16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सूचना प्रविधि


एसईई परीक्षार्थीहरुका लागि एनसेलले ल्यायो एक रुपैयाँमै ‘पहिलो सिम’

एसईई परीक्षार्थीहरुका लागि एनसेलले ल्यायो एक रुपैयाँमै ‘पहिलो सिम’


काठमाडौं, बैशाख ६ । नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘पहिलो सिम’ अफर ल्याएको छ । एनसेलले एक रुपैयाँ मूल्यको उक्त पहिलो सिम ल्याएको हो । 

यस योजनाअन्तर्गत परीक्षार्थीले एक रुपैयाँ मात्र तिरेर एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्सभिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डाटा प्याकसँगै हरेक रिचार्जमा बोनस डाटा र एसएमएसको लाभलिन सक्नेछन् । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमावाबाबुको नागरिकताको फोटो कपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजनाअन्र्तगत सिम खरीदगर्ने परीक्षार्थीले दैनिक तीन घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेपछि बिनाकुनै अतिरिक्त शुल्कमा इफाइभ समुहको पाँच वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम पाँच वटा एनसेल नम्बर समावेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट कर बाहेक ९९ पैसा शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ । 

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा पाँच् वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक पाँच रुपैयाँ शुल्क लाग्ने बताईएको छ । 

साथै, एक वर्षसम्म ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले सय एमबि डाटा र सय एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डाटा तथाएसएमएस २४ घण्टाको लागि मान्य रहनेछ । यसका साथै कम्पनीले एसईई परिक्षार्थीका विषेश डाटा प्याक पनि ल्याएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डाटा प्याकअन्तर्गत कर सहितमात्र २० रुपैयाँमा तीन सय एमबी डेटाको मजा लिन सक्नेछन् ।

यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा सात पैसा प्रतिएमबीमा डाटा सेवाको फाइदालिन सक्नेछन् भने कर सहितमात्र २० रुपैयाँमा नाइट डेटा प्याक अन्तर्गत बेलुका ११ बजे देखिबिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् । नाइट डाटा प्याक २४ घण्टाको लागिमात्र मान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि यो अफर अन्र्तगतको डाटाको लिन सक्नेछन् । यो योजना सुरु भएको दिनदेखि ९० दिनसम्मको लागि मान्य रहने कम्पनीले जनाएको छ ।


टेलिकमले परिवर्तन गर्यो एडिएसल सेवालाई एफटीटीएचमा 

टेलिकमले परिवर्तन गर्यो एडिएसल सेवालाई एफटीटीएचमा 


काठमाडौं, बैशाख ५ । नेपाल टेलिकमको इन्टरनेट सेवा एडिएसएल सेवा अब फाइबर टु द होम(एफटीटीएच)मा परिवर्तन गर्न लागेको छ । दूरसञ्चारको क्षेत्रमा टेलिकमले गरेका कामको जानकारी दिदैँ आज टेलिकमले पत्रकार सम्मेलनमा उक्त परिवर्तन गरिनेबारे जानकारी गराएको हो । एफटीटीएच सेवा देशैभरी विस्तार गरिने जनाइएको छ । 

कार्यक्रमा योजनाको जानकारी गराउँदै टेलिकमकी प्रवक्त प्रतिभा वैद्यले एक वर्षदेखि निरन्तर एडिएसएल सेवा लिएका वा तीन महिनाको लागि एफटीटीएस सेवा लिने ग्राहलाई सीपीई(इन्टरनेट जडानमा आवश्यक पर्ने उपकरण) निशुल्क गरिएको जानकारी गराएकी थिइन् । इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको जनाइएको छ । हाल देशभर ४० हजार नौ सय ६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ । 

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताएका थिए । उनले छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको समेत जानकारी गराए । साथै, सातै प्रदेशमा गत माघ २० मा तीन वटा सेवा सम्झौता भएको जानकारी दिइयो । जसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क एक र नेटवर्क दुईका लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ । नेटवर्क एक अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क दुई अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्ने टेलिकमले बताएको छ ।  


