14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार

एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार


काठमाडौं, १८ असार ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी सांसद हुन नपाउनेगरी कानुन बनाउन प्रस्ताव अघि सारेको छ।  सोमबार बसेको आयोगको बैठकले ‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेस गर्ने निर्णय गरेको हो।

सो विधेयकको मुख्य बुँदाहरू सार्वजनिक गर्दै आयोगले सो व्यवस्था गर्न लागिएको जनाएको छ। 

‘समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भईसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने,’ आयोगले प्रस्तुत गर्ने विधेयकमा उल्लेख छ।

निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा उजुरी परेमा सम्बन्धित अदालतले त्यस्तो मुद्दा छ महिनाभित्र कारवाही र किनारा गर्नुपर्ने पनि व्यवस्था विधेयकमार्फत गरिएको आयोगले जनाएको छ। 


मन्त्रिपरिषदले २०७८ पुस १४ गते सैद्धान्तिक सहमति दिएपछि तयार गरिएको विधेयक तर्जुमा गर्ने क्रममा निर्वाचन सरोकारवालाहरूसँग सातवटै प्रदेश तथा केन्द्रमा छलफल एवम् अन्तरक्रिया गरी सुझाव संकलन गरिएको आयोगले जनाएको छ।

कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्ता उम्मेदवारलाई समर्थन नरहनेगरी मतपत्रमा मतदानको व्यवस्था गर्ने बताएको छ।

यस्ता छन् आयोगले गरेका नयाँ व्यवस्थाहरूः
१.मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य निर्वाचन कार्यालय वा सम्बन्धित स्थानीय तह मार्फत विद्युतीय माध्यमबाट नियमित रूपमा गर्ने।

२.कुनैपनि नेपाली नागरिकले आफू स्थायी बसोबास गरेको वडाको मतदाता नामावलीमा नाम दर्ता हुने गरी कुनै पनि निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सक्ने।

३.मतदाता नामावली तयार गर्ने प्रयोजनको लागि विदेशमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने।

४.निर्वाचन हुने दिन र निर्वाचन प्रचार प्रसारको अवधि विधेयकमा नै किटान गर्ने।

५.उम्मेदवारको योग्यता÷अयोग्यता सम्बन्धी विस्तृत व्यवस्था गरी थप स्पष्ट गरिएको।

६.संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने।

७.प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भईसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने।

८.कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने।

९.राष्ट्रपति वा उपराष्ट्रपति, संघीय संसद, प्रदेश सभा सदस्य र स्थानीय तहको सदस्य पदको निर्वाचनमा निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा उजुरी परेमा सम्बन्धित अदालतले त्यस्तो मुद्दा छ महिनाभित्र कारवाही र किनारा गर्नु पर्ने।

१०.प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारी दिँदा कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार दिनु पर्ने।

११.स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख मध्ये कम्तीमा एक जना महिला उम्मेदवार हुनु पर्ने। एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार दिनु पर्ने एवम् वडा अध्यक्षको पदमा उम्मेदवारी दिँदा सम्बन्धित स्थानीय तहका सम्पूर्ण वडा अध्यक्ष मध्ये कम्तीमा तेत्तीस प्रतिशत महिला उम्मेदवार दिनु पर्ने।

१२.निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र पेश गर्दा सिलबन्दी गरी आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नु पर्ने।

१३.दलित, महिला, तोकिएको अपांगता भएको व्यक्ति, आर्थिक रूपले विपन्न वा लैंगिक तथा यौनिक अल्पसंख्यक, अल्पसंख्यक समुदायको उम्मेदवार भए धरौटी रकममा पचास प्रतिशत छुट हुने।

१४.स्थानीय तहका सदस्यको निर्वाचनको लागि प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदको लागि र वडा अध्यक्ष र वडा सदस्यको लागि दुई छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिने।

१५.प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि निर्वाचन कार्यमा खटिएका कर्मचारी वा सुरक्षाकर्मी, निर्वाचन पर्यवेक्षक, विदेश भ्रमणमा जाने र कुनै व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचार गराई रहेका मतदाताले तोकिएको मतदान केन्द्रमा उपस्थित भई अग्रिम मतदान गर्न सक्ने।

