newsajako.com
काठमाडौं, ८ चैत । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य सुभारम्भ गरेका हुन् । इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ। प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आवद्ध भएको परिचयपत्र हस्तान्तरण गरे ।
प्रधानमन्त्रीले परिचयपत्र हस्तान्तरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि आवेदन दिन पाउने बाटो खुला भएको छ ।वैदेशिक रोजगारमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्थामा पेन्सन सुविधा प्राप्त हुने गरी कार्यविधि बनाइएको छ ।
सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि समेट्ने गरी ‘वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यविधि २०७९’ ल्याएको छ । वैदेशिक रोजगारीमा रहेकाहरू अनलाइनबाटै आबद्ध हुन सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।
सूचीकरणका लागि आवेदन दिँदा नेपाली नागरिकता वा राहदानीको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि आवश्यक पर्छ । श्रम स्वीकृति आवश्यक नपर्ने देशमा रोजगारी गरिरहेको वा जाने श्रमिकले भने आफू कुन स्थानमा कुन कम्पनीमा काम गर्ने हो त्यसको विवरण अनुसार कोषमा आबद्ध हुन स्वघोषणा र कम्पनीको नियुक्ति पत्र भए त्यसको प्रतिलिपि पनि पेस गर्न पर्छ ।
यस्तै नयाँ जानेले आफू काम गर्न जान लागेको देश, रोजगारदाता कम्पनी र ठेगाना, नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम, थर, ठेगाना, नाता सम्बन्ध र सम्पर्क नम्बर राख्न पर्छ ।
विदेशमा स्वरोजगार रहेका व्यक्तिले कोषमा सूचीकरणका लागि निवेदन दिँदा नागरिकता वा राहदानीको प्रतिलिपिका साथै भिसाको पनि प्रतिलिपि पेस गर्न पर्छ । भिसा आवश्यक नपर्ने देशमा स्वरोजगार भएमा भने भिसाको प्रतिलिपि पेस गर्न पर्दैन । स्वरोजगार सम्बन्धी पेसा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पेसा वा व्यवसायको नाम, ठेगाना तथा सम्पर्क नम्बर पनि राख्न पर्छ भने कोषमा सूचीकृत भएपछि आफूले मासिक रूपमा योगदान गर्ने रकमका बारेमा पनि खुलाउन पर्छ ।
यी आवश्यक कागजातसहित अनलाइनमार्फत सूचीकरणका लागि दिएको निवेदन उपर कोषले जाँचबुझ गरी सामाजिक सुरक्षा परिचयपत्र उपलब्ध गराउँछ । परिचयपत्र पनि अनलाइनमार्फत नै उपलब्ध हुन्छ । कोषमा सूचीकरण भइसकेपछि नियमित रूपमा योगदान रकम जम्मा गर्दै कोषले प्रदान गर्ने सेवा सुविधा लिन सकिन्छ ।