13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी


अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्। यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको भन्दै आक्रोश पोखिन्।

उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार करिब आधा घण्टा धाराप्रवाह बोलेकी सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चेतावनी दिएकी थिइन्। ‘नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ’, प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वैदेशिक सहयोगको ६० प्रतिशतभन्दा धेरै हिस्सामा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ।’

उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले लिँदै आएका अधिकांश सहयोगमा तत्कालै प्रभाव पार्न सक्ने बताइन्।

 

यो समाचार आजको नागरिक दैनिकमा छ ।


कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन


आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।

कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् ।

सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ । सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको एक पीडित युवाले नेपाल समाचारपत्रलाई बताएका छन् । तर, नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 


सत्ता गठबन्धन बैठक :  टुङ्गाे लागेन मन्त्रिपरिषद् विस्तार

सत्ता गठबन्धन बैठक : टुङ्गाे लागेन मन्त्रिपरिषद् विस्तार



काठमाडौं, २७ भदौ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तारको विषयमा केही टुङ्गो नलागेको बताए । महामन्त्री खड्काले बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताए । 
उनका अनुसार बैठकमा सैद्धान्तिक विषयमा सहमति भए पनि प्राविधिक विषयमा टुङ्गो लाग्न बाँकी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए । 


बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

बिपी कोइरालाको १०८औँ जन्मजयन्ती


काठमाडौं, २४ भदौ ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन्। 

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने। विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।


कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा काँग्रेसको संसदीय दलको बैठक आव्हान गरिएको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
बैठकमा भोलि बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेकी छन् ।


काठमाडौं उपत्यकामा 'रेकर्ड ब्रेक वर्षा' : जमिनले सोस्न नभ्याउँदा बाढी

काठमाडौं उपत्यकामा 'रेकर्ड ब्रेक वर्षा' : जमिनले सोस्न नभ्याउँदा बाढी


काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन्। सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ। ‘यो भनेको ऐतिहासिक वर्षा हो। यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। काठमाडौंमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिमिटर वर्षा भएको थियो। सेप्टेम्बर मनसुन कम्जोर हुँदै अन्त्य हुने महिना हो। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँग स्थानीय तहबाट विकसित भएको वायु मिसिएपछि भारी मात्रामा वर्षा भएको मौमसविद्ले जनाएका छन्। सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो। मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन्। एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ। आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ।

भारी मात्रामा वर्षा हुँदा काठमाडौंका नदी खोलामा सोमबार बिहान बाढी आयो। ‘काठमाडौंको जमिनले पानी सोस्न भ्याएन’, वरिष्ठ मौसमविद् सापकोटाले भने, ‘त्यसपछि पानी ओभर फ्लो भई बाढी आयो।’ काठमाडौंको अधिकांश भूभाग घरले ढाकेको, बाँकी भाग पनि पिच सडक तथा ढलान गरिएको हुँदा जमिनले पानी सोस्न नसकेको वातावरणविद्हरूको तर्क छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।


निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट


‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन् । निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ ।

सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत भएका छन् ।

पुरस्कारको मापदण्ड भए पनि सो मापदण्ड लागू हुन नसक्दा पुरस्कारमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’पर्ने गरेको गुनासो आमकर्मचारीको छ । यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिएको गुनासो कर्मचारीको छ । मन्त्रिपरिषद्ले सोमबार मात्रै १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ ।

यसअघि मुख्यसचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले ४० जनालाई पुरस्कार प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसरी सिफारिस गर्दा सर्वोत्कृष्ट कर्मचारीको सिफारिस किन गर्न सकिएन भन्ने प्रश्न उठेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।


संघीय संसद् अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

संघीय संसद् अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस


काठमाडौं, १९ भदौ । सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।

संसद् अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए ।


शीर्ष बैठक: मन्त्रालय बाँडफाँडमा जुटेन सहमति

शीर्ष बैठक: मन्त्रालय बाँडफाँडमा जुटेन सहमति


     
काठमाडौं, १५ भदौ । सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको मंगलबार पनि टुङ्गो लगाउन सकेन । मंगलबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले टुङ्गो लगाउन नसकेको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ ।

बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उपस्थित थिए । सत्ता सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भएपनि ठोस निर्णय लिन नसकेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार केहि दिन ढिलाइ हुने भएको छ ।


खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?


कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको समेत मनपरी रूपमा मूल्य वृद्धि कायमै राखेका छन् ।

फितलो बजार अनुगमन र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले पटकपटक मूल्य बढाउने गरेका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार करीब ३ महीना अघिसम्म बजारमा २ सय ५० रुपैयाँ प्रतिलिटर पर्ने तोरीको तेलको मूल्य यति बेला बढेर ३ सय ७० रुपैयाँसम्म पुगेको छ । यसअघि प्रतिलिटर २ सय २० रुपैयाँ रहेको भटमासको तेलको मूल्य हाल बढेर २ सय ५५ रुपैयाँसम्म पुगेको छ भने सनप्mलावर तेलको मूल्य पनि प्रतिलिटर ५० रुपैयाँले बढेर २ सय ८० रुपैयाँ कायम भएको छ ।

खानेतेलसँगै दाल र चामलको मूल्य पनि बढेको छ । वैशाख दोस्रो साता निषेधाज्ञा शुरू हुने समयमा प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय ३० रुपैयाँसम्म पुगेको छ ।मासको दालमा प्रतिकिलो २० रुपैयाँ सम्मले वृद्धि हुँदै १ सय ६० बाट १ सय ८० रुपैयाँ पुगेको छ । त्यसैगरी हरेक ब्रान्डको चामलमा प्रतिवोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढेको संघले जनाएको छ । यति बेला मूल्य बढाउनुपर्ने खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने बताइएको छ ।

त्यसैगरी चियापत्ती, हर्लिक्स, महलगायत चक्लेटको मूल्य पनि बढेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार गत वैशाखसम्म ३ सय ७० रुपैयाँ पर्ने ५ सय ग्राम हर्लिक्सको मूल्य अहिले बढेर ४ सय रुपैयाँ पुगेको छ । प्रतिकिलो ६ सय रुपैयाँ पर्ने मह ६ सय ५० रुपैयाँ र ९० रुपैयाँको टोकला चियाको मूल्य १ सय ३० देखि १ सय ४० रुपैयाँ सम्ममा विक्री हुँदै आएको छ । त्यसैगरी हरेक किसिमका चक्लेटको मूल्यमा १० रुपैयाँसम्म वृद्धि भएको छ । अहिले हरेक खाद्यवस्तुको मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएको उनले बताए । यति बेला खाद्यवस्तुको मूल्य बढ्नुपर्ने खासै कारण नभए पनि निरन्तर मूल्य बढ्नुले उपभोक्ताहरू मारमा परिरहेको बताइएको छ । बजारमा लगातार रूपमा अस्वाभाविक रूपमा खाद्यवस्तुको मूल्य वृद्धि हुनुका पछाडि फितलो बजार अनुगमन र राजनीतिक अस्थिरता प्रमुख कारण रहेको सरोकारवालाहरूले बताएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार हस्तक्षेप र अनुगमन गर्ने सरकारी संयन्त्र कमजोर हुनु र हालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले हरेकजसो खाद्यवस्तुको मूल्य बढाउने गरेको बताए । अहिले ठूला होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता बढी खाद्यान्न खपत हुने स्थानहरू बन्द भएकाले खपत घट्दा पनि मूल्य बढिरहनु सान्र्दभिक नभएको उनले बताए । यसका लागि सरकारी संयन्त्र नै इमानदारपूर्वक लाग्नुपर्ने उनको तर्क छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।