27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, ११ जेठ । बागमती प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन गरेको छ। सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएकाे छ ।
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि भाडा घटाउने निर्णय गरेको हो।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ।
उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्ने छ। यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ।