05 Baishak, 2081 / 17 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै


काठमाडौं, १९ जेठ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

हिजोको बैठकले स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुबारे कुनै निर्णय लिएन । बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको थियो । आज पनि नेताहरुको कारबाहीबारेको एजेन्डा नभएको उनले बताए ।
पछिल्लो समय एमालेको एकता कामय राख्न दुवै पक्षका दोस्रो तहका नेताहरू सघन छलफलमा जुटेका छन्।


जसपा पनि सरकारमा !

जसपा पनि सरकारमा !


जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन ।

‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको छ, आउनुस्, सँगै काम गरौं भन्ने प्रस्ताव उहाँबाट आएको हो,’ कर्णले राजधानीसँग भने, ‘तर, हाम्रो पार्टीमा छलफल भएको छैन । छलफल गरेर भन्छौं भनेका छौं ।’

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोका साथै छलफलमा सरकारले गठन गरेको संविधान संशोधन कार्यदल सदस्यको समेत सहभागिता रहेको छ । कार्यदल सदस्य कर्ण, सुवास नेम्वाङ, राजन भट्टराई र सर्वेन्द्रनाथ शुक्लसमेत छलफलमा सहभागी थिए ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 


न्यायाधीशको निष्‍ठामाथि नै प्रश्न

न्यायाधीशको निष्‍ठामाथि नै प्रश्न


देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको निष्‍ठामाथि प्रश्न उठाउँदा अदालतको गरिमा र त्यसप्रतिको जनआस्था नै धुमिल हुने हो कि भन्ने चिन्ता बढेको छ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा राखिएका दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेपछि अब के होला भन्ने अन्योल बढेको छ। यस्तो विवाद निम्त्याउने कारण अदालत आफैं भएको एक पूर्व न्यायाधीश बताउँछन्। विघटनको मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार नै पेसी तोकिएकाले मंगलबार सुनुवाइ हुँदैछ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास तोकी शुक्रबारदेखि सुनुवाइ शुरु भएको थियो। संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू केसी र श्रेष्ठको विषयमा प्रश्न उठाइएपछि सोमबार पेसी नतोकी मंगलबारका लागि तोकिएको हो ।

यो समाचार आजको नागरिक  दैनिकमा छ । 


वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान

वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान


प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।

गत शुक्रबारबाट संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गरिरहेका अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टिकाराम भट्टराईले न्यायाधीश केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएपछि संवैधानिक इजलास अन्योल बन्न पुगेको छ ।

दुई न्यायाधीश केसी र श्रेष्ठले राजनीतिक मुद्दा जोडेर वकिलहरूले ‘आफूलाई मुद्दा हेर्न नमिल्ने भनेकै आधारमा इजलास नछाड्ने’ जनाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजकुमार केसी र बमकुमार श्रेष्ठ रहेका थिए । इजलास बसेको सुरुमा नेकपा फैसालाको विषयलाई लिएर न्यायाधीश श्रेष्ठमाथि अधिवक्ता गोविन्द बन्दीले ‘इजलासमा बस्न नमिल्ने’ बताएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 


 संसद विघटनप्रति सभामुखको ध्यानाकर्षण  (विज्ञप्तिसहित)

संसद विघटनप्रति सभामुखको ध्यानाकर्षण  (विज्ञप्तिसहित)



८ जेठ ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 
 सभामुख सापकोटाले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्,“यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ ।”     
उनले सर्वोच्च अदालतको फैसलामा भनिएजस्तै ‘अन्य विकल्प हुँदा हुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्वपर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उदेश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन’ उल्लेख भएको स्मरणीय रहेको उल्लेख गरेका छन् ।   
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था नरहेको सभामुखको भनाइ छ ।  

  
 


नयाँ सरकारका लागि राष्ट्रपतिले गरेको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट

नयाँ सरकारका लागि राष्ट्रपतिले गरेको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट


काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्।
अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। 
संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी जारी सूचना गैरसंवैधानिक रहेको उनको रिटमा उल्लेख छ।
 


कहिले घट्ला संक्रमण ?

कहिले घट्ला संक्रमण ?


छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ ।

विज्ञहरूका अनुसार गत वर्ष भारतमा संक्रमण घटेको केही सातामै नेपालमा पनि घट्न थालेको थियो । ‘कोभिड–१९ को सन्दर्भमा भारत र नेपालको टाइमलाइनमा दुईदेखि चार सातासम्मको फरक देखिएको छ,’ काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सकी महामारीविद् डा। अर्चना श्रेष्ठले भनिन्, ‘भारतका विभिन्न ठाउँमा संक्रमण तल जाने क्रम सुरु भइसकेकाले नेपालमा पनि दुईदेखि चार सातामा घट्ने देखिन्छ ।’ उनले भारतमा यसै साता कोभिडको संक्रमण बिस्तारै कम हुनेतर्फ लागेको बताइन् ।

‘भारतमा संक्रमण विस्तार भएको केही सातामै हामीकहाँ पनि त्यस्तै भयो । दुई साताअघि भारतमा अक्सिजनको हाहाकार, अस्पतालमा मृत्युलगायतका खबर आएका थिए, त्यस्तै दृश्य यहाँ अहिले देखिएको छ,’ उनले भनिन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा। जीडी ठाकुरले पनि न्यूनतम एक सातासम्म कोभिडको केस बढ्दै जाने त्यसपछि स्थिर भएर पुनः कम हुन थाल्ने आकलन गरे । भारतमा कोभिडको दोसो लहर मन्द हुन थालेको संकेत देखिएको ईडीसीडीका निर्देशक डा। कृष्णप्रसाद पौडेलले बताए । ‘हामीले पनि जेठ पहिलो सातादेखि संक्रमण घट्न थाल्ने अपेक्षा राखेका छौं । जेठ पहिलो साताको अवस्थाले मुलुक कता जाने हो निर्धारण गर्छ ।’

