09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, १९ जेठ । भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको हो ।
जिपका ड्राइभर कृष्ण चौधरी झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।
सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर चौधरीसहित ४ जना जिपमा सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको गाडीमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय केसी‚ पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक पौडेल सवार थिए ।
नदीमा बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ । २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्र प्रहरी बलले काठमाडौंबाट गोताखोरको टोली पठाएको छ।
सशस्त्रले काठमाडौंको सिनामंगलस्थित नम्बर २० विपत् उद्धार गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) कमाण्डमा ७ जनाको गोताखोर टोली पठाएको हो।