१६.मतदान स्थलमा समेत मतगणना गर्ने व्यवस्था गरिएको।

१७.प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यको पदावधि गणना गर्दा निर्वाचन भएको दिनबाट गणना गरिने।

१८.प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दाखिला गर्ने दिन देखि त्यस्तो सभाको कार्यकाल स्वतः समाप्त भएको मानिने।

१९.स्थानीय तहको सदस्यको निर्वाचनमा उम्मेदवारी दाखिला गर्ने सदस्यको पदावधि निजले उम्मेदवारी दाखिल गरेको दिन देखि स्वतः समाप्त भएको मानिने।

२०.आयोगले निर्वाचन खर्चको सिमा तोक्दा भौगोलिक क्षेत्रको बिकटता वा दुरी, मतदान केन्द्रको संख्या, मतदाताको संख्या र यातायातको साधनको उपलब्धता समेतको आधारमा फरक फरक क्षेत्रमा निर्वाचन खर्चको सिमा फरक फरक हुने गरी तोक्न सक्ने।

२१.उम्मेदवारले निर्वाचनमा खर्च गर्दा मनोनयनपत्रमा उल्लेख गरेको बैंक खातामार्फत खर्च गर्नु पर्ने।

२२.आयोगले विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्ने।

२३.निर्वाचनमा सम्भव भएसम्म स्वदेशी सामग्रीको प्रयोग गर्ने।

२४.कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्तो उम्मेदवारलाई समर्थन नरहने गरी मतपत्रमा मतदानको व्यवस्था (NOTA) गर्ने।

२५.मतपत्र गणना गर्दा कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको मतसंख्या (ल्इत्ब्) त्यस्तो निर्वाचनमा मतदान भएको कूल सदर मतको पचास प्रतिशत भन्दा बढी भएमा त्यस्तो निर्वाचन रद्द हुने।

२६.आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने, मतदानस्थल तथा मतदान केन्द्रको निर्धारणका लागि परामर्श दिने तथा मतदानकेन्द्रको व्यवस्थापनमा सहयोग तथा सहजीकरण गर्ने र निर्वाचन वा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यका लागि स्थानीय तहको भूमिका र जिम्मेवारी तोक्ने।

२७.प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहका सदस्यको निर्वाचनका दिन मतदान प्रक्रियालाई सहज बनाउन सार्वजनिक यातायातको आवश्यक व्यवस्थापन गर्ने।


कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान


काठमाडौं, १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । 
उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । अब दलहरुले असार २१ गतेसम्म प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।
शुक्रवार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका हुन् । 
 


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ?

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ?


काठमाडौं, २२ जेठ ।  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०,०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  हिजो प्रतिपक्ष तीन दलको अवरोधका कारण बैठक बस्न सकेको थिएन । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।
 


प्रधानमन्त्री चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका


काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन् । प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जान लागेका हुन् । 

“बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट जाने तय भएको छ,” सचिवालयले भन्यो, “भ्रमण टोलीमा ६० जनाभन्दा कम नै सहभागी हुने तयारी भएको छ ।”

प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि आज भारत जान लागेका हुन् । भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । भ्रमणको दोस्रो दिन प्रचण्डले भारतीय समकक्षीसँग जेठ १८ गते भेटवार्ता गर्नेछन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । 

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । प्रचण्ड जेठ २० गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 


मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं,९ जेठ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्  । 

यस्तै प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रिय सभा बैठकमा सहभागी हुने कार्यक्रम छ । 
 


यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


काठमाडौं, ५ जेठ । सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै सरकारको आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । 
पूर्णपाठ

 


बारा २ मा उपेन्द्र यादव विजयी

बारा २ मा उपेन्द्र यादव विजयी


काठमाडौं,१३ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।

उनले २८ हजार ४ सय १५ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने जम्मा २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन्।

बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।
 


राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय खारेज, जग्गाको कित्ताकाट खुला

राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णय खारेज, जग्गाको कित्ताकाट खुला