नेपालले भू–उपग्रह अन्तरिक्ष पठायो, प्रधानमन्त्रीले दिए वैज्ञानिकलाई बधाई

नेपालले भू–उपग्रह अन्तरिक्ष पठायो, प्रधानमन्त्रीले दिए वैज्ञानिकलाई बधाई


काठमाडौं, बैशाख ५ । पहिलो पटक नेपालको आफ्नै स्याटलाइट (भू–उपग्रह) अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट आज(बिहीबार) बिहान २ः३१ बजे ‘नेपालीस्याट –१’ नाम दिइएको नेपालको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा प्रक्षेपण गरिएको हो ।

उक्त स्याटलाइटको तौल झण्डै एक किलो रहेको छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । यसबाट नेपालले आफ्नो भू–भागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत संलग्न थिए ।

यसैबीच नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । उनले आज बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् । सानै आकारको भए पनि नेपाली भू–उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् ।


टेलिकमले नयाँ वर्षसँगै ल्यायो नयाँ अफर

टेलिकमले नयाँ वर्षसँगै ल्यायो नयाँ अफर


काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँ वर्ष २०७६ सँगै नयाँ ‘अफर’ ल्याएको छ । नयाँ वर्षलाई लक्षित गर्दै टेलिकमले नयाँ अफरमा दुई सय रुपैयाँको ‘प्याक अफर’ योजना सार्वजनिक गरेको हो । 

नेपाल टेलिकमको सेवा लिएका सेवाग्राहीले दुई सय रुपैयाँ खर्च गर्दै प्याक खरिद गरेपछि ३ जिबी इन्टरनेट डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र दुई सय मिनेट भ्वाइस कल गर्न र दुई सय वटा एसएमएस पठाउन सक्ने छन् । 

प्याकको अवधि खरिद गरेपछि पाँच दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैसाख २ (तीन दिन) गतेसम्म खरिद गर्न सकिने छ । प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नु पर्नेछ ।


अबदेखि अरुको नामको सिमकार्ड प्रयोग गर्न पाईदैन

अबदेखि अरुको नामको सिमकार्ड प्रयोग गर्न पाईदैन


काठमाडौं, फागुन २० । नेपाल दूरसञ्चार प्राधिकरणले अब अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने कार्यविधि तयार पारेको छ । प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्डबाट विभिन्न अपराधिक क्रियाकलाप बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ‘ई–केवाईसी सिस्टम’ लागू गरी उक्त कार्यविधि तयार पार्ने भएको हो । 

प्राधिकरणले ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको छ । सिमकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेजस्ता प्रवृत्ति रोक्न ई–केवाईसी सिस्टम ल्याउन लागिएको हो । 


अप्टिकल फाइबर बिछ्याउनेबाट यूटीएल बन्चित

अप्टिकल फाइबर बिछ्याउनेबाट यूटीएल बन्चित


काठमाडौं, फागुन ९ । युनाइटेड टेलिकम लिमिटेड(यूटीएल) गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने कामबाट बन्चित भएको छ । मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश र प्रदेश नं.५ का जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्न जिल्लाहरुमा अप्टिकल फाइबर बिच्छाउन गरिएको सम्झौता रद्ध गरेसँगै अब यूटीएल उक्त कामबाट बन्चित भएको हो । 

सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले काम गर्न नसक्ने ठहर गर्दै यूटीएलसँग भएको सम्झौता रद्ध गरिएको जनाए । यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम सक्नुपर्नेमा कामको शुरुवात नै नगरेपछि सम्झौता भंग गरिएको हो । उक्त कामका लागि २०७४ बैशाखमा दूरसञ्चार प्राधिकरण र यूटिएलबीच सम्झौता भएको थियो । जसका लागि यूटिएललाई ग्रामीण दूरसञ्चार कोषबाट दुई अर्ब एक करोड रुपैयाँ दिइएको थियो । यूटीएलसँग सम्झौता रद्ध भएपछि उक्त दुई प्रदेशमा अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ । 

