07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


ईपीएस भाषा परीक्षामा ६ हजार उत्तीर्ण

ईपीएस भाषा परीक्षामा ६ हजार उत्तीर्ण


काठमाडौं, २८ चैत ।  ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएकाे छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। 
उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन्।  पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ।  
दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ।  परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ। अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ। 
पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिने भनिएको थियो। तर, ४० हजार जना मात्रै परीक्षामा सहभागी भएका थिए।  
अब दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ। उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ। तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन्। 

ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जान १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन्।  त्यस्तै तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ। 


प्रदेशका उच्च अदालतलाई श्रम विवादको क्षेत्राधिकार दिन आग्रह

प्रदेशका उच्च अदालतलाई श्रम विवादको क्षेत्राधिकार दिन आग्रह


काठमाडौं, २७ चैत । नेपाल उद्योग वाणिज्य महासंघ पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेर शुभकामना तथा बधाइ दिएका छन्। उद्योग वाणिज्य महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठसहितको टोलीले मन्त्री अर्याललाई भेटेर शुभकामना तथा बधाइ दिएको हो। 

भेटमा उपाध्यक्ष श्रेष्ठले छिटफुट घटनाबाहेक श्रम सम्बन्धमा खासै समस्या नभएको बताइन्। तथापि श्रम सम्बन्धलाई भरपर्दो, बलियो र उत्पादकत्व वृद्धि गर्नतर्पm जोड दिनपर्ने भन्ने महासंघको धारणा रहेको उनको भनाइ थियो।केही महिनाअघि महासंघ र जेटीयूसीसीबिच समझदारी भएको र त्यसलाई प्रभावकारी बनाउने क्रममा चाँडै रणनीतिक योजना बनाएर अगाडि बढ्ने सहमति भएको उनले मन्त्रीलाई जानकारी दिइन्। 
देशबाट सीपयुक्त श्रमशक्ति बिदेसिँदा देशले भोग्नुपर्ने श्रम चुनौतीलाई मनन गरेर श्रमिकका लागि तालिम कार्यक्रम सञ्चालन र तिनलाई उत्पादनमूलक क्षेत्रमा लगाउने व्यवस्था मिलाउन उनले मन्त्री अर्यालको ध्यानाकर्षण गराइन्। 

श्रम विवादको छिटोछरितो समाधान गर्न प्रदेशमा रहेका उच्च अदालतलाई श्रमसम्बन्धी विवाद हेर्ने गरी क्षेत्राधिकार तोक्न व्यवस्था गर्न मन्त्रीसमक्ष आग्रह गरिएको महासंघले जनाएको छ। वैदेशिक रोजगारीबाट फर्केर आएकाको पुनः एकीकरण, श्रमिकलाई तालिम आदि विषयमा सरकार र निजी क्षेत्रले सहयोगी रुपमा काम गर्नुपर्ने र त्यसका लागि महासंघ तत्पर रहेको श्रेष्ठले बताइन्।

श्रममन्त्री अर्यालले महासंघले उठाएका बिषय गम्भीर रहेको र त्यस मध्ये प्रदेशमा रहेका उच्च अदालतलाई क्षेत्राधिार तोकी श्रम अदालतको काम गर्न दिने भने विषयमा बागमतीलाई काठमाडौंले हेर्ने र बाँकी सबै ६ प्रदेशस्थित उच्च अदालतलाई अधिकार दिने गरी मन्त्रालयबाट काम भइसकको बताए।


श्रीलंकनलाई काठमाडौं ल्याई बन्धक, चार पाकिस्तानी पक्राउ

श्रीलंकनलाई काठमाडौं ल्याई बन्धक, चार पाकिस्तानी पक्राउ


काठमाडौं, २३ चैत । प्रहरीले श्रीलंकन नागरिकलाई काठमाडौं ल्याई बन्धक बनाएको आरोपमा चार पाकिस्तानीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।
उनीहरूले श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपियन देशमा पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौंका विभिन्न होटलमा पीडितहरूलाई बन्धक बनाई पासपोर्ट नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेका थिए । उनीहरूको बिहीबार प्रहरीले उद्धार गरेको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र


काठमाडौं, २३ चैत ।  ‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष आग्रह गरेको छ।

केही पीडित परिवारले शुक्रबार मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टी नभएकोको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्दार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।


पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्री समक्ष मागसमेत गरेका थिए।


मलेसिया रोजगारी : नेपालबाट सुरक्षागार्ड लैजाने 

मलेसिया रोजगारी : नेपालबाट सुरक्षागार्ड लैजाने 


काठमाडौं, २२ चैत । मलेसियाले नेपालबाट सुरक्षा गार्डका रूपमा कामदार लैजाने भएको छ । उत्पादन, कृषि र सेवा क्षेत्रमा कामदार नलैजाने जनाएको मलेसियाले सुरक्षा गार्डमा भने नेपाली कामदारलाई खुला गरेको हो । 

