13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


अफगानिस्तानमा शक्तिशाली  भूकम्प, एक सय जनाको मृत्यु 

अफगानिस्तानमा शक्तिशाली  भूकम्प, एक सय जनाको मृत्यु 


एजेन्सी । अफगानिस्तानमा भूकम्पमा परेर एक सय जनाको मृत्यु भएको छ ।  एक हजार जना भन्दा धेरै घाइते भएका छन् । शनिबार हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको  खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली तीन वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ । अफगानिस्तान पनि नेपाल जस्तै भूकम्पीय जोखिमयुक्त देश हो । 
 


नोबेल शान्ति पुरस्कार इरानकी नरगिस मोहम्मदीलाई

नोबेल शान्ति पुरस्कार इरानकी नरगिस मोहम्मदीलाई


एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिने भएको छ। ५१ वर्षीया नरगिसले इरानमा महिलाको पक्षमा र मानवअधिकारको संरक्षणका लागि गरेको कामका लागि प्रदान गर्न लागिएको नोबेल कमिटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

पछिल्लो १२ महिनामा शान्ति स्थापना वा प्रवर्द्धनमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई यो पुरस्कार दिइने गरिन्छ। नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिका विधामा दिइन्छ।


संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपाल आउँदै

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपाल आउँदै


काठमाडौं, १७ असोज ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् । तीन दिन नेपालमा रहने गुटेरसले शान्ति प्रक्रियाका विषयसहित जलवायु परिवर्तन र अति कम विकसित देशका विषयमा छलफल गर्नुहुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
गुटेरसको भ्रमण यही अक्टोबर महिनाभित्र हुने भए पनि मिति यकिन भएको छैन । यसअघि सन् २००८ को अक्टोबरमा संयुक्त राष्ट्र राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गर्नुभएको थियो । त्यस बेला पनि प्रचण्ड नै प्रधानमन्त्री हुनहुन्थ्यो । त्यो बेला माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो चुनावबाट सरकारमा पुगेको थियो ।

गुटेरसको भ्रमण शान्ति प्रक्रिया टुङ्ग्याउन अर्थपूर्ण हुने विश्लेषकहरू बताउँछन् । शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रियासँगै आर्थिक–सामाजिक विकासका मुद्दाहरूमा नेपाल र संयुक्त राष्ट्रसंघको सम्बन्ध नजिकको रहेको छ ।


कोरोना खोप विकासमा संलग्न दुई चिकित्सकले पाए नोबल पुरस्कार

कोरोना खोप विकासमा संलग्न दुई चिकित्सकले पाए नोबल पुरस्कार


एजेन्सी । यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् । न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड-१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा डा. क्याटालिन कारिको र डा. ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ ।
कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ।

कोभिड महामारीका बेला मोडर्ना र फाइजर,बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो। त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थिए।

नोबेल पुरस्कार समितिले भनेको छ: “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए।

वैज्ञानिकद्वय कारिको र भाइस्मान अमेरिकाको यूनिभर्सिटी अफ पेन्सलभानियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भेटेका थिए।कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो ।


स्पेनको रात्रि क्लबमा आगलागी, ज्यान गुमानेको संख्या १३ पुग्यो

स्पेनको रात्रि क्लबमा आगलागी, ज्यान गुमानेको संख्या १३ पुग्यो


एजेन्सी । स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको संख्या १३ पुगेको छ । आइतबार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् ।  त्यसैले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएकोे छ । मर्सियाका मेयर जोसे बालेस्टाले आगलागीबाट ठूलो मानवीय क्षति व्यहोरेको बताए । 

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


युक्रेनी शरणार्थी सन् २०२५ को मार्चसम्म युरोपमा बस्न पाउने

युक्रेनी शरणार्थी सन् २०२५ को मार्चसम्म युरोपमा बस्न पाउने


एजेन्सी । युरोपेली सङ्घ (ईयू) ले युक्रेनका शरणार्थीलाई ईयूका देशमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि आफ्नै देशबाट पलायन भएका उनीहरूलाई सदस्य देशहरुमा आवासको अधिकार दिइएको हो ।

यो व्यवस्थाले झण्डै चार लाख युक्रेनी शरणार्थीलाई सहज भएको छ । ईयूले युक्रेनी नागरिकलाई आवश्यक सबै सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताउनुभएको छ ।

