम्तिएको हो । 

अहिले राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा सयौंको संख्यामा नेपालीहरुको भीड लाग्ने गरेको छ । उनिहरुले तत्काल राहदानी पाउनुपर्ने भन्दै कार्यालयलाई आग्रह समेत गर्दै आएका छन् । तर यसप्रति फ्रान्सस्थित नेपाली राजदूतावास भने बेखबर छ । अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमाल र कार्यरत कर्मचारीहरुले रादूतावासलाई राहदानीको समस्याबारे जानकारी गराइरहेपनि राजदूतावासले भने बेवास्ता गर्दै आएको छ । ‘व्यक्तिगत रुपमा र कन्सुलेटको कार्यालयको तर्फबाट महामहिम राजदूत ज्यूलाई बारम्बार कुरा गरेको छु । समस्यामा परेका नेपालीलाई सहयोग गर्न दूतावास र कन्सुलेटले सहयोग गर्नुपर्ने विषयमा पनि घनिभूत रुपमा छलफल भएको छ । यसमा उहाँ सहमत पनि हुनुहुन्छ ।’ उनले भने, ‘अहिले पहिलो चरणमा हराएका तथा म्याद नाघेका रहादानी र दोस्रो चरणमा म्याद सकिन लागेका राहदानी नविकरण गर्न आवश्यक छ । सहयोग र सहजीकरणका लागि कन्सुलेटको कार्यालय सदैव तयार छ ।’

त्यसो त पोर्चुगल हेर्ने जिम्मा पनि फ्रान्सस्थित नेपाली राजदूतावासलाई नै छ । तर राजदूत दीपक अधिकारी विगत एक बर्षयता एक पटक पनि पोर्चुगल आएका छैनन् । उनि उल्टै राजदूतावासमा थोरै कर्मचारी भएको भन्दै उम्किँदै आएका छन् । यसले गर्दा पोर्चुगलमा थप समस्या पैदा भएको छ । 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष रविन अधिकारीले रादूतावसले खासै चासो नदिएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् । उनले पोर्चुगलका धेरै नेपालीहरु राहदानी नभएकै कारण समस्यामा पर्दा राजदूतावासले कानमा तेल हालेर बस्नु राम्रो नभएको गुनासो गरे । 

संघकै युरोप क्षेत्रका उपसंयोजक समेत रहेका राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका निवर्तमान अध्यक्ष तिलक गैरेले राहदानी नविकरण तथा हराएका राहदानी बनाउनुपर्ने दायित्वबाट राजदूतावास पछि हट्न नहुने बताए । उनले समस्यामा परेका नेपालीलाई राजदूत र दूतावासले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै राजदूतावासले राहदानीजस्तो संवेदनशिल विषयमा ढिलासुस्ती र गैरजिम्मेवारीपन देखाएको भन्दै नेपाली समाजका अगुवाहरुले पनि बिरोध गरेका छन् । 

एकपटक ‘एमाआरपी’ जारी गर्दा समस्याको समाधान हुन्छ

तथ्याँकलाई आधार मान्दा पोर्चुगलमा हराएका र तत्काल नविकरण गर्नुपर्ने राहदानीको संख्या दुई हजार ५ सयको हाराहारीमा छ । यही अवस्थामा विद्युतीय राहदानी जारी गर्न फ्रान्सस्थित राजदूतावासलाई कम्तिमा १५ दिन लाग्छ । जबकी राजदूतावासमा भएको ‘मोबइल किट’ बाट दैनिक ५० देखि ६० वटामात्रै राहदानी जारी गर्न सकिन्छ । यही अनुपातमा काम गर्ने हो भने ५५०० थान राहदानी जारी गर्न एक महिना बढि समय खर्चनुपर्नेछ । यसैले पनि एकपटकको लागि सरकारले पोर्चुगलमा ‘एमआरपी’ जारी गर्दा छिटो र छरितो हुने देखिन्छ । यसो गर्दा समस्यामा परेका नेपालीलाई ठूलो राहत मिल्नेछ भने अर्कोतिर दूतावासलाई पनि सहज हुनेछ ।

सम्बन्धविच्छेद र अधिकृत वारेशनामाको समस्या पनि उस्तै
पोर्चुगलमा विगत एक बर्षयता राजदूतावासबाट कर्मचारी फर्केर पनि आएका छैनन् । यो बिचमा न राजदूत आए न अन्य कर्मचारी नै । जसले गर्दा पोर्चुगलमा सम्बन्धविच्छेद र अधिकृत वारेशनामा जस्ता समस्याको चाङ लागेको छ । अहिले पोर्चुगलमा सम्बन्धविच्छेद र अधिकृत वारेशनामाको तथ्यांक ५० माथि छ । दूतावासले यस्ता साना कामहरुलाई प्रत्येक ३÷३ महिनामा फस्र्योट गर्न सक्ने भएपनि त्यसो भने हुन नसकेको केही अगुवाहरुको गुनासो छ । समस्याका बारेमा कन्सुलेटको कार्यालयले दूतावासलाई जानकारी गराउँदै आएपनि आजसम्म समाधान भने हुन सकेको छैन् । 
त्यसो त कन्सुलेटको कार्यालयलाई सम्बन्धविच्छेद र अधिकृत वारेशनामाको समस्या समाधान गर्ने अधिकार छैन् । जसका कारण दैनिकजसो समस्या थपिएका छन् तर सम्बोधन गर्न दूतावासले चासो देखाएको छैन् । 

कन्सुलेटको कार्यालयलाई अधिकार थोरै, समस्या बढ्दै
पोर्चुगलस्थित कन्सुलेटको कार्यालयले हाल कागजात प्रमाणिकरण, विदेशी राहादानीमा भिसा, सामान्य मन्जुरीनामा लगायतका काम मात्रै गर्दै आएको छ । तर पोर्चुगलमा पछिल्ला दिनहरुमा बढ्दै गएको जनसंख्याले थप सोच्न बाध्य बनाएको् छ । राहदानी नविकरणदेखि सम्बन्धविच्छेद, अधिकृत वारेशनामा, यात्रा अनुमति पत्र लगायतका थुप्रै सेवाहरु नागरिकलाई आवश्यक भएपनि सरकारले कन्सुलेटको कार्यालयलाई संकुचनमा राखेको छ । जसका कारण कन्सुलेटको कार्यालयले चाहेर पनि थप सेवाहरु प्रदान गर्न सकेको छैन् । राजदूतावास नभएको पोर्चुगलमा सरकारले कन्सुलेटको कार्यालयलाई थप जिम्मेवारी दिएर नेपालीको कामकाजमा सहजता ल्यानुपर्नेमा एकाथरीको जोड छ । 
 



Related News


यसमा तपाइको मत


Comments