मलेसियाले आफ्नो श्रम बजारमा कोटाभन्दा बढी विदेशी कामदार भएको भन्दै चैत १८ (मार्च ३१) बाट कलिङ भिसा जारी गर्न बन्द गरेको थियो । भिसा जारी भएको कामदारको हकमा भने जेठ १८ (मे ३१) भित्र मलेसिया प्रवेश गरिसक्नुपर्ने निर्णय मलेसियाले गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासले सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा चैत ९ देखि नै मागपत्र प्रमाणीकरण गर्न रोक लागेको जनाएको छ । मागपत्र प्रमाणीकरण रोकेपछि कामदारको भर्ना प्रक्रिया अगाडि बढ्दैन । नेपाल स्वास्थ्य व्यवसायी महासंघले पनि सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा जाने कामदारको स्वास्थ्य परीक्षण रोकेको छ । 


अब घरबाटै कन्सुलर सेवा शुरु गरिने 

अब घरबाटै कन्सुलर सेवा शुरु गरिने 


काठमाडौं, २२ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने गरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गरे ।  यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ ।


 


वैदेशिक रोजगारीः करोडौं रकम ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीः करोडौं रकम ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं, २१ चैत । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन्। 

केदार चौधरीले युके पठाइदिने भन्दै ३०र३५ जना व्यक्तिबाट नौ लाखदेखि २० लाखसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पुयाई पीडितबाट करिब रु छ करोड लिई फरार भएका थिए।

त्यसैगरी जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै ११ लाख ६५ हजार ठगी गरेको र नन्ददेवी पुनले युके पठाइदिने भन्दै सात लाख ६७ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए।


वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ


काठमाडौं, १६ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१५ बस्ने ३५ वर्षीय रूपेश कुमार ठाकुर, सर्लाही वरहथवा नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३० वर्षीय कृष्ण बहादुर राई, बाजुरा हिमाली गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुर महानगरपालिका-१० चापागाउँ बस्ने ४६ वर्षीय जिवन तामाङ रहेका छन् । 

पक्राउमध्ये रूपेश कुमार र कृष्ण बहादुरले क्यानडा, पोल्याण्ड, माल्टा र क्रोएसिया पठाईदिन्छु भन्दै २२ जना पीडितहरूबाट ८० लाख रूपैयाँ ठगी गरेको, पर्वराजले जापान पठाईदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको र जिवनले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै १ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश कुमार र कृष्ण बहादुरलाई काठमाडौं स्वयम्भूबाट तथा पर्वराज र जिवनलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

 
 


अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह

अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह


काठमाडौं, १६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।
श्रमिकहरूमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरू गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन् । त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरू स्वास्थ्य सङ्कटमा परेका छन् । तसर्थ श्रमिकको शीघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित बडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए ।

मन्त्रालयले विशेष गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरूमा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको  अस्पतालमा, स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरूमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो । अस्पतालको बेड क्षमताका आधारमा निश्चित सङ्ख्यामा बेडहरू छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो ।

त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरूमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ । श्रमिकहरूलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरूलाई उपचार लगायतका विषयहरूमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो । अस्पतालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ ।
 


रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय

रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय


काठमाडौं, १५ चैत ।  सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गरेका थिए । राजीनामा दिनु केही दिनअगाडि गरेको उक्त निर्णय आजसम्म गोप्य नै राखिएको थियो । तर, बुधबार एकाएक निर्णय सार्वजनिक गरियो ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने निर्णय सार्वजनिक गरिरहँदा श्रममन्त्री डोलप्रसाद अर्यालले भने रुसमा व्यक्तिगत श्रम स्वीकृति खुला नगरिरहेको भन्दै भाषण गरिरहेका थिए । त्यहीबेला विभागले फागुन ९ र १६ गते श्रम सचिवले निर्णय गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।
रुस र युक्रेनबिचको युद्धका कारण २०८० पुस १९ गतेदेखि श्रम स्वीकृति दिने कार्य रोकेको थियो । रुस–युक्रेन युद्धमा नेपाली नागरिकहरूको मृत्यु भएको कारण देखाई परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । रुसमा काम गर्न जाने कामदारहरूको श्रम स्वीकृति समेत रोकिएको थियो । तर, श्रम सचिव भण्डारीले २०८० फागुन ९ गतेको पुनः श्रम स्वीकृति सुचारू गर्ने निर्णय गरेका थिए ।
उनले रुसमा विभिन्न पेशा व्यवसाय गरी नेपालमा बिदामा आएका कामदारहरूको मागलाई सम्बोधन गर्ने भन्दै पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेका थिए । त्यस्तै संस्थागत माध्यमबाट (मेनपावर व्यवसायीबाट) रसियाको   Blagoveshchensk Cityस्थित Sinopec Engineering Russia Group LLC कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णय समेत गरेका थिए ।

२०८० फागुन १६ गते उक्त कम्पनीका लागि संस्थागत श्रम स्वीकृति दिने निर्णय सचिव भण्डारीले गरेका थिए । सचिव भण्डारीले गरेको उक्त निर्णयबारे मन्त्री अर्यालले भने आफू त्यसबारे अनविज्ञ रहेको बताएका छन् । अर्याल फागुन २३ गते श्रम मन्त्री बनेका थिए । यसअघिका श्रममन्त्री शरतसिंह भण्डारीको पालामा सचिवले गरेको उक्त निर्णय विभागले अहिले सार्वजनिक गरेको हो ।