काठमाडौं, ५ वैशाख  । सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तरआबद्धतासम्बन्धी बनेको कार्यविधिमा व्यक्तिगत डाटा र राज्यको सुरक्षाका कुराहरू निजी कम्पनीलाई दिने लामिछानेको निर्णय खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्कालीन गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनका लागि निजी कम्पनीलाई ठेक्का दिने गरी स्वीकृत गरेको कार्यविधि खारेज गरिएको जानकारी दिइन् ।
उक्त कार्यविधिका विषयमा अध्ययन गर्न छुट्टै समिति बनाउने सरकारले निर्णय गरेको पनि शर्माले जानकारी दिइन् । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको उनको भनाइ छ ।

सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको भन्दै शर्माले नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन् । भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशवण्डा रोकिएकाले त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको उनको भनाइ छ ।
 


सांसदबाट हटाउँदै रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

सांसदबाट हटाउँदै रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज


काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उनले दुई करोड रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो।
आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यबाटसमेत हटाएको छ।

बैठकपछि पार्टीका सभापति रवि लामिछानेले उक्त निर्णय गरिएको बारे जानकारी दिए। यसअघि अनुशासन समितिले उनलाई कारबाही गर्न निर्देशन दिएको थियो। आजै पनि पार्टीको बैठक बस्नुअघि सभापति लामिछानेसँग बसेका सांसद श्रेष्ठले आफूलाई फसाइएको र उक्त अडियो इडिट गरिएको दाबी गरेका थिए। पार्टीले मागेको २४ घण्टे स्पष्टीकरणमा पनि उनले उक्त अडिओ सम्पादित भएको दाबी गरेका थिए।


गठबन्धनले टुंग्यायो मन्त्री भागबन्डा,शपथ बिहीबार

गठबन्धनले टुंग्यायो मन्त्री भागबन्डा,शपथ बिहीबार


काठमाडौं, १५ चैत । दश दलीय गठबन्धनले मन्त्रीहरुको संख्याको टुंगो गरेको छ। तीन दिनदेखि लगातार बसिरहेको गठबन्धन बैठकले सबै मन्त्रालयको भागबन्डा मिलाएको हो।  गठबन्धनको भागबन्डा अनुसार गत फागुन १५ गते एमालेले छाडेका ८ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने भएको छ। तर मन्त्रालय भने हेरफेर हुन सक्नेछ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पाँचवटा मन्त्रालय लिने भएको छ। अहिले माओवादीका चारजना मन्त्री छन्। अब माओवादीले थप एक मन्त्रालय पाउने भएको छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको छ। उसका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री हुने पक्का भएको छ।

उनीहरु दुवैको नाम बुधबार बसेको समाजवादी आकस्मिक सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ। समाजवादीले अझै अर्को मन्त्रालय मागे पनि अब राज्यमन्त्री पाउने सम्भावना छ। त्यसैगरी जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्ने भएका छन्। एकजना अशोक राईको नाम पक्का भएको छ। अर्को नाम राजकिशोर यादव या प्रदीप यादवमध्ये एक हुनेछ।

त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्ने भएका छन्।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एक मन्त्रालय पाउने भएको छ। उसका शरतसिंह भण्डारी मन्त्री बन्ने निश्चित छ। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने भएको छ। उसले पाउने एउटा मन्त्रालयमा अध्यक्ष श्रेष्ठ आफैँ मन्त्री हुँदैछिन्।  अर्कातिर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्रालय पाएको छ। उसका समानुपातिक सांसद अब्दुल खान अहिले नै खानेपानी मन्त्रीका रुपमा कार्यरत छन्। 

त्यसैगरी मंसिर ४ मा माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि एक मन्त्रालय पाएको छ। यो भागबन्डासँगै २२ वटा मन्त्रालयको हिसाब मिलेको छ। अब बाँकी तीनवटा मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकारमा २५ मन्त्री पग्नेछन्।  संख्या बाँडफाँट मिलेकाले अब मन्त्रालय पनि तोकेर बिहीबार नै सबै मन्त्रीको शपथ हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलेबाएका छन्।