08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


नायिक श्वेता खड्का भन्छिन्, ‘म जीवनको नविन यात्रामा’

नायिक श्वेता खड्का भन्छिन्, ‘म जीवनको नविन यात्रामा’


 -श्वेता खड्का-

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । 'अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न' भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । "के म यसो गर्न सकुँला र ?" आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें " कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।" अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

'एक्लै जीवन काट्न सकिन्छ' भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । "अब उठ्नै सक्दिन कि " भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

"मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?" म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ "के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?"

मलाई थाहाछ 'श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ' भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरी/चेली

श्वेता खड्का

(नायिका खड्काको फेसबुक पेजबाट)


मिस नेपाल वल्र्डको उपाधि नम्रता श्रेष्ठलाई

मिस नेपाल वल्र्डको उपाधि नम्रता श्रेष्ठलाई


काठमाडौं, २० मंसिर ।  ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । २० जना प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले उपाधि जितेकी हुन् ।यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् । अन्तिम राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै नम्रताले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ’ भनेर सोधिएको थियो । त्यसको जवाफमा नम्रताले नेपाली महिला सकारात्मक सोचको हुने र त्यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।


 चौतारी ग्रुपको रोइला दोहोरी गीत ‘हेरी देउन मायाले’ सार्वजनिक

चौतारी ग्रुपको रोइला दोहोरी गीत ‘हेरी देउन मायाले’ सार्वजनिक


काठमाडौं, १० मंसिर । चौतारी ग्रुपले रोइला दोहोरी गीत ‘हेरी देउन मायाले’ बजारमा ल्याएको छ । गीतमा मनु सापकोटाको लय, शब्द रहेको छ । 
गायक किशन काले र गायिका तारा शाहीको स्वर रहेको गीतको म्युजिक भिडियो एस.थ्री. के.इन्टरटेन्मेन्ट युट्युवबाट सार्वजनिक गरिएको छ । गीतलाई अर्जुन थापाले निर्देशन गरेका छन् भने सुशील डाँगीले छायांकन तथा सम्पादन गरेका छन् । भिडियोमा प्रीतम थापा र मनु सापकोटाको अभिनय छ । यस गीतले मायाप्रितिका विषयलाई रोइला लयमा प्रस्तुत गरिएको छ । 


यसैबीच छोटो समयमै लोकप्रियता कमाएको चौतारी ग्रुपले एक महिनादेखि उपचार नपाएर थला परेका लमजुङ बेसीशहर नगरपालिका ११ का खड्कबहादुर मिजारलाई आर्थिक सहयोग गरेको छ । ग्रुपका हरि अधिकारीको नेतृत्वमा संकलन भएको रकम बुधबार खड्कबहादुर सार्की बचाउ अभियान चलाइ रहेका अन्सुल लोहनीलाई पठाइएको छ । उक्त रकम ग्रुपका सदस्यहरुसँग संकलन गरिएको थियो । विगत एक महिनादेखि थला परेका खड्कबहादुरको अहिले पोखराको हरियो खर्कमा उपचार भइरहेको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 


भान्सा कोठा र कविता

भान्सा कोठा र कविता


-रुपा थापा-

हैन किन तिमीहरुको कवितामा
भान्साको डाडु पन्युहरू कर्याङ कुरुङ गर्छन्
हैन तिमीहरुको कवितामा किन
कसौडिबाट छड्केको भातको बाफ आउँछ
हैन तिमीहरुको कवितामा
किन गुन्द्रुक उम्लिएको अमिलो बास्ना आउँछ

अरे यार युगौँ देखि थमाइदिएको
भान्साको त्यो डाडु पन्युमा हामिलाइ भुलाएर
चोक चोकमा राजनितिक परिवर्तनको कुरा गर्दै
चिया गफको लागि हामिलाइ अनुमति दिएका छौँ र
हाम्रा कवितामा राजनितिको गन्ध आउनु

अ म मेरो कवितामा
कागतिको अमिलो रस निचार्छु र सर्वत बनाउछु
त्यसैले कता कता मेरो कविता
तिमीलाइ अमिलो पनि लाग्न सक्छ

हैन तिमीहरुको कविता किन
तर्कारिका ति खारहरु जस्तै
भान्सा कोठा भित्र मात्रै किन रुमलि रहन्छ ह

अरे यार युगौ देखि हामीलाई
भान्सा कोठामा भुलाएर
तिमी तिम्रो कविताको बिम्व खोज्न
बिहानै त्यो शहरको एक फन्को मारेर फर्किसक्दा
मेरा कविता भने भान्साको
त्यहि तातो चियाको बाफसँगै उडिरहन्छ

