13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


कोरियाको विषयमा बजार हल्ला निराधार भएको श्रममन्त्रीको दावी 

कोरियाको विषयमा बजार हल्ला निराधार भएको श्रममन्त्रीको दावी 


काठमाडौैं, ६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको दावी गरेका छन् । मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मन्त्री अर्यालले ई–७ भिसा मार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिया पठाउन सक्ने भन्ने खालको सुचनामा मन्त्रालयको आधिकारीता नभएको  बताएका हुन्  ।  
  
कोरियाले हालसम्म ईपिएस प्रणाली मार्फत नेपाली श्रमिक लैजादै आएको छ । तर, यसअघि नै म्यानपावर व्यवसायीले ई–७ भिसा मार्फत कोरिया पठाईदिने भन्दै रकम असुल गर्न थालेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा नै यस बिषयमा निर्देशन दिएका थिए ।  प्रधानमन्त्रीले दाहालले ई–७ भिसालाई पनि ईपिएसमा आवद्ध गराउन निर्देशन दिएका थिए ।   
प्रधानमन्त्री दाहालको निर्देशनलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले एक कार्यदल नै निर्माण गरेको मन्त्री अर्यालले स्पष्ट पारे । 

 ‘कार्यदलले यस बिषयमा अध्ययन गरी रहेको छ । कार्यदलको प्रतिवेदन पछि श्रमिकको हितमा हुने गरी निर्णय गरिनेछ,’ उनले भने  । तर, बजारमा हल्ला भए जस्तै गरी मन्त्रालयले यसमा कुनै पनि निर्णय नगरेको उहाँले बताए । 

त्यस्तै, मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क पनि यथावत रहेको स्पष्ट पारे । ‘अर्को निर्देशन नहुँदासम्मको लागि अभिमुखीकरण तालिमको शुल्क ७०० नै तोकिएको छ,’ उनले भने ।  यस बिषयमा पनि मन्त्रालयले निर्माण गरेको कार्यदलले अध्ययन गरी रहेको छ ।

अध्ययन पछि मूल्य वृद्धि गर्ने नगर्ने बिषयमा निर्णय गर्ने उहाँले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको लगायतका अन्य तालिमहरु निशुल्क रुपमा वैदेशिक रोजागर बोर्ड र सीप विकास तालिम प्रतिष्ठानबाट उपलब्ध गराउने मिल्ने गरी अध्ययन गर्न निर्देशन दिएका थिए ।

त्यस्तै, वृद्धि भएको शुल्क श्रमिकहरुबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।  
पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशन कार्यान्वयनका लागि मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको स्पष्ट पारे ।  
 


विदेशी बन्दी गृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन निर्देशन 

विदेशी बन्दी गृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन निर्देशन 


काठमाडौं, ६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दी गृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् । गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका हुन् ।

वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दी गृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिएका हुन् । सबै गन्तव्य मुलुकबाट तथ्यांक संकलन उद्धार तथा समस्या समाधानको योजना बनाइने समेत उनले बताए ।
 त्यस्तै, विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिने उनको भनाइ छ ।

बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिएका छन् ।
 


इजरायलले थप २५२ जना केयरगिभर लैजाने

इजरायलले थप २५२ जना केयरगिभर लैजाने


काठमाडौं, ५ चैत । इजरायलले थप २५२ जना केयरगिभर लैजाने भएको छ । जी–टु–जी मार्फत इजरायलले लक्की ड्रमार्फत छनौटमा नपरेकाहरूलाई समेत लैजान लागेको हो । यसअघि इजरायलका रोजगार केन्द्रहरूमा स्वास्थ्य सहायकको रुममा काम गर्न १ हजार ६०० जना छनौटमा परेका थिए ।

तीमध्ये लक्की ड्रमार्फत एक हजार १७५ जना छनोट गरेका थिए । २०७८ को माघबाट कामदारहरू इजरायल जान सुरु भएको थियो । दुई वर्ष लगाएर छनौटमा परेकाहरू इजरायल पुगेका हुन् । लक्की ड्रबाट छनोटमा नपरेका ४२५ जनालाई लैजान नेपालले इजरायललाई ताकेता गरेको थियो ।
 


फागुनमा साढे ६५ हजार नेपाली विदेशिए 

फागुनमा साढे ६५ हजार नेपाली विदेशिए 


काठमाडौं, ३ चैत । एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् ।

फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ ।

फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए । तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो ।

अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको संख्याले रेकर्ड राखेको थियो । यो वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको अधिक आकर्षण देखिन्छ । फागुनमा मात्र १८ हजार ७ सय ७ श्रम स्वीकृति यूएईका लागि भएको छ ।

साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ ।

यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।


वैदेशिक रोजगारीः इजरायल जाने प्रक्रिया छरितो बनाइने 

वैदेशिक रोजगारीः इजरायल जाने प्रक्रिया छरितो बनाइने 


काठमाडौं, ३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउने प्रक्रिया छिटो–छरितो बनाइने बताएका छन् । शुक्रबार नेपालका लागि इजरायली राजदूत हनान गोडेरबीच भएको भेटमा मन्त्री अर्यालले यस्तो आश्वासन दिएका हुन् ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ । अहिले जीटुजी प्रक्रियाबाट केयर गिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल गइरहेकोका छन् ।
भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा समेत कुराकानी भएको मन्त्रालयले बताएको छ ।


दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं, २ चैत । दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बतिसपुतलीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
 


रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु भएको पुष्टि

रुसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु भएको पुष्टि


काठमाडौं,१ चैत । परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।  परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।


यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको थियो ।


दक्षिण कोरियाले थप तीन क्षेत्रमा नेपाली कामदार लैजाने, संख्या पनि बढाउने

दक्षिण कोरियाले थप तीन क्षेत्रमा नेपाली कामदार लैजाने, संख्या पनि बढाउने


काठमाडौं, १ चैत । दक्षिण कोरिया सरकारले थप तीन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । ईपीएस शाखाले एक सूचना जारी गर्दै अबदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार लैजाने जानकारी दिएको हो ।

यसअघि कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रमा नेपाली कामदार कोरिया जाने गर्दथे । शाखाले सन् २०२४ देखि कोरिया लैजाने कामदारको संख्यासमेत बढाउने बताएको छ ।


कुवेतमा कारको ठक्करबाट तीन नेपालीको निधन

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको निधन


काठमाडौं, १ चैत । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको निधन भएको छ । कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेका छन् । 
महबुला क्षेत्रको समुन्द्री किनारस्थित सडकमा तीन नेपालीलाई कारले ठक्कर दिएको थियो । कार कुवेत नागरिकले चलाएका थिए । उनलाई स्थानीय प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । 


श्रम मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन

श्रम मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन


काठमाडौं, ३० फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्यालले समिति गठन गरेका छन् । श्रम मन्त्रालयसँग सम्बन्धित देखिएका विवादबारे अध्ययन गर्न प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । 
समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिनेछ मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयहरुमा विवाद देखिएको छ । पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पटाइरहेको अवस्थाका बिच इ–सेभन (e7)  भिसामा समेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएको हो ।
त्यस्तै विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषय समेत विवाद देखिएको छ । यी विषयहरूमा सञ्चारमाध्यम, कामदार तथा श्रमिक स्वयंबाट समेत गुनासो आएको मन्त्रालयले जनाएको छ ।