स्पेन ईयूको वर्तमान अध्यक्ष देश हो । रुसले युक्रेनमा आक्रमण थालेपछि लाखौँ युक्रेनी शरण खोज्न युरोपका अरु देशमा पुगेका छन् । 


हावडामा भानुभक्त मार्ग नामकरण

हावडामा भानुभक्त मार्ग नामकरण


एजेन्सी । हावडा म्युनिसिपल कर्पाेरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ। पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो।

नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो। समितिका अध्यक्ष बद्रीविक्रम थापाले यसै वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईका प्रमुख आतिथ्यमा २१० औ भानुजयन्ती मनाएको जनाउँदै आफ्नो संस्थाको अनुरोध ढिलै भए पनि स्विकारेकामा पश्चिम बङ्गाल सरकार र नगरपालिकालाई धन्यवाद दिए। संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका अध्यक्ष पनि रहेका थापाका अनुसार  उपयुक्त समयमा भानुभक्त मार्गको उदघाटन गरिने छ।

गङ्गासागर मेला, दुर्गापूजा, रक्तदान शिविर, बुद्धजयन्ती, मोतीराम जयन्तीलगायत विभिन्न स्वयंसेवी काम गर्दै आएको केन्द्रीय सेवा सङ्घअन्तर्गत पर्ने सात समितिमध्ये जनकल्याण समितिले भानुजयन्तीका अवसरमा हरेक वर्ष ‘बिहानी’ नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको र सोका सम्पादकमा नरविक्रम थापा रहेको समितिका सचिव रामबहादुर कार्कीले बताए। भारत नेपाल जनमैत्री मञ्च कोलकाता लगायत सङ्घसंस्था पनि साहित्यिक कार्यक्रम आदिमा संलग्न रहेको जनाइएको छ।  


राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेका छौंः मन्त्री भण्डारी

राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेका छौंः मन्त्री भण्डारी


काठमाडौं, ७ असोज ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित अध्ययन विश्लेषण प्रतिवेदन सार्वजनिक तथा श्रम रोजगार पत्रकारिता पुरस्कार २०८० हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आप्रवास नीति बनाउने अवस्थामा पुगेको भन्दै त्यसको लागि गृहकार्य गरिरहेको बताए।

उनले वैदेशिक रोजगारमा जानेलाई रोक्न नसकिने भएकाले बरु नीतिगत रुपले व्यवस्थापन गर्न आवश्यक रहेको बताए। 
 


रुसी नौसेनालाई लक्षित गरी युक्रेनद्वारा मिसाइल आक्रमण

रुसी नौसेनालाई लक्षित गरी युक्रेनद्वारा मिसाइल आक्रमण


एजेन्सी । रुसी नौसेनालाई लक्षित गरी युक्रेनले मिसाइल आक्रमण गरेको छ । बीबीसीका अनुसार युक्रेनले क्रिमियास्थित बल्याक सि फ्लीटमा नौसेनाका अधिकारीहरूबीच छलफल चलिरहेको बेला मिसाइल आक्रमण गरेको हो । 

युक्रेनी सेनाले यो आक्रमणमा दर्जनौँ मारिएको दाबी गरेको छ । तर, रुसले भने एक जना मात्र सम्पर्क बिहीन भएको बताएको छ । बेलायत र फ्रान्सले दिएको स्ट्रोम स्याडो मिसाइल आक्रमण गरिएको युक्रेनी सेनाले बीबीसीलाई बताएका छन् । 


वैदेशिक रोजगारीः खाडी मुलुक जानेमा कमी, युरोप जाने बढे

वैदेशिक रोजगारीः खाडी मुलुक जानेमा कमी, युरोप जाने बढे


काठमाडौं, ७ असोज । पछिल्लो समय रोजगारीका लागि खाडी देश जाने नेपालीको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार खाडी जानेको संख्यामा कमी आएपनि युरोपेली मुलुकमा जानेको संख्या भने बढेको छ । गत वर्षको तुलनामा मलेसियाबाट कम संख्यामा माग आएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक तथ्यांकअनुसार साउन र भदौमा वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा ३२ हजारले घटेको छ । गत वर्षको साउन र भदौमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३९ हजार रहेकामा यस वर्षको साउन र भदौमा एक लाख ६ हजारमा सीमित भएको छ ।

मलेसियाबाट कम माग आएकाले रोजगारीका लागि जानेको संख्या घटेको हो । तर, माल्टा पोल्यान्ड र रोमानियाजस्ता युरोपेली मुलुकमा जानेको संख्या भने बढेको छ ।