त्यसैगरी, स्मार्ट टेलिकमले प्रदेश ६ र ७ मा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिच्छाउने जिम्मा पाएपनि उसको काम पनि सुस्त गतिमा छ । स्मार्टले तीन अर्ब ९४ लाख रुपैयाँमा सो कामको जिम्मा लिएको छ । 

नेपाल टेलिकमले प्रदेश नम्बर १, २ र ३ मा पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ । गुणस्तरीय इन्टरनेटको पहुँच विस्तारका लागि सरकारले देशभर अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको हो । 


चन्द्रमामा रोबोटिक अन्तरिक्ष यान अवतरण

चन्द्रमामा रोबोटिक अन्तरिक्ष यान अवतरण


काठमाडौं, पुस २० । चीनले पहिलो पटक चन्द्रमाको टाढाको भागमा रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको छ । बेइजिङको स्थानीय समयानुसार बिहीबार बिहान १० बजेर २६ मिनेटमा मानवरहित ‘चांग ई–४’ यान चन्द्रमाको दक्षिणी ध्रुव एइटकेन घाँटीमा अवतरण गरेको हो । चन्द्रमाको परको भाग अर्थात् पृथ्वीबाट नदेखिने क्षेत्रबारे हालसम्म कुनै अध्ययन भएको छैन ।
चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरूले यानको सहयोगले उक्त क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन गरिनेछ । साथै यानले एक जैविक प्रयोग गर्न चाहिने उपकरणसमेत साथमा लगेको छ । यानको अवतरणलाई अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोसेढुंगाका रूपमा लिइएको छ ।
यसअघि चन्द्रमाको पृथ्वीतर्फ फर्किएको क्षेत्रमा मात्र यानहरू अवतरण गरिएका थिए । हालैका वर्षहरूमा भने चन्द्रमामा कुनै पनि यान अवतरण भएका छैनन । यस पटक पहिले अध्ययन नगरिएको टाढाको क्षेत्रमा यान पुगेको हो । चन्द्रमाको नजिकको र टाढाको भागमा धेरै अन्तर भएको बताइन्छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा गत साता नै उत्रेको जनाएका थिए । चन्द्रमाको टाढाको क्षेत्रमा अवतरण गर्ने लक्ष्यका साथ पठाइएका कारण यसलाई जोखिमपूर्ण तथा जटिल मानिएको थियो । ‘चांग ई–४’ ले पठाएको सतहको तस्बिर चीनको सरकारी सञ्चारमाध्यमहरुले सार्वजनिकसमेत गरेका  छन् । यानसँग प्रत्यक्ष सम्पर्क स्थापित नभएपछि ती तस्बिरहरू नजिकैको भू–उपग्रहमार्फत पृथ्वीमा प्राप्त भएको हो ।
यसअघि चाइन विश्वविद्यालयका लङ सियावले ‘चन्द्रमाको परको क्षेत्रबाट पृथ्वीको दृश्य नदेखिने भएकाले सञ्चार चुनौती सामना गर्नुपर्ने’ बताएका थिए । चिनियाँ अधिकारीका अनुसार उक्त यानले चन्द्रमाका चट्टान तथा धूलोका नमुना संकलन गरी पृथ्वीमा ल्याउनेछ । सन् २०१३ मा ‘चांग ई–३’ यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो ।
क्यालिफोर्निया इस्न्टिच्युट अफ टेक्नोलजीका खगोल शास्त्री ये कुआन्जीले भने, ‘अन्य अन्तरिक्ष शक्तिहरूले हालसम्म नगरेको प्रयास चीनले गरेको हो ।’ गत डिसेम्बर ७ मा सिचाङ भूउपग्रह केन्द्रबाट पठाइएको ‘चांग ई–४’ यान डिसेम्बर १२ मा चन्द्रमाको सतहमा पुगेको थियो । ‘चांग ई ४’ को मद्दतले भन कार्मन क्रेटरको समेत अध्ययन गरिने जनाइएको छ । उक्त क्रेटर (खाल्डो) चन्द्रमाको सुरुवाती इतिहासमा कुनै विशाल घटनाका कारण बनेको अनुमान गरिएको छ ।
सामान्यत हामीले पृथ्वीबाट चन्द्रमाको एक पाटो मात्र देख्न सक्छौं । चन्द्रमाले आफ्नो अक्षमा घुम्दा लाग्ने समय र उसले पृथ्वीको एक परिक्रमा गर्न लाग्ने समय अवधि एकै हुने भएकाले हामीले पृथ्वीबाट चन्द्रमाको अर्को पाटो देख्न नसकिएको हो । चन्द्रमाको परको क्षेत्रलाई ‘अँध्यारो पाटो’ अर्थात् नदेखिने पाटोसमेत भनिन्छ । तर दिन र रात भने चन्द्रमाका दुवै पाटामा हुन्छ ।

