19 Chaitra, 2079 / 2 April , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


खानेपानी मन्त्री खानले दिए राजीनामा

खानेपानी मन्त्री खानले दिए राजीनामा


काठमाडौं, १७ चैत । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्। आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाइरहेका जनमत पार्टीका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन्।

जनमत पार्टीले पहिलेदेखि नै उद्योग मन्त्रालय माग गर्दै आएको थियो। तर, जनमतलाई खानेपानी मन्त्रालय दिइएको छ। अहिले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा आफ्नो मन्त्रालय फेरि खानले उद्योग मन्त्रालय माग गरेका थिए। तर, उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्।
 


नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ


काठमाडौं, १७ चैत । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १–१ जनालाई मन्त्री नियुक्त गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बनेका छन्।

जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन्। लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन्।

यस्तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी बनेकी छन्।

माओवादीका मन्त्रीहरू भने गत पुस १० मै नियुक्त भएका थिए। तीमध्ये शक्ति बस्नेत आज मन्त्री थपिएका हुन्। भौतिक मन्त्री रहेका नारायणकाजी गृहमा सरेका छन्।
 


प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार


काठमाडौं, १७ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गएको पुस १० गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नयाँ मन्त्रीहरूमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा मन्त्री, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन् ।

यस्तै जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएको छ । यसअघि भौतिक पूर्वाधार मन्त्री सम्हाल्दै आउनुभएका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र सङ्घीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् । नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

सातौँ पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेको छैन । अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँग रहनेछन् । आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले चार जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।
 


कांग्रेसबाट अलग भएको अर्थशास्त्री स्वर्णिम वाग्लेको घोषणा

कांग्रेसबाट अलग भएको अर्थशास्त्री स्वर्णिम वाग्लेको घोषणा


काठमाडौं, १६ चैत ।  अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत वाग्लेले कांग्रेस छाडेको ‌औपचारिक घोषणा गरेका हुन् ।
आफ्नो ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टी छोडेको वाग्लेले लेखेका छन् ।
यस्तो छ कांग्रेस छाडेको वाग्लेको घोषणा
वि.सं २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें ।
विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर, पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल ।


गठबन्धनको बैठक २ बजे पुनः बस्ने

गठबन्धनको बैठक २ बजे पुनः बस्ने


काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । 
प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिनुभएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए । 


संसदमा उठ्यो मिटरब्याज पीडितको विषय

संसदमा उठ्यो मिटरब्याज पीडितको विषय


काठमाडौं, १५ चैत । मिटरब्याज पीडितको समस्याले संसदमा प्रवेश पाएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य तथा विशेष समयमा बोल्ने सांसदहरुले सो बिषय अठाएका हुन् ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाण्डु आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताएका हुन्।

सिरहा र महोत्तरीका मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाण्डु आएका छन् । रौतहटबाट अर्को समूह पनि काठमाण्डु आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहुकारको संरक्षण गरेको बताए। विशेष समयमा बोल्दै उनले राज्य पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताए।

मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको भन्दै सांसद झाले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताए।


मन्त्रीको भागबण्डा नमिलेपछि गठबन्धनको बैठक टुंगियो, ३ बजे पुनः बस्ने

मन्त्रीको भागबण्डा नमिलेपछि गठबन्धनको बैठक टुंगियो, ३ बजे पुनः बस्ने


काठमाडौं, १५ चैत ।  बुधबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठक निष्कर्षविहीन भएको छ । बिहानको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुन नसक्दा पुनः बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहानको बैठकमा निर्णय हुन नसकेपछि बुधबार दिउँसो ३ बजे पुनः बैठक बस्ने जनाईएको छ । मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको तयारी छ । गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरु सो बैठकमा उपस्थित रहेका थिए ।
 


गठबन्धनको बैठक निर्णयविहीन 

गठबन्धनको बैठक निर्णयविहीन 


काठमाडौं, १३ चैत । सत्तारूढ १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मङ्गलबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविना नै सकिएको हो ।
मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आ–आफ्नो दाबी नछोड्दा विना निष्कर्ष सकियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार फेरि बसेर निष्कर्ष निकाल्ने बताए । उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको गरेका थिए । 


विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते


काठमाडौं, १४ चैत । कोशी प्रदेशको नामकरणविरुद्ध विराटनगरमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।
पहिचानको पक्षमा वकालत गर्दै आएका विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिनका लागि अश्रुग्याँस र लाठीचार्ज गरेको छ। प्रदर्शनकारीहरूले पनि प्रहरीतर्फ ढुंगा हानेका छन्।
प्रदेशको नाम कोशी राखेको विषयमा विराटनगरमा पछिल्लो केही समययता पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन्। ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ।

मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो। त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।
 


सत्ता साझेदारको बैठक आज

सत्ता साझेदारको बैठक आज


काठमाडौं,१४ चैत । सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो। 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा गठबन्धन दलको बैठक मङ्गलबार अपरान्ह चार बजे बोलाउने समझदारी भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताए । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom