13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


काठमाडौंमा नचलेको फ्रिजबाट एन्टि रेविज भ्याक्सिन जफत 

काठमाडौंमा नचलेको फ्रिजबाट एन्टि रेविज भ्याक्सिन जफत 


काठमाडौं, १८ फागुन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधि पसल अनुगमन गर्दा कुनैले  पनि आधारभूत मापदण्ड पालना गरेको भेटिएन । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं. १, २ र ३ को धेरै र अन्य वडामा विभिन्न ठाउँमा गरेर अनुगमन गरिएको हो ।
वडा नं. १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइयो । यसरी भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरियो । प्राणघातक रोेग रेविजविरुद्ध लगाइने एन्टिरेविज खोपमा गरिएको यो लापर्वाही गम्भीर प्रकृतिको हो । रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नमिलेको भेटियो । यस्ता समस्या आम रुपमा भेटिए ।   
‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भन्नुभयो, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’  

फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार औषधि पसलमा कुनै पनि खोप नलगाए हुन्छ । औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । औषधि व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन् । बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नं. केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डवल लक हुनु पर्ने, त्यस्तो छैन । उहाँका अनुसार यस्ता समस्या औषधि पसलमा देखिएका साझा समस्या हुन् । यस्तै हरेकका छुट्टाछुट्टै समस्या पनि छन् ।

रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि पाइयो । सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि विक्री गरेको पाइयो । रोयल गन्तव्य हेल्थ केयर प्रा. लि. घट्टेकुलोको औषधि पसलमा व्यक्ति व्यक्तिको प्रमाण पत्र थिएन ।

अनामनगरको रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिए । फ्रिजको सफाइ थिएन ।

अनुगमनका क्रममा भेटिएका यी केही प्रतिनिधि अवस्था हुन् । यी र यस्ता समस्या सबै जसोमा छन् । यो खराव अवस्था हो । राम्रो औषधि पसल चाहिँ कति भेटिए, प्रश्नको जवाफमा अनुगमन संयोजक श्रेष्ठ भन्नुहुन्छ, ‘नाम नै लिनु पर्ने गरीका कुनै भेटिएनन् । एक दुई वटा सामान्य देखिए ।’

औषधि पसलहरुको यो प्रवृत्ति र अवस्थामा तत्काल सुधारको खाँचो छ ।  


मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन


काठमाडौं, १६ फागुन । मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्ष विहीन भएको छ। मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो।

वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए।
 


निजगढ विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो 

निजगढ विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो 


काठमाडौं, १५ फागुन । बाराको निजगढमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। विस्फोटमा ६ जना घाइते भएका थिए। 

निजगढ नगरपालिका ७ मा रहेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार विस्फोट भएको थियो। उक्त वर्कसप रेशम मगरले सञ्चालन गरेका थिए।

वर्कसप सञ्चालक मगर र भारतका राकेश जैसवालको पनि उपचारकै क्रममा बयोधा अस्पतालमासोमबार मृत्यु भएको थियो।

अहिले घाइतेको उपचार भइरहेको छ। प्रहरीले जनाए अनुसार कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।


भजन शिरोमणि भक्तराज आचार्यको निधन 

भजन शिरोमणि भक्तराज आचार्यको निधन 


काठमाडौं, १४ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज (सोमबार) ८२ वर्षको उमेरमा निधन भएको छ । अपराह्न ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको अपराह्न साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा निधन भएको हो। उनको पार्थिव शरीर भोलि (मंगलबार) बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका राखिने तयारी गरिएको छ। साथै उनको बिदाइ राष्ट्रिय सम्मानका साथ गर्ने बताइएको छ।
 


