13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको मृत्यु

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको मृत्यु


एजेन्सी । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।
दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए। बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।
 


इरानी राष्ट्रपति पाकिस्तान भ्रमणमा 

इरानी राष्ट्रपति पाकिस्तान भ्रमणमा 


एजेन्सी । इजरायलसँग तनाव बढिरहेको बेलामा इरानका राष्ट्रपति इब्राहिम रइसी पाकिस्तानको तीन दिने भ्रमणका लागि एक्कासी आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।  यस भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, राष्ट्रपति असिफ अली जरदारी र सेनाप्रमसख जनरल आसिफ मुनिरसँग कुराकानी गर्ने जनाइएको छ ।

गएको जनवरीमा इरानले पाकिस्तानको बलुचिस्तानमा ड्रोन कारवाही गर्दै सो स्थानमा चरमपन्थी समूह जैश अल अदुललाई निशाना बनाइएको जनाएको थियो । इरानले अहिलेको  भ्रमणको उदेश्य दुई देशबीचको सम्बन्धलाई प्राथमिकतामा राख्नु रहेको जनाएको छ । 

इजरायल र पश्चिमा मुलुकबीच इरानको तनाव बढीरहेको बेलामा पहिलो भ्रमणका रुपमा इरानी राष्ट्रपतिले पाकिस्तान भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ । इरान र इजरायलबीचको द्वन्द्वका क्रममा पाकिस्तानले तनावबाट बच्न दुवै देशलाई सल्लाह दिएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
 


अमेरिकी तल्लो सदनबाट युक्रेनका लागि ६१ अर्ब डलरको राहत प्याकेज पारित

अमेरिकी तल्लो सदनबाट युक्रेनका लागि ६१ अर्ब डलरको राहत प्याकेज पारित


एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले युक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेज पास गरेको छ। 

हाउसमा भएको मतदानमा उक्त प्रस्तावको पक्षमा ३ सय ११ र पक्षमा र १ सय १२ मत विपक्षमा परेको थियो। यो प्रस्ताव अब सिनेटमा जानेछ। सिनेटबाटसमेत यो प्रस्ताव पास हुने सम्भावना छ। दुवै सदनबाट पारित भएपछि राष्ट्रपति जो बाइडेनबाट स्वीकृत भएपछि यो प्रस्तावले कानूनी रुप प्राप्त गर्नेछ। 

राष्ट्रपति जो बाइडेनले यो सहयोगपछि युद्ध रोकिने र हजारौँ जीन्दगी जोगिन सक्ने दाबी गरेका छन्। हाउस अफ रिप्रजेन्टेटिभ्सबाट उक्त प्रस्ताव पारित भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन्। 

रुसी आक्रमण झेलिरहेको युक्रेनले अमेरिकी सहयोग नआए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको थियो। युक्रेनसँगै अमेरिकी तल्लो सदनबाट इजरायलका लागि २६ अर्ब डलर सहयोग प्याकेज पनि पारित भएको छ। गाजामा मानवीय सहयोगका लागि भन्दै ९ अर्ब डलरको राहत प्याकेजसमेत पारित भएको जनाइएको छ।


सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु


एजेन्सी । सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भनेको छ, “मध्य प्रान्त होम्सको पूर्वमा रहेको मरुभूमि क्षेत्रमा एउटा सैन्य बसलाई लक्षित गरी मध्यम र भारी मेशिनगनले आक्रमण गरिएको र आक्रमणमा सरकार समर्थक लडाकु ‘अल–कुद्स ब्रिगेड’का २२ जनाको मृत्यु भएको हो । 

पूर्वी सिरियाको अल–बुकामाल सहरको ग्रामीण इलाकामा रहेको सिरियाली सेनाको मुख्यालयमा इस्लामिक स्टेट (आइएस) लडाकु समूहले गरेको अर्को आक्रमणमा परी ६ सिरियाली सैनिकको मृत्यु भएको छ ।
 


इजरायल आक्रमणपछि इरानका आणविक केन्द्र बन्द

इजरायल आक्रमणपछि इरानका आणविक केन्द्र बन्द


एजेन्सी । इरानले इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायी रूपमा बन्द गरेको संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताएका छन्।  

