12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


काठमाडौँ आइपुगे कतारका अमिर थानी

काठमाडौँ आइपुगे कतारका अमिर थानी


काठमाडौं, ११ वैशाख । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे । 

स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । 

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उहाँ आज अपरान्ह विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् । सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।


उपनिर्वाचनः मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन

उपनिर्वाचनः मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन


काठमाडौं, १० वैशाख ।  निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो । इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ । 

आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आग्रह गरेको छ । आयोगले भनेको छ, 'निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने ।'

साथै आयोगले मतदानअघिको ४८ घण्टादेखि निर्वाचन आचारसंहिताअनुसार निषेध गरिएका कार्यहरू हुन नदिन समेत गृहमन्त्रालय मार्फत निर्देशन दिने निर्णय गरेको छ ।
 


मंगलबार सार्वजनिक विदा, मन्त्रिपरिषदका अन्य निर्णयसहित

मंगलबार सार्वजनिक विदा, मन्त्रिपरिषदका अन्य निर्णयसहित


काठमाडौं, १० वैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी भोलि (मंगलबार) नेपाल भ्रमणमा आउँदैछन्। त्यसकारण भाेलि सरकारले सार्वजनिक बिदा दिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

विदेशी राष्ट्र प्रमुख भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्षित गरेर लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई अध्यादेशमार्फत संशोधनका राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए। तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएसँगै सरुवा गरिएको हो भने हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।


कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल

कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल


काठमाडौं, १० वैशाख । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुबीकरणका लागि अपिल गरेका छन् । 

सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुबीकरणको आवश्यकता रहेको बताएका हुन् ।

‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउनेछ,’ दाहालले भनेका छन्, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न संकल्प गर्ने दिन पनि हो ।’

दाहालले नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको भन्दै यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको दाबी गरेका छन् । 


लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण


काठमाडौं,९ वैशाख । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सात दिनभित्र जवाफ दिन भनेको छ। साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देश गरेको छ।

आयोगले लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने दलहरू आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक, दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरू गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाललाई स्पष्टीकरण सोधेको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आयोगमा दर्ता कायम रहेका एक सय १८ दलमध्ये आर्थिक वर्ष ०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये प्रतिवेदन सार्वजनिक नगर्ने २१ दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देशन गरिएको छ।

समयमा लेखापरीक्षण सार्वजनिक नगर्ने दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, संघीय विकासवादी पार्टी, नेपाल, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी कांग्रेस, जनताको जनवादी पार्टी नेपाल, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी रहेका छन्।


कतारका अमिर शेखको नेपाल भ्रमणको औपचारिक घोषणा

कतारका अमिर शेखको नेपाल भ्रमणको औपचारिक घोषणा


काठमाडौं,९ वैशाख ।  राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।


कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारका अमिर थानी सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछन् ।


लुम्बिनीमा १५ दिनमै सरकारबाट बाहिरियो जसपा

लुम्बिनीमा १५ दिनमै सरकारबाट बाहिरियो जसपा


काठमाडौं, ९ वैशाख । सरकारमा सहभागी भएको १५ दिनमै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ  । 

यो पार्टीबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। मन्त्री भण्डारीले पदबाट राजीनामा दिएका छन्। 

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको थियो।  सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन्।
 


एमाले परिषद् बैठकः आज समूहगत छलफल

एमाले परिषद् बैठकः आज समूहगत छलफल


काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ।
लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ। 

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ।


प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट,रिहाइका लागि पहल गरिदिन आग्रह

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट,रिहाइका लागि पहल गरिदिन आग्रह


काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् ।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे ।
 


दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त

दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त


काठमाडौं, ६ वैशाख । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ आजै साँझ ७ बजे राखिएको छ।

सोडारीले बिहीबार नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको हो।