27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, १० जेठ । श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुुपर्ने व्यवस्था नै खारेज गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई गन्तव्य मुलुकको नीति–नियम, संस्कृति, भाषालगायतका विषयमा जानकारी दिन पूर्वप्रस्थान अभिमुखीकरण तालिमको व्यवस्था गरेको हो ।
यस्तो तालिमको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै कामदारले अन्तिम श्रम स्वीकृति पाउँछन् । तर, तालिम नै नलिएका कामदारलाई तालिमप्रदायक संस्थाहरूले कानुनविपरीत प्रमाणपत्र बिक्री गरेको पाएपछि मन्त्रालयले यस विषयमा छलफल शुरु गरेको हो । मन्त्रालयले यस विषयमा विभाग र बोर्डसँग सुझाव मागेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई अनलाइन वा स्थानीय पालिकाबाट दिने व्यवस्था गर्ने विषयमा मन्त्रालयले छलफल चलाएको छ । वैदेशिक रोजगार बोर्ड र विभागले अनलाइन वा स्थानीय पालिकाबाट दिँदा अभिमुखीकरण तालिम व्यावहारिक हुने राय दिएको बोर्डका कार्यकारी निर्देशक डा. उप्रेतीले बताए ।