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीलाई आक्रमणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजरायली आक्रमणको सम्भावनाप्रति चिन्तित हो भन्दै प्रश्न गरेका थिए। 

‘हामी सधैँ यसको सम्भावनाबारे चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ,’ उनले भने।  

उनका अनुसार सोमबार आणविक केन्द्रहरू पुनः खुल्नुपर्ने थियो, तर निरीक्षकहरू अर्को दिनसम्म फर्कनेछैनन्। ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उनले भने, ‘स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरेँ।’


म्यान्मामा रकेट आक्रमणमा ४ जनाको मृत्यु, १२ घाइते

म्यान्मामा रकेट आक्रमणमा ४ जनाको मृत्यु, १२ घाइते


काठमाडौं, ३ वैशाख । मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा ४ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ ।
माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए । पिन ऊ ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको छ ।
 


इरानद्वारा इजरायलमा दर्जनौँ ड्रोन र मिसाइल प्रहार

इरानद्वारा इजरायलमा दर्जनौँ ड्रोन र मिसाइल प्रहार


एजेन्सी । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको थियो । उसले यो कदम ‘इजरायली अपराधहरू’ को सजायको हिस्सास्वरूप चालेको भनेको छ ।

तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा यो हमला गरेको बताएको छ । सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि यो आक्रमण भएको हो ।

‘हामीले सिरियामा रहेको इरानी वाणिज्य दूतावासलाई निशाना बनाउने अपराधको जवाफमा ड्रोन र मिसाइलहरू प्रयोग गरेर अभियान सुरु गर्‍यौँ,’ आईआरजीसीले विज्ञप्तिमा भनेको छ ।

शनिबार टेलिभिजन सम्बोधनमा इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भनेका छन्, ‘इरानले आफ्नो क्षेत्रबाट इजरायल राज्यको क्षेत्रतर्फ मानवरहित हवाई वाहनहरू प्रहार गरेको छ ।’

अहिलेसम्मकै खतरनाक र उच्चतम स्तरको तयारीका साथ आफू इजरायलमाथि आक्रमणमा उत्रिएको इरानले बताएको छ ।

इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।

 


युरोपको सबैभन्दा लामो पुल भत्काउन चाहन्छौँः जेलेन्स्की

युरोपको सबैभन्दा लामो पुल भत्काउन चाहन्छौँः जेलेन्स्की


एजेन्सी ।  युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस र क्रिमियालाई जोड्ने पुल भत्काउने लक्ष्य रहेको बताएका छन् । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेयता दुई देशबीच युद्ध जारी छ ।

त्यसयता युक्रेनी अधिकारीहरूले रुसका लागि महत्त्वपूर्ण रहेको १९ किलोमिटर लामो पुल भत्काउने धम्की दिँदै आएका छन् । यो पुल रुसका लागि सैनिक र अन्य हिसाबले पनि महत्त्वपूर्ण छ ।

यसबीच सोमबार जेलेन्स्कीले जर्मन मिडिया जायन्ट एक्सेल स्प्रिंगरको स्वामित्वमा रहेको सञ्चारमाध्यमसँग बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, “हामी वास्तवमै रुसी पूर्वाधार नष्ट गर्न चाहन्छौँ । कुरा केवल केर्च (क्रिमिया)को पुलको बारेमा होइन । हामी सैन्य पूर्वाधार, पुलहरू र एयरफिल्ड नष्ट गर्ने कुरा गर्दैछौँ ।”
 


पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प

पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प


एजेन्सी ।  इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार अपरान्ह् १६ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा१० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का देशको अधिकांश भाग र छिमिकी मुलुकसमेतमा महशुस गरिएको जनाइएको छ ।इन्डोनेसियाको राष्ट्रिय मौसम पुर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ ।

प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ । प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन ।


ताइवानमा शक्तिशाली भूकम्प 

ताइवानमा शक्तिशाली भूकम्प 


एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ। अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। सबैभन्दा ठूलो पराकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ। अहिलेसम्म मानिसहरूको मृत्यु भएको रिपोर्ट नआएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। तर घरहरूमा मानिसहरू च्यापिएको हुनसक्ने बताइएको छ। भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।