डलर साट्ने बहानामा ठगी गरेको आरोपमा तीनजना पक्राउ

डलर साट्ने बहानामा ठगी गरेको आरोपमा तीनजना पक्राउ


काठमाडौं, १३ फागुन । विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। उनीहरुले सस्तो दरमा डलर मिलाई दिन्छौं भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रूपैयाँ ठगी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सो कार्यमा संलग्न मुख्य योजनाकारको रुपमा रहेका सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ गाती घर भएका राम बहादुर तामाङ सहित ३ जना प्रहरी टोलिले फागुन १२ गते पक्राउ गरेको हो।

उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोकबाट ७१ रुपैयाँ अमेरीकी डलर ६०७ सहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

साथै डलर ठगी कार्यमा डलर मिलाई दिने ब्यक्ति (फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक) शंकर रेग्मीको साथ बाट ३ लाख ६ हजार ५०० र अमेरीकन डलर ५८३ लगायत अन्य विदेशी मुद्राहरू बरामद गरिएको प्रहरीको भनाई छ।


पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–४ बस्ने वर्ष ६० को रामबहादुर तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर–१ बस्ने वर्ष ५१ को बिबि तामाङ र रौतहटको चन्द्रपुर नगरपालिका–७ घर भई हाल गल्कुपाखा बस्ने वर्ष ३७ को (फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक) शंकर रेग्मी रहेका छन्।

निजहरु विगत १० वर्षदेखि डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ। यस्तै, ठगी गरको रकम विभिन्न सहकारीमा फिक्सड डिपोजिट गरी राख्ने गरको र केही रकम मिटरब्याजमा लगानी गर्ने गरको पाईएको छ।

निजहरु आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी ठगी कार्य गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।


२८ बिघा १७ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिको नाममा, १८७ विरुद्ध भ्रष्टाचार मुद्दा  

२८ बिघा १७ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिको नाममा, १८७ विरुद्ध भ्रष्टाचार मुद्दा  


काठमाडौं, १३ फागुन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना प्रकरणमा नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १८७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

माओवादी नेता रेवतराज पुरी (गगन पुरी) उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत र नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायीलगायतका विचौलिया पनि भ्रष्टाचारमा तानिएका छन्। नेता पुरीविरुद्ध अख्तियारले कुल ९ करोड रुपैयाँ भन्दा बढी बिगो माग गरेको छ।

जग्गा हिनामिना प्रकरणमा नापी कार्यालय चन्द्रगढीका तत्कालिन ९ जना कर्मचारी समेत मुछिएका छन्। अख्तियारले सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ता प्रक्रियामार्फत २८ बिघा १७ कठ्ठा १३ धुर अर्थात ३८४ रोपनी ८ आना १ दाम व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको तथ्य अनुसन्धानबाट फेला पारेको छ। ती जग्गाहरूको न्यूनतम् मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसा हुन आएको दाबी अख्तियारको छ। 

झापास्थित दमक नगरपालिका वडा नं. १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) का जग्गाहरू कि.नं.७६०.१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ग र दमक ५ ख बीचको मार्जिनका जग्गाहरू स्वबासी प्रक्रियाबाट व्यक्तिको नाममा लगेको अभियोगपत्रमा जनाइएको छ।

अभियोग पत्र अनुसार जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५) बाट समेत साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्नेमा व्यक्तिको नाममा लागिएको पाइएको छ। 

सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट जम्मा क्षेत्रफल १८ बिघा १७ कठ्ठा १३ धुर) अर्थात् ३८४ रोपनी ८ आना १ दाम व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको अख्तियारले जनाएको छ। २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएका ती जग्गा नापी कार्यालय, चन्द्रगढीबाट पुनः नापीका क्रममा विभिन्न व्यक्तिहरूको नाममा स्वबासी प्रक्रियाबाट जग्गादर्ता गरिएको थियो। 


आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान

आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान


काठमाडौं, १३ फागुन । दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु  भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो ।राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।
पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ ।
यो अभियान मार्फत ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट खोपको मात्रा प्रदान गरिने भएको छ ।
 