 


मंगल ग्रहमा 'इन्साइट' रोबोटको सफल अवतरणपछि नासामा हर्षोल्लास

मंगल ग्रहमा 'इन्साइट' रोबोटको सफल अवतरणपछि नासामा हर्षोल्लास


अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मङ्गल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एउटा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ।

‘इन्साइट’नाम दिइएको अन्तरिक्षयानले निकै जोखिमपूर्वक सो रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघण्टा २० हजार किलोमिटरसम्मको गतिमा उडेको थियो।

सो रोबोटजडित यानको सहायताले मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ। त्यो सफल भएमा मङ्गल ग्रह पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ। इन्साइट रोबोटले ग्रेनिच समयानुसार १९ः५३ बजे मङ्गल ग्रहमा अवतरण गरेको थियो।

अवतरण गर्दा इन्साइट रोबोटले उद्विग्न भएर प्रतीक्षा गरिरहेका वैज्ञानिकहरूलाई शृङ्खलाबद्ध रूपमा सूचना पठाएको थियो।

मङ्गल ग्रहमा इन्साइटले सफलतापूर्वक अवतरण गरेको र त्यो सकुशल रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले हर्षोल्लास गरेका थिए।
‘इन्साइट’का परियोजना प्रमुख टम होफ्म्यानले अन्तरिक्षयान अवतरण गर्ने बेला आफ्नो सासै रोकिएला जस्तो लागेको प्रतिक्रिया दिए।

‘यो एकदमै अविश्वसनीय रूपमा भावुक बनाउने क्षण थियो। म र यहाँ भएका हामी सबैजसो व्यक्ति सात वर्षदेखि यो काममा लागिरहेका छौँ। इन्साइट अवतरण गर्ने सात मिनेटको अवधिमा त मेरो मुटु नै रोकिए जस्तो भयो।’ 

अवतरण भएलगत्तै त्यो अन्तरिक्ष यानले मङ्गलग्रहको सतहको आफ्नो पहिलो तस्बिर पठाइसकेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वैज्ञानिकहरूलाई बधाई दिएको बताइएको छ।
इन्साइट रोबोट यतिबेला मङ्गल ग्रहको भूमध्यरेखानजिक रहेको फराकिलो समथर भूभाग एलिसियम प्लानिसियामा रहेको बताइएको छ। अवतरण गर्नुअघि इन्साइट २० हजार किलोमिटर प्रतिघण्टा सम्मको गतिमा उडेको थियो।
त्यो यान प्याराशुट र रेट्रो रकेटको सहयताले उत्रिएको थियो।
त्यसमा भूकम्प र जमिनमुनिको तापक्रम नाप्ने कैयौँ युरोपेली उपकरणहरू समेत रहेका छन्।

साभार÷बीबीसी


बाढीपीडितको उद्धार र राहतमा सामाजिक सञ्जाल

बाढीपीडितको उद्धार र राहतमा सामाजिक सञ्जाल

भदौ १२, २०७४

काठमाडौं: सामाजिक सञ्जालमा अहिले फोटोपत्रकार नरेन्द्र श्रेष्ठले खिचेको एउटा तस्बिरले राम्रै चर्चा पाएको छ। तस्बिरमा बाढीका कारण मृत्युवरण गर्न बाध्य आठ वर्षीय भतिजालाई काकाले कोसीमा बगाउँदै गरेको देखिन्छ। बाढीले सबै ठाउँ जलमग्न भएर जलाउने/पुर्ने ठाउँ नभएपछि काकाले भतिजालाई कोसीमा बगाएका हुन्।

