15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दोस्रो चरणको पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्याङ्कको निर्माण शुरु




दोस्रो चरणको पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्याङ्कको निर्माण शुरु

काठमाडौं, १३ माघ । नेपाल आयल निगमले आगामी अङ्ग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु गरेको छ ।
निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्याङ्कको गत मङ्सिर २९ गते शिलान्यास गरी निर्माणकार्य सुरु भएको हो । निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ ।
मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्याङ्की नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।
अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्याङ्कहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको सुरुवात गरिएको बताए । 
उनले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको जानकारी दिए । प्रमुख यादवले दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आईओसीले एक÷एक वटा ट्याङ्कको लागत व्यहोर्ने जानकारी दिए । 
प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय पक्षले निर्माण गरिदिने बताए । निगमले करिब ७५ करोड भारतीय रुपियाँ खर्च गर्ने अनुमान गरिएको उनको भनाइ छ ।

उनले भने, ‘मोतिहारी अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन हो । यसबाट पेट्रोल, डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ । पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याप बनाउन सकिएको थिएन । त्यसैले पाइपलाइनबाट डिजेल मात्रै आयात गरियो । पाइपलाइनबाट डिजेल तीन वर्ष आयात गरियो । पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध भएन । २४ घण्टा समेत सञ्चालनमा आयो । पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्नीकल लागतलाई शून्यमा झा¥यो । डिजेल आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्च वार्षिक रुपमा करिव दुई अर्ब रुपियाँ बचत भयो ।’

प्रमुख यादवले निगमले एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताए । त्यस्तै, निगमको एक अर्ब ५४ करोड भारतीय रुपियाँ बराबरको खर्च हुने अनुमान गरिएको छ ।
यसैगरी, भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्निकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपियाँ बचत हुने भनाइ उनको छ । अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्निकल खर्चमा वार्षिक करिब दुई अर्ब रुपियाँ बचत भएको छ ।

प्रमुख यादवले दोस्रो चरणको भर्टिकल ट्याङ्कहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अङ्ग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताए । 




यसमा तपाइको मत


Comments