27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, १२ जेठ । मेनपावर कम्पनीहरुले ल्याउने वैदेशिक रोजगारीका मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण नेपालबाटै प्रमाणित गर्न सकिने व्यवस्था गर्न लागिएको छ ।
अहिले सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने यस्तो प्रमाणीकरण अब देशभित्रै पनि गर्न सकिने व्यवस्था गर्न लागेको हो । वैदेशिक रोजगार ऐनलाई संशोधन गर्न मन्त्रालयले तयार गरेको प्रारम्भिक मस्यौदामा मागपत्रको प्रमाणीकरण विदेशस्थित नेपाली नियोगले मात्रै गर्ने प्रावधानलाई संशोधन गर्दै वैदेशिक रोजगार विभागका उच्च अधिकारी सम्मेलित समितिमार्फत पनि गर्न सकिने गरी प्रस्ताव गरिएको छ । यसअनुसार मागपत्र प्रमाणीकरणमा अब दुवै विकल्पहरु खुला रहनेछन् ।
दूतावासमा आधिकारिक जाँचबुझपछि मागपत्र प्रमाणित गरेर नेपालमा पठाउने र त्यसकै आधारमा वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएर विज्ञापन गर्न पाइने अवस्था छ ।
तत्कालीन श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मागपत्र प्रमाणीकरणको अधिकार दूतावासलाई मात्र दिने गरी पेश गरेको वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका–२०७५ मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । त्यसअघि मागपत्र प्रमाणीकरण कामदारको आउने देशका चेम्बर अफ कमर्स र नोटरी पब्लिकबाट हुँदै आएको थियो ।
प्रमाणीकरण गराउन अतिरिक्त खर्च समेत गर्नुपरेको व्यवसायीको गुनासोका आधारमा श्रम मन्त्रालयले नेपालबाटै मागपत्र प्रमाणीकरण गराउन सक्ने गरी कानुन संशोधन गर्न खोजेको हो ।