जोसुकैलाई मर्माहत गराउने उक्त तस्बिर अहिले तराईमा बाढीपीडितले बेहोर्नुपरेको वास्तविकता बुझाउन पर्याप्त छ। सामाजिक सञ्जालमै नरेन्द्रको अर्को तस्बिर पनि भाइरल बनेको छ। तस्बिरमा बाढीप्रभावित एक युवकको आधाभन्दा बढी शरीर पानीमा डुबेको छ। तर पनि उनले काँधमा खसी बोकेका छन् भने एक हातले गाईसमेत डोर्याइरहेका छन्।

बाढीपीडितका यस्ता दर्जनौं तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्। यी तस्बिरले बाढीप्रभावित हजारौं पीडितको पीडा व्यक्त गरिरहेका छन् । यी तस्बिरले देशविदेशबाट ‘सेन्टिमेन्ट' बटुलिरहेका छन्।

बढीपीडितका तस्बिर मात्र होइन, उनीहरूका दुःखपीडा समेटिएका भिडियो पनि उत्तिकै भाइरल बनेका छन्। अहिले बाढी आइरहँदा सेल्फी खिचेर पोस्ट गर्ने जमात पनि उत्तिकै छ। सामाजिक सञ्जालमा पोस्ट भएका फोटो र भिडियोले सरकारलाई उद्धार तथा राहतका लागि दबाब दिएका छन् नै, नेता, कलाकार, सर्वसाधारण सबैलाई उद्धार एवं राहतका लागि जुट्नसमेत दबाब सिर्जना गरेका छन्।

फोटो र भिडियोमार्फत पोखिएका पीडाले सामाजिक सञ्जाल अहिले शोकमग्न लाग्छ। समवेदना एवं राहतका लागि आह्वान, सहयोग प्रकट र गुनासाले सामाजिक सञ्जाल भरिएका छन्। ‘बाढीको त्रासदीबाट प्रभावितलाई बचाउन उद्धार तथा राहतमा सबै जुटौं, सँगै जुटौं, सधैं जुटौं र अहिल्यै जुटौं'भन्ने भाव सामाजिक सञ्जालमा यत्रतत्र छन्। सामाजिक सञ्जालमार्फत नै बाढीपीडितको नाममा सहयोग गर्नेदेखि समूह बनाएर उद्धारका लागि खटिने पनि धेरै छन्।

दुई वर्षअघि आएको भूकम्प र लगत्तैको भारतीय नाकाबन्दीको समयमा पनि सामाजिक सञ्जाल पीडाले भरिएको थियो । सो समयमा सामाजिक सञ्जालबाटै सहयोग घोषणा गर्ने, सहयोगका लागि अपील गर्ने गरिएको थियो। यसले प्रभावितलाई ठूलै राहत पनि दिएको थियो। हुन त अन्य विपत्तिमा पनि सामाजिक सञ्जालबाट सहयोगका लागि अपिल गरिँदै आएको छ। तर भूकम्प र नाकाबन्दीको समयमा सहयोग जुटाउन सामाजिक सञ्जाल प्रयोगकर्ता निकै सक्रिय देखिएका थिए। सोही समयदेखि पीडितको पीडामा मल्हम लगाउन सामाजिक सञ्जालको प्रयोग बढेको हो।

सामाजिक सञ्जाल नभएको भए उद्धार कार्य यति सहज नहुने कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान महासंघ)का अध्यक्ष विनोद ढकालको भनाइ छ। यसले सामाजिक सञ्जालमा मानिसको पहुँचलाई पनि दर्साएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि पर्याप्त सहयोग जुटेको उनले बताए। सामाजिक सञ्जालमार्फत कलाकारदेखि आममानिसले पनि सहयोगको घोषणा गरेको उनको भनाइ छ।