नेपालमा कोभिड–१९ संक्रमण पछिल्ला तीन सातामा अत्यधिक फैलिएको हो । संक्रमितको तथ्यांक उकालो लाग्न थालेको भने चैत अन्तिमबाट हो । गत चैत २९ मा ३ हजार १ सय २५ नमुनाको पीसीआर गर्दा ९.६९ प्रतिशत अर्थात् ३ सय ३ जनामा संक्रमण देखिएको थियो । चैत २९ देखि एक साता अर्थात् वैशाख ४ गतेसम्ममा ३ हजार ९ सय ६६ नयाँ संक्रमित थपिएका थिए ।

वैशाख ५ देखि ११ गतेसम्ममा १३ हजार ४ सय २९ नयाँ संक्रमित भेटिएका थिए । चैत २९ देखि जेठ १ गतेसम्म १ लाख ६८ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ नमुनाको पीसीआर परीक्षण गर्दा ४४.७७ प्रतिशत अर्थात् ८ हजार ४६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

शुक्रबारको संक्रमण दर ४०.४१ प्रतिशत थियो । वैशाखयता कोभिडले करिब १ हजार ६ सय जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । यो समाचार कान्तिपुर दैनिक छ  ।


भटाभट मर्न थाले कुखरा

भटाभट मर्न थाले कुखरा


कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका  छन् ।  

पछिल्लो  समय  किसानको  खोर नै  रित्तो  हुनेगरी  कुखुरा  मर्न  थालेको  किसानको गुनासो छ । “मेरो  खोरमा  केही  दिनयता  दुई  हजार पाँच सय कुखुरा मरे। डोजर लगाएर गाड्नुको विकल्प  छैन,”  चितवनका एक व्यावसायिक किसान  भन्छन्, “मर्ने  कुखुरामा  दाना  पानी कम खाने, हरियो  दिसा  गर्ने, मुन्टो  बटार्ने, अण्डा कम दिनेजस्ता लक्षण देखिएपछि भटाभट मर्न थालेका छन् ।”

कुखुरामा देखिने यस्ता लक्षण एक प्रकारको सरुवा रोग रानी खेतको भएको विज्ञको भनाइ छ । पछिल्लो  समय चितवनलगायत कुखुरा उत्पादन  बढी हुँदै आएको क्षेत्रका किसान यस्तै  रोगको  समस्यामा  छन् ।  

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा  पनि यसरी मर्ने कुखुरामा रानीखेत भेटिएको प्रयोगशालाका सूचना अधिकारी  पशु  चिकित्सक  इन्दुराय  यादवले जानकारी दिए ।  

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 


निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस

निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस


सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ।  

केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत नियुक्त हुनुपर्ने प्रावधान छ। हालकै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै अग्रसरतामा जारी उक्त निर्देशिका व्यवहारमा भने लागु हुन सकेको छैन।  

सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्। बाँकी नौजना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका हुन्। राजनीतिक सिफारिसमा परेकाहरूमा दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर, बहराइनका लागि युवराज कार्की, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमीत्रा सुवेदी, साउदी अरेबियाका लागि मेराज मुसलमान र रसियाका लागि जंगबहादुर चौहान छन्। उनीहरू सत्तारुढ एमाले निकट रहेको बताइएको छ। राजदूतमा सिफारिस सबै नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइसकिएको छ।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 


नेपालको आँखामा ओली शंकाको घेरामा

नेपालको आँखामा ओली शंकाको घेरामा


सत्तारूढ दल नेकपा (एमाले) आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशंका गर्न थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आशंका गर्न थालिएको हो। 

ओली नेतृत्वको सरकारले वैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढलेको थियो। संसद्मा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढलेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ सरकार बन्न नसक्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ।  

यही बीचमा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन नेपालसँग वैशाख ३० गते साँझ चार घण्टा छलफल गरेका थिए। सो छलफलमा ओलीले एमालेको पुरानो संरचनामा फर्कने र फागुन २८ गते गरेका निर्णयलाई कार्यदल बनाएर विवाद निरूपण गर्ने प्रस्ताव गरेपछि बैठक टुंगिएको थियो। सोही संवादको निरन्तरता स्वरूप ३१ गते दुवै पक्षका नेताहरूबीच सिंहदरबारमा तीन घण्टा छलफल भएको थियो। छलफलमा ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई पनि सहभागी गराएपछि नेपाल पक्षले ओलीको इमानदारितामाथि आशंका गरेको थियो।  

नेपाल पक्षका केन्द्रीय सदस्यहरूले नेपाललाई शनिबारको बैठकमा ओलीले रामबहादुर थापालाई शुक्रबारको बैठकमा सहभागी गराएको विषयमा आपत्ति जनाएका छन्। ओलीले पार्टीभित्र जसरी पनि पेल्ने नीति लिएको बताउँदै सचेत रहन आग्रह गरेका थिए। उनीहरूले थापालाई सहभागी गराएर २०७५ जेठ २ मा फर्कन अस्वीकार गरेको सन्देश दिएको जनाएका थिए।  

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि २०७५ साल जेठ २ गते फर्कन नसक्ने बताइरहेका छन्। त्यही बेला बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठकले ओलीले नै सरकार बनाउने चालबाजीमा लागेको र यसले अल्मल्याउँदै जाने रणनीति लिएको प्रष्ट हुने बताएका थिए। नेपाल पक्षका नेता शनिबार बिहान ११ बजे बैठक बसेको थियो।  यो समाचारनागरिक दैनिकमा छ ।