14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


नयाँ वर्ष २०८१ सुरु

नयाँ वर्ष २०८१ सुरु


काठमाडौं । विक्रम संवतकाे पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष लागेकाे छ। हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरूले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।


नयाँ भूमि आयोग गठन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश

नयाँ भूमि आयोग गठन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश


काठमाडौं, ३० चैत । सर्वोच्च अदालतले नयाँ भूमि आयोग गठन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।


सर्वोच्चको आदेशमा भनिएको छ, ‘अर्को भूमि आयोग वा जिल्ला समिति गठन नगर्नु नगराउनु र आयोग र समितिका स्रोत साधन, भौतिक सम्पत्ति र कागजातहरू सुरक्षित रूपमा यथास्थितिमा राख्नु राख्न लगाउनु भनी यस अदालतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्च अदालत नियमावलीको नियम ४९ (२) (क) बमोजिम निरन्तरता प्रदान गरिएको छ ।’

सर्वोच्चको एकल इजलासले आयोग खारेज गर्नुको कारण माग्दै नयाँ आयोग बनाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

शुक्रबार संयुक्त इजलासमा सहन्यायाधिवक्ता सूर्यराज दाहालले मन्त्रिपरिषद्को निर्णय पेश गरेका थिए । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या अपेक्षित रूपमा समाधान हुन नसकेको भनेर प्रस्तावमा उल्लेखसम्म गरेको तर के कस्तो तथ्य वा तथ्यांकका आधारमा सो कुरा भनिएको हो भन्ने प्रष्ट नभएको भन्दै प्रश्न गरिएको छ ।

चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्दै अर्को बनाउने निर्णय गरेपछि सर्वाेच्चमा रिट दायर भएको थियो ।


ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने

ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने


काठमाडौं, २९ चैत । नयाँ वर्ष २०८१ सालदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने भएको छ ।
बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने जनाएका छन् ।
गृहमन्त्री रवि लामिछानेको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ घण्टै व्यवसाय सञ्चालन गराउन चालेको कदम सकारात्मक भएको परिषद् र बोर्डले बताएको छ ।

ठमेलको भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान् बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।
 


सर्वोच्चले भन्यो,‘गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्नु’

सर्वोच्चले भन्यो,‘गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्नु’


काठमाडौं, २८ चैत ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अधिकारीको नियुक्ति बदर माग गर्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलाशले गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ वैशाख १० गतेका लागि पेसी तोकिएको छ ।

सभामुखसमेतको हस्ताक्षर देखाएर बहुमत दाबी गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा नेपाल कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए।
 


सरकारले बिहीबार दियो सार्वजनिक बिदा 

सरकारले बिहीबार दियो सार्वजनिक बिदा 


काठमाडौं, २८ चैत ।  सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

“मिति २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।


विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बन्यो काठमाडौं

विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बन्यो काठमाडौं


काठमाडौं, २८ चैत । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । यहाँको वायुको प्रदुषणको मापन हेर्दा काठमाडौं आपतकालीन अवस्थाको रजिकै रहेको पाइएको छ ।
वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ ।

एअर क्वालिटी इन्डेक्समा १५० सम्मको एयर क्वालिटीलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ । झण्डै ३०० पुगेको काठमाडौंको वायु जुनसुकै बेला आपतकालीन अवस्थामा पुग्ने मौसमविहरु ब्ताउछन् ।

अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ । भर्खरै झरि रोकिएको र जाडो सकिएर गर्मी सुरु भएकाले धुलो उड्ने र डढेलो लाग्ने मौसम सुरु हुने अवस्था छ ।

काठमाडौंपछि दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ । अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।


नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)

नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)


काठमाडौं,२३ चैत । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार राती बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।


पूर्वन्यायाधीश गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्

पूर्वन्यायाधीश गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्


काठमाडौं, २१ चैत । पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्। आरतीले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी हुन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्।


 


सरकारका १० सचिवको सरुवा

सरकारका १० सचिवको सरुवा


काठमाडौं, १९ चैत । सरकारका सचिवहरूको व्यापक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० सचिवको सरुवा गरेको हो ।

सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन् भने मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । 

त्यसैगरी उद्योगमा रहेका नारायणप्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् ।

त्यसैगरी बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै ऊर्जामा कार्यरत सचिव गोपालप्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने सिँचाइका सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा सारिएको छ ।
 


वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा


काठमाडौं,१९ चैत । ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घूसहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

लेखापाल निरौलालाई सेवाग्रहीबाट १५ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियारको टोलीले गत फागुन २९ गते नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि उनको कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको थियो ।

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घूस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिई गएको टोलीले लेखापाल निरौलालाई नियन्त्रणमा लिएको थियो ।