सहयोगको एउटा उदाहरण सामाजिक सञ्जालमा चर्चामा रहेको ‘भरिएको बाल्टिन'हो। पूर्वस्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेता गगन थापाले आफ्नो ट्विटरमा भिडियोसहितको सहयोग अपील गर्दै ‘भरिएको बाल्टिन'कार्यक्रम अघि बढाएका छन्। उक्त बाल्टिनमा एउटा म्याट, कम्बल, त्रिपाल, लता कपडा, खाद्यान्न, औषधि, पीयूष, टर्चलाइट र एउटा मग हुनेछ। यो एक बाल्टिन पीडित परिवारलाई प्रदान गरिनेछ। यसका अतिरिक्त साधारण रूपमा लत्ताकपडा, औषधि, आर्थिकलगायत सहयोग लिएर जाने मानिस, संघसंस्था पनि बढ्दैछन्।

बाढीपीडितका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपीलसमेत गरेका छन्। उनले पनि ट्विटरमा भिडियो सार्वजनिक गर्दै केही दिनदेखि अविरल परेको वर्षाका कारण तराई र भित्री मधेससहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले भएको धनजनको क्षतिबाट आफू मर्माहित भएको उल्लेख गरेका छन्।

यस दुःखद घडीमा बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन्। ‘मैले बाढीपहिरोको चपेटामा परेकालाई उद्धार, स्थानान्तरण एवं राहत उपलब्ध गराउन स्थानीय प्रशासनलगायत सरकारका सम्पूर्ण निकाय परिचालन गर्न निर्देशन दिएको छु', प्रधानमन्त्री देउवाले भिडियोमा भनेका छन्, ‘उद्धारका लागि सबै सुरक्षा निकाय प्रभावित क्षेत्रमा खटिइसकेका छन्। यो विपद्को घडीमा सबैलाई उद्धार तथा राहतका लागि एकजुट हुन अपील गर्छु।'

सामाजिक सञ्जालमार्फत अन्य पार्टीका नेताले पनि सहयोग तथा उद्धारमा जुट्न अपील गरेको पाइएको छ। एमाले युवा नेता योगेश भट्टराईले पार्टीले गरेको निर्णय सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

विपत्तिमा परेका दिदीबहिनी तथा दाजुभाइको उद्धार, सहयोग तथा राहतमा जुट्न उनले आह्वान गरेका छन्। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, कांग्रेस सांसद उदयशमशेर राणा, परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायतले पनि सामाजिक सञ्जालमार्फत सहयोग र एकजुट हुन अपील गरेका छन्। यसले सामाजिक सञ्जालको महत्व र प्रयोगलाई पनि दर्साएको छ।


टेलिकमद्वारा कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज

टेलिकमद्वारा कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज

भदौ १२, २०७४

काठमाडौँ: नेपाल टेलिकमले जिएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि पहिलेदेखि नै उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सियुजी) सुविधालाई रिप्याकेज गर्नाका साथै नयाँ महसुल दरसमेत निर्धारण गरेको छ।

यो सुविधा आजदेखि आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ। 'अब सियुजी सुविधा प्रयोग गरी एउटै सियुजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्नेछन्, साथै कर्पोरेट युजर ग्रुपबाहेक नेपाल टेलिकमकै नेटवर्कभित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइनेछ”, टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी करसहित चार सय, सात सय, एक हजार, एक हजार तीन सय र एक हजार ६०० रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराएको छ।

सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ। यसअन्तर्गत सियुजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइनेछ।

त्यसैगरी, ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिनेछ।योबाहेक एक हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र एक हजार ५०० एमबी डाटा चलाउन, एक हजार ३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र दुई हजार एक सय एमबी डाटा चलाउन तथा एक हजार ६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र दुई हजार सात सय एमबी डाटा चलाउन पाइनेछ। सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिनेछ।

जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो। कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्नेछन्।

कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियुजी प्याकेज उपलब्ध गराइनेछ। कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ। रासस