07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त

दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त


काठमाडौं, ६ वैशाख । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ आजै साँझ ७ बजे राखिएको छ।

सोडारीले बिहीबार नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको हो।


लुम्बिनीमा नेकपा एसकी भगवती अधिकारी थपेपछि बन्यो ११ सदस्यीय मन्त्रिपरिषद

लुम्बिनीमा नेकपा एसकी भगवती अधिकारी थपेपछि बन्यो ११ सदस्यीय मन्त्रिपरिषद


काठमाडौं, ६ वैशाख ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले एक दिनमै २ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

महाराले आज एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टी (नउपा) बाट एक, र स्वतन्त्रबाट एक मन्त्री थपेर बिहान मन्त्रिपरिषद् विस्तार गरेका थिए। दिउँसाे फेरि नेकपा एसकी भगवती अधिकारी थपिएकी हुन्।

अब मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ। आज थपिएका सहित ७ जना नै बिना विभागीय छन्। सबैले आजै पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्।

यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका  दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। अरू मन्त्रालयकाे जिम्मेवारी अहिले मुख्मन्त्री महराकै काँधमा छ। 
 


तोयम राय महालेखा परीक्षकमा नियुक्त

तोयम राय महालेखा परीक्षकमा नियुक्त


काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही 

निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही 


काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ ।

आचारसंहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।

अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ ।


महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन


काठमाडौं, ४ वैशाख । महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन भएका छन् । आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको हो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेसंगै उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ। 

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यस अघि उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव ( प्रमुख तथ्याङ्क अधिकारी ) थिए । महालेखापरीक्षकमा सिफारिस भएसंगै उनले सचिव पदबाट राजीनामा दिएका थिए ।
 


मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक(सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक(सूचीसहित)


काठमाडौं, २ वैशाख ।  गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईतबार निर्णय सार्वजनिक गर्दै लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात् करीब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जनाएकी छन् ।


अर्थ मन्त्रालयको प्रस्तावमा अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

सञ्चारमन्त्री शर्माले नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताइन् ।

यी हुन् निर्णयहरू 


 


ट्राफिक सचेतना विशेष अभियान२०८१ शुरु, गृहमन्त्रीद्वारा उद्‍घाटन

ट्राफिक सचेतना विशेष अभियान२०८१ शुरु, गृहमन्त्रीद्वारा उद्‍घाटन


काठमाडौं, २ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको शुरूमा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानरीक्षक बसन्त बहादुर कुँवर, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधनको क्रममा गृहमन्त्री लामिछानेले ट्राफिक व्यवस्थापनमा सम्पूर्ण सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सरकारले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर ऐन, नियमलाई समयानुकूल परिमार्जित, परिवर्तन तथा नयाँ कायम गर्नका लागि सक्रियताका साथ लागेको बताउनुभयो । दुर्घटना न्यूनीकण गरी नागरिकको ज्यान बचाउनु राज्यको प्राथमिकता रहेको उल्लेख गर्दै रोड टेस्ट नगरिकन लाईसेन्स दिने परिपाटीले धेरै सवारी दुर्घटनाहरू भएको बताउँदै यसलाई नियन्त्रण गर्न लाईसेन्स परीक्षाको विद्यमान प्रक्रियामा सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।      

उक्त अवसरमा गृहमन्त्री लामिछानेले सरकारका कामहरूमध्ये ट्राफिक व्यवस्थापन पनि एक महत्वपूर्ण काम रहेको चर्चा गर्दै हाल सम्मको