07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान


काठमाडौं, २७ चैत । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिह्न समेत प्रदान गरेको छ ।

आयोगका अनुसार इलाम-२ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईं रहेका छन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न समेत प्रदान गरिएको जनाएको छ ।


त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।

बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन । इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।
 


बाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

बाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत


काठमाडौं,१९ चैत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ भने विपक्षमा ३७ मत खसेको छ । सभाका १५ जना सांसद तटस्थ रहेका थिए । ११० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा १०८ सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले बहुमत समर्थन पाएका छन् ।

उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको मत दिएका छन् । २०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ माघ ३ गते पहिलोपटक र २०७९ चैत १० गते दोस्रोपटक विश्वासको मत पाएका थिए ।
 


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय


काठमाडौं, १४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले दिएको जानकारीअनुसार संघमा रहेको गठबन्धनलाई निरन्तरता दिने भएपछि प्रदेशमा पनि त्यहीँ अनुरुप पार्टी अघि बढ्ने छ । 
 पार्टीको आज टीकापुरमा अध्यक्ष श्रेष्ठको नेतृत्वमा बैठक बसेको थियो । बैठकले सो निर्णय गरेको उनले जानकारी दिइन् । सुदूरपश्चिममा कमलबहादुर शाह नेतृत्वको कांग्रेसको सरकार छ । 


मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौं, ९ चैत । सरकारले मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । ३ महिनाभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआईजी पुस्कर कार्की र चार्टर्ड एकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरिएको छ ।

बैठकले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गर्न बैठकले स्वीकृति दिएको छ । राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिएकी छन् ।

 


कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं, ९ चैत । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

पत्रमा भनिएको छ, 'मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिदेखि सो समर्थन फिर्ता लिइएको बेहोरा जानकारीको लागि अनुरोध छ ।'

केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराएका थिए ।
 


उपनिर्वाचन कार्यतालिका : आजदेखि मतदाता नामावली अद्यावधिक

उपनिर्वाचन कार्यतालिका : आजदेखि मतदाता नामावली अद्यावधिक


काठमाडौं, १६ फागुन । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको छ ।

दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 

चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।


प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय


काठमाडौं, २६ माघ ।  सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो ।

२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।


अहिले नेपाली कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।


रास्वपाको दबाब यात्रा आजदेखि, २१ वटा पूर्वाधारका आयोजनामा पुग्ने लक्ष्य

रास्वपाको दबाब यात्रा आजदेखि, २१ वटा पूर्वाधारका आयोजनामा पुग्ने लक्ष्य


काठमाडौं, २१ माघ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशव्यापी रुपमा दबाब अभियान सञ्चालन गर्दैछ। 
दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले आइतबार बिहान साढे १० बजे सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने कार्यक्रम छ। 

राष्ट्रिय गौरवका आयोजनामा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको विरोधमा रास्वपाले दबाब अभियान सञ्चालन गर्न लागेको हो।

देशका रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित दवाव अभियान सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ। 
अभियानको क्रममा देशभरी सञ्चालनमा रहेका २१ वटा आयोजनामा रास्वपाका नेताहरु पुग्नेछन्। सभापति रवी लामिछानेसँगै सबै सांसद दबाब अभियानमा खटिनेछन्। आज हुने सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको नेतृत्व सांसद सोभिता गौतमले गर्ने तय भएको छ।

मेलम्ची खानेपानी आयोजनाको काम यथाशीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले मेलम्चिबाट अभियानको प्रारम्भ गर्न लागिएको जनाएको छ। 

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ। यसअघि पनि रास्वपाले नारायणगढदेखि बुटवलसम्म ’दबाब यात्रा’ गरेको थियो।

मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले जानकारी दिए। पदयात्राका क्रममा  स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने रास्वपाले जनाएको।
 
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाका नेताहरुले बताएका छन्। 


इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह

इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह


एजेन्सी । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेका छन् । उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका साउदीको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलले जनाएको छ ।

उनीहरू दुवैले गाजापट्टीमा युद्धविराम गर्न आह्वान गरे । इजरायलले गाजाको मानवीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)को निर्णयलाई अस्वीकार गरेकामा उनले अन्तर्राष्ट्रिय मानवीय कानुनहरू इजरायलमा जस्तै अरूलाई लागु हुनुपर्नेमा जोड दिए ।
 


प्रधानमन्त्री स्वदेश फिर्ता, युगान्डा भ्रमण सफल रहेको भनाइ

प्रधानमन्त्री स्वदेश फिर्ता, युगान्डा भ्रमण सफल रहेको भनाइ


काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा भ्रमण सकेर आज काठमाडौँ आइपुगेका छन्। युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनमा सहभागी भएर आज बिहान मात्रै कतार एयरवेजबाट दोहा हुँदै काठमाडौँ आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कम्पाला भ्रमणबारे जानकारी गराए।
उनले असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्ने भन्दै असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा  मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्त रहेको उल्लेख गरे।

कोभिड महामारीपश्चात् आर्थिक पुनरोत्थानले यथोचित गति लिन नसकेको भन्दै उनले  सन् २०१९ मा बाकुमा भएको १८औं सम्मेलनयता कोभिड–१९ को कारण विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको तथा हाल बढिरहेको भू–राजनीतिक ध्रुवीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशील राष्ट्रहरू थप मारमा परिरहेको विषयमा चिन्ता व्यक्त गरे।

त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनालाई विकासोन्मुख मुलुकहरूको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको बताए।