नापी सर्भेक्षक यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी सर्भेक्षक यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, ११ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नापी सर्भेक्षक रामवीर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारी त्यसैगरी मालपोत कार्यालय, ललितपुरका नायब सुब्बा प्रदीप पौडेल तथा लेखापढी व्यवसायी आशिषराज बस्नेत विरुद्ध मुद्दा दायर गरको हो।

गत माघ ९ गते अख्तियार टोलीले सर्भेक्षक यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाई दिएवापत घुसररिसवत दुई लाख ५० हजार रुपैयाँ माग गरेको पाइएको थियो। माग गरेको घुस रकममध्ये जग्गा कित्ताकाट गर्नेरगराउने प्रयोजनको लागि एक लाख ५० हजार रुपैयाँ रकम विचौलिया विनोद अधिकारीलाई लिन लगाएका आयोगले जनाएको छ।

अख्तियारले पाँचै जनाले आपसी मिलोमतोमा जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाउनरबनाई दिएवापत घुसररिसवत लिए लिन लगाएको पुष्टि भएको जनाएको छ। उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुरमा बिगो, कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।

सर्वेक्षक यादवविरुद्ध २ लाख ५० हजार, बिचौलिया अधिकारीविरूद्ध १ लाख ५० हजार, मालपोतका नायव सुब्बा पौडेलविरुद्ध १ लाख रुपैयाँ तथा लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढी काम गर्ने दिनेश बन्जाराविरूद्ध १ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको छ ।


त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद


काठमाडौं, १० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ। अपरान्ह ४ बजेतिर कतारबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नागरिकले करिब एक किलो सुन ल्याएका थिए।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, दुई वटा पाइण्टको भित्रपट्टी लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको थियो। पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका छन्।

दुई दिन अघि पनि विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिक पक्राउ परेका थिए।


एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक


काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ। प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको महानगरको टोलीले अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अवलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो।

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे सुधारका सुझाव दिएर महानगरले पत्र पठाएको थियो। महानगरका अनुसार पत्रबाट गर्नु भनेका कामहरू अहिलेसम्म पनि भएका छैनन्। 

‘अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत ख्याल गरिएको छैन, संकलित फोहोर भण्डारण व्यवस्थापन भएको छैन, संक्रमणयुक्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्न नै कठिन छ, भएको मेसिन पनि चलेको छैन, यस प्रकारको लापरवाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको हो,’ अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भने।

उनले स्वास्थ्यसंस्थाजन्य हानीकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्ने बताए। ‘यसकारण अस्पतालबाट निस्कने हानीकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकारिँदैन,’ उनले भने।

अस्पतालको फोहोर व्यवस्थापन अभ्यासको विश्लेषण गर्दै परियारले सामान्यतया निजी अस्पतालहरूको सेवा राम्रो भन्ने गरिन्छ, फोहोर व्यवस्थापनको अभ्यास हेर्दा निजीलेभन्दा सरकारी अस्पतालले राम्ररी काम गरेको पाइएको बताए।

‘सरकारीले नै राम्रो गर्नुपर्ने हो, गरिरहेको देखियो,’ उनले भने, ‘गलत गर्नेलाई सरकारी नै भए पनि कारबाहीको दायरामा ल्याइएको छ।’

महानगरपालिकाले यसअघिको अनुगमनबाट महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘हानीकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारवाही फुक्का हुन्छ।’

आज नै मीनभवनस्थित सिभिल अस्पतालको पनि अनुगमन गरिएको छ।

अस्पताल फोहोर संकलनका लागि राखिएका सबैजसो बाल्टिन काला रङ्गका छन्। बिर्कोहरू हरियो, पहेँलो, नीलो राखिएको छ।

अनुगमन समितिको रंग संकेतका बारेमा सोध्दा राष्ट्रिय मापदण्ड कार्यान्वयनमा आउनुअघि नै विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयनमा ल्याएकाले यस्तो भएको अस्पतालले जानकारी दिएको महानगरपालिकाले जनाएको छ।