तिमीले एक सर्केा चुरोटको धुवासँगै
एक कप तातो चियाको बाफसँगै
तिम्रा कविताका महान दर्शनहरु छाटिसक्दा
फर्किएर फेरि पनि भन्छौँ
तिमीहरुको कविता कविताको दर्शनवाट भड्किएर
किन प्रेसर कुकरको सिठ्ठिसँगै रुमलिरहन्छ

अरे यार तिमी तिम्रो कवितामा
समानताको बिल्ला हान्छौ र
चाहन्छौँ कि तिम्रो कविता तयार नहुन्जेल
तिमीलाई कुने पनि किसिमको अवरोध नहोस् 

फेरि पनि तिमी
मलाइ भने किन भनिरहन्छौ
तिमीहरुको कविताको भुगोल इतिहास अनि वर्तमान
किन त्यहि घरको भान्साबाट सुरु हुन्छ र
त्यहि घरको भान्सासँगै अन्त्य हुन्छ

हो म मेरो कवितामा
थोरै बेसारका पहेला रङहरु छर्छु र
त्यो कराइसँगै परिवर्तन हुने
तर्कारिका रङहरुसँगै मेरो कवितामा पनि
युगाैँदेखि परिवर्तन हुन नसकेका
परिवर्तनका रङहरु भने खोजिरहन्छु


र्‍याप ‘पारा’मा आपत्तिजनक शब्द समावेश भएको भन्दै भिटेनले मागे माफी

र्‍याप ‘पारा’मा आपत्तिजनक शब्द समावेश भएको भन्दै भिटेनले मागे माफी


काठमाडौं, १६ कात्तिक । र्‍यापर समीर घिसिङ (भिटेन)ले युट्युबबाट सार्वजनिक भएको र्‍याप ‘पारा’मा आपत्तिजनक शब्द समावेश भएको भन्दै माफी मागेका छन्। उनले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शब्द आपत्तिजनक परेमा माफी मागेका हुन् । उनले संशोधनसहित सोही गीतको नयाँ म्यूजिक भिडिओ सार्वजनिक गरिने पनि बताएका छन् । उनको विज्ञप्तिमा भनिएको छ, ‘पारा’मा समावेश शब्दले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिनेछ ।’
‘सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ,‘उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशोधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।’
उनको गीतमा केही अश्लील शब्द प्रयोग भएका थिए । प्रहरी प्रधान कार्यालयले छानबिनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। 


जीन्दगीको त्यो विश्रामस्थलमा‍‍...

जीन्दगीको त्यो विश्रामस्थलमा‍‍...


-रुपा थापा-

तिम्रो र मेरो जीन्दगीकाे
एउटा मिठ्ठो सम्बन्ध
जहाँबाट साथैमा सुरु भएको थियो
हाम्रो जीन्दगीकाे यात्रा

एक अर्का सँग भेटिदै छुटिदै
जीन्दगीकाे यात्राकाे त्येा उकालिमा
फेरि पनि भेट्नु नै थियो
हामीलाइ एक अर्कासँग

समयका तेज रफ्तारसँगै सवार भएको
त्यो रेलको यात्रामा
एउटै डव्वामासँगै बसेर पनि
हामि एक अर्कासँग त्यो यात्राभरि
केवल अपरिचित झैँ मुस्कुराइरह्यौ

जीन्दगीको यो राजमार्गमा
एउटै गन्तव्यमा पुग्न हिँडेका हाम्रा पाइलाहरु
फेरि पनि किन एक अर्कासँग अपरिचित नै बनिरहे

जीन्दगीको राजमार्गको त्यो विश्रामस्थलमा
बिहानीको चिसो सिरेटोसँगै
हातमा समाएका एक कप तातो चियाका बाफहरुले
साथैमा भएर पनि
किन तिमिलाइ कहिल्यै भेट्न सकेन

यात्रामा पटयार लाग्दा
हातमा समाएका ति कितावका पानाहरुले
किन तिम्रो आक्रृतिलाइ कहिले देखेन

एक अर्काको हात समाउँदै
यात्री बनेर एउटै गन्तव्यमा
साथैमा निस्केकाे तिमी र म
कसरी बर्षैा सम्म पनि
एक अर्कासँग अपरिचित नै बनिरह्यौ

म तिमि जस्तै थिए
तिमी म जस्तै थियौ
हामी एक अर्काको परिपुरक भएर पनि
कसरी एक अर्कासँग वर्षौसम्म
नभेटिकन बस्न सक्यौ

पाइलाहरु गोरेटोबाट हराउँछन्
तर साथैमा चालेका ति पाइलाहरुमा
जहा तिम्रा पाइलाहरु साथै भएर पनि
कसरी त्यो गोरेटोबाट हराइरहे

तिमी सत्य हौँ
म भ्रम पनि हुन सक्छु

हाे साथैमा सुरु भएको
तिम्रेा र मेराे जीन्दगीकाे एउटा सम्वन्ध
फेरि पनि साथैमा अन्त्य हुनेछ
तर हाम्रो भेट हुन भने
सुर्यको किरण नै छाउनु पर्ने रहेछ


सयपत्रिका केहि थुङ्गाहरु जब मुस्कुरायो...

सयपत्रिका केहि थुङ्गाहरु जब मुस्कुरायो...


-रुपा थापा-

सयपत्रिका केहि थुङ्गाहरु जब मुस्कुरायो

आमाले पनि मुस्कुराउँदै भनिन्

पख यो दसैमा मेरी छोरीलाई पनि परदेशबाट आउन दे

समयको त्यो झुलालाई सुम्सुम्याउँदै भनिन्

पख थोरै मलाइ पनि झुल्न दे

भरिदिएकी छु मैले मेरी छोरीको नामको

त्यो स्यानो खुत्रुकेलाइ औसि र पुर्णेमा

त्यो खुत्रुकेलाई सुम्सुम्याउँदै भनिन्

पख यो दसैँमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे

आफ्नै हत्केलाबाट छुटेका ति समयका पंखहरुलाई

पख केहि समय भए पनि मलाइ भेट्न दे

बारीको काक्रोलाइ जोगाएर

राखेकि छु बट्टामा खल्पीलाई

यो अमिलो खल्पीसंग टक्क जिब्रो फडकार्नलाई

पख यो दसैमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे

जिद्दि गर्थिन आमा सम्हालेर राखिदिनु ल

मेरो यो लट्टाइलाई

फेरि पनि त्यसै गरि

आँगनिको डिलबाट चङ्गाहरु उडाउनलाई

पख यो दसैँमा मेरी छोरीलाई पनि परदेशबाट आउन दे

खै के जादु छ आमा

तिम्रो हातको कवाफमा भन्दै चाख्नलाई

कसौँडीलाई सुम्सुम्याउदै भन्छिन्

पख यो दसैँमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे

न्यानो तिम्रो माया हो कि आमा

त्यो तिम्रो पछयौरी

त्यो निलो पछयौरिलाइ सुम्सुम्याउदै भन्छिन

पख यो दसैमा मेरी छोरीलाई पनि परदेशबाट आउन दे

जब जुनहरु उदायो त्यसैगरी आकाशमा

त्यो जुनलाइ हेर्दै भनिन्

ए जुन केहि छिन पर्खि है

मेरो हातको तातो चिया पिउँदै

यो दशैमा फेरि पनि त्यसै गरी

जुनलाइ हेर्दै टोलाउने त्यो केटिलाइ भेट्न

पख यो दसैमा मेरी छोरीलाइ पनि परदेशबाट आउन दे


जसरी म मुस्कुराइरहेकी छु यो मूर्तीमा... 

जसरी म मुस्कुराइरहेकी छु यो मूर्तीमा... 


-रुपा थापा-

तिमी मुस्कुराउनु पर्छ
जसरी मुस्कुराउँदै छन्
बिहानीमा झरेर पनि ति पारिजातको फूलहरु

तिमी नमुस्कुराएको घर
कहाँ घर हुन्छ र
त्यो त केवल मसानघाट हुन्छ
मसानघाटको अर्थ तिमिलाई थाहा छ नि
जहाँबाट जीन्दगी शुन्यतामा बिलिन हुन्छ

श्रृष्टिको फूल भित्र
एउटा लाली छर्न पनि त
तिमि मुस्कुराउँनै पर्छ

तिमी अन्धकारमा बस्नु भनेको
सिङ्गो श्रृष्टिनै अन्धकारमा डुब्नु हो
युगौँ देखि तिमीलाई अन्धकारमा राखेर
खै कुन उज्यालो खोज्दैछ यो समाज

म युगौँदेखि यो मुर्तिसँग यसै गरि मुस्कुराइरहेछु
तर युगौ देखि श्रृष्टि धान्ने
नारीहरुको आसुले भिजेको यो धर्तिमा
उन्मुक्त हासो हास्नु यदि अभिश्राप थियो भने
खै के सोच्यो होला त्यो मुर्तिकारले
जसले म हुनुको अर्थलाई बुझाउन
मुस्कुराइरहेको मेरो यो मुर्तिलाई कुद्यो

जुन घरमा प्रतिबन्धित हुन्छ
नारीहरुका सुन्दर मुस्कानहरु
त्यहा बिद्रोहको एउटा झिल्को बल्छ
जुन बिस्तारै बिस्तारै सल्किन्छ
त्यस पछि बाँकि रहेका खरानीका अस्तुहरु
एक तमासले उडिरहन्छ क्षितिजमा

नारीहरु मुस्कुराउन भनेको
सिङ्गो परिवार मुस्कुराउनु हो
परिवार मुस्कुराउनु भनेको समाज मुस्कुराउनु हो
जब समाज मुस्कुराउँछ
तब त सिङ्गो राष्ट्र मुस्कुराउँछ

मुस्कानका ओठहरुबाट मुस्कानहरु हराए भने
अध्यारा ति रातहरूसँगै
यदि मुस्कानहरु बिलिन भए भने
अङ्गारका ति राखहरुले
तिमीलाई जब जलाउनेछ
त्यतिखेर बस्तीबाट केहि गन्धहरु आउनेछन्
जुन बिद्रोहका बारूदका धुँवाहरू बनेर
जलाउनेछन् तीम्रा बस्तिहरूलाई 

ति अस्तित्वहरुको बिद्रोहहरुले
तिम्रा आँखामा खरानी बनेर बिझाउनु भन्दा अगाडी
देउ मुस्कुराउन ती नारीहरूलाई 
जसरी म मुस्कुराइरहेकी छु यो मूर्तीमा

(बढ्दै गएको महिला हिंसाको अन्त्यको कामना गर्दै नवरात्रीको चौथोदिन नारी प्रति समर्पित थापाको कविता हामीले फेसबुकबाट साभार गरेका हौँ।)


रजिना रिमालको नयाँ गीत ‘पानीको फोका–२’ तिमी आउन सक्छौँ’ सार्वजनिक

रजिना रिमालको नयाँ गीत ‘पानीको फोका–२’ तिमी आउन सक्छौँ’ सार्वजनिक


काठमाडौं । गायिका रजिना रिमालको नयाँ गीत ‘पानीको फोका २’ सार्वजनिक भएको छ । तिमी आउन सक्छौ बोलको गीतमा शब्द रचना डा.राजुबाबु श्रेष्ठको छ भने संगीत हरि लम्सालले गरेका छन् ।  
गीतको भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई अन स्क्रिन जोडीका रुपमा देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विष्णु खड्काले गरेका छन् । 

भिडियो निर्देशन पनि लक्ष्मी र जीवनले नै गरेका हुन् । गीत युट्युब च्यानल १२ नोट्समार्फत सार्वजनिक गरिएको हो । 
 


अभिनेता आयुष्मान ‘विश्‍वकै प्रभावशाली व्यक्ति

अभिनेता आयुष्मान ‘विश्‍वकै प्रभावशाली व्यक्ति


काठमाडौं, ७ असोज । बलिउड अभिनेताआयुष्मान खुराना विश्वकै सय सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।  टाइम म्यागजिनले निकालेको सूचीमा कलाकार विधाबाट सन् २०२० का विश्वकै प्रभावशाली सय व्यक्तिमा अभिनेता आयुष्मान परेका हुन् ।
उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना प्रशंसकसँग खुसी साटेका छन् । उनले टाइम्सको सूचीमा आफू पर्नुलाई गर्वको कुरा रहेको बताएका छन् । उनलाई अहिले बलिउडकर्मीहरुले बधाई दिइरहेका छन् ।
 
‘टाइम्सले जुन पहिचान मलाई दिलाएको छ, त्यसप्रति कृतज्ञ छु । एक कलाकारको रुपमा मैले फिल्मको माध्यमबाट केही सकारात्मक पतिवर्तन ल्याउने प्रयास गरेको छु । यो पल मेरो जीवनका लागि निकै महत्त्वपूर्ण छ,’ आयुष्मानले इन्स्टामा अगाडि लेखेका छन्, ‘मलाई लाग्छ कि सिनेमा त्यो तागत हो, जसले कुनै पनि मुद्धालाई उठाएर सही विषयमा बहस पैदा गर्न सक्दछ ।’ 


त्यस्तै टाइमको सूचीमा पर्ने अन्य कलाकारमा सांगीतिक समूह ‘द विकेन्ड’, सेलेना गोमेज, जोजो सिवा, बोङ जून होलगायत रहेका छन् ।

कोरोना भाइरसपछि विश्वभर चिनिएका अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीलाई टाइमले कोरोना नियन्त्रणका लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै एक सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको छ । 
नेतृत्व विधातर्फबाट अमेरिकी सिनेटर कमला ह्यारिस, ताइवानकी राष्ट्रपति साई इङ वेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेमोक्रेटिक नेता जो बाइडेन, जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका व्यक्ति रहेका छन् ।

त्यस्तै भर्खर यूएस ओपन जितेकी टेनिस स्टार नाओमी ओसाका, अमेरिकी एथ्लिट एलिसन फेलिक्स, इजिप्टकी पत्रकार लिना अताल्लाहलगायत व्यक्ति पनि प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।