12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च 

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च 


काठमाडौं, २४ कात्तिक । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको हो। यसअघि कोभिड कालिन समयमा यस्तै सञ्चितिमा रेकर्ड बनेको थियो। 

२०७८ मंसिरमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब रूपैयाँ पुगेको थियो। डलरको आधारमा भने यस्तो सञ्चिति २०७७ चैत यताको उच्च हो। डलरमा यस्तो सञ्चिति हाल १२ अर्ब ३३ करोड डलर रहेको छ। २०७७ चैतमा १२ अर्ब ३६ करोड थियो। अहिले नेपाली मुद्राको तुलनामा डलरको भाउ उच्च रहेकोले पनि रूपैयाँको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च पुग्न सहयोग पुगेको हो। 

हाल भइरहेको वस्तु तथा सेवा आयात अनुसार यस्तो सञ्चितिले मुलुकको १० महिना ९ दिन आयात धान्छ। रेमिटेन्समा वृद्धि हुँदा, पर्यटक आगमनमा भइरहेको वृद्धि र आयातको वृद्धिदर खुम्चिएकोले पनि विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको हो।
 


३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो


काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० प्रतिशतले धेरै हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो ।

यस अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वढेर ४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।


 


एमडीएमएस प्रणाली लागु,अवैध मोबाइल नचल्ने

एमडीएमएस प्रणाली लागु,अवैध मोबाइल नचल्ने


काठमाडौं, २० कात्तिक । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उनले भने । उनका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् ।


प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।

प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने जनाएको छ । प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् ।

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।


तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुनेछ ।

यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । 
१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक

तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक


काठमाडौं, १५ कात्तिक । सरकारले तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ। यसवर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएकाले भारतीय माला आयातमा रोक लगाएको बागमती प्रदेश पुष्प विकास केन्द्रले जनाएको छ।
केन्द्रले कात्तिक १ गतेदेखि नै आयातमा रोक लगाइएको जनाएको छ। नेपालमा तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गर्दछ। हिउँदको समयमा मौसमको प्रतिकूलताको कारण उत्पादनमा कमी हुने भएका कारण स्वदेशी उत्पादनले माग पूरा नहुने भएकाले भारतीय सयपत्री मालाको आयात गर्नु परिरहेको थियो।


घट्यो डिजेल र मट्टीतेलको मूल्य

घट्यो डिजेल र मट्टीतेलको मूल्य


काठमाडौं, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।


भारतले प्याज निर्यातमा तोक्यो  न्यूनतम मूल्य 

भारतले प्याज निर्यातमा तोक्यो  न्यूनतम मूल्य 


काठमाडौं, १४ कात्तिक । भारतले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ।

स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो। यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ।
यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ।
भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ।
 


थाई एयरले पुनः थाल्यो काठमाडौं–ब्याङ्कक उडान  

थाई एयरले पुनः थाल्यो काठमाडौं–ब्याङ्कक उडान  


काठमाडौं, १३ कात्तिक । थाई एयरवेज इन्टरनेसनलले आइतबारदेखि काठमाडौं–ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड–१९ का कारण काठमाडौंको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आजदेखि उडान पुनःसुरु गरेको छ । यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौँ उडान कार्तिक १२ गते देखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो ।
थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो ।
 


कारबाहीमा ६ वाणिज्य बैंक 

कारबाहीमा ६ वाणिज्य बैंक 


काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकिङ नियम उल्लंघन गरेको भन्दै ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । लक्ष्मी सनराइज र हिमालय बैंकलाई जरिवाना गरेको राष्ट्र बैंकले नबिल, एनएमबी, एनआईसी एसिया र सिटिजन्स बैंकलाई सचेत गराएको छ ।

लक्ष्मी सनराइज बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै ७० लाख रुपैयाँ र हिमालयन बैंकले वैशाखमा कर्जा-निक्षेप अनुपात कायम नगरेको भन्दै १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जरिवाना गर्ने निर्णय राष्ट्र बैंकले गरेको हो ।

यस्तै एनएमबी बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी अन्य प्रयोजनमा प्रवाह गरेको भन्दै सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । उसलाई ब्याज अनुदानको सम्पूर्ण रकम ऋणीबाट फिर्ता गराई राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ ।

नबिल बैंकले एकीकृत निर्देशन उल्लंघन गरी ब्याजदर बढाएको र सिटिजन्स बैंकले कर्जा सापटको वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको हो । एनआईसी एशिया बैंकले ग्राहकसँग बढी लिएको ब्याज फिर्ता नगरेकाले फिर्ता गर्न निर्देशन दिँदै सचेत गराइएको छ ।
 


भारतले नेपालमाथिको चामल निर्यात प्रतिबन्ध हटायो 

भारतले नेपालमाथिको चामल निर्यात प्रतिबन्ध हटायो 


काठमाडौं, १ असोज । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ । नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

भारतले आन्तरिक उत्पादनमा ह्रास आएको भन्दै बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।