07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टुँडिखेलमा घोडेजात्रा(तस्बिरहरु)




टुँडिखेलमा घोडेजात्रा(तस्बिरहरु)

काठमाडौं, ७ चैत । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ ।   त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरे । 
शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय हुनुभयो भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरे । 
यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभयो भने नेपाली सेनाको टुकडीले उहाँलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो । समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो ।     
     
घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाउने गरिँदै आएको छ । कार्यक्रममा घोडेजात्राको इतिहास गुरुमापाको कथा नामक गीती नाटक प्रस्तुत गरियो ।  यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ । चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडाँैको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच सेना र प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो ।     
     
घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ । वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।  सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठूला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग  हुँदै आएको छ ।  

 

 

 

 

  
     




यसमा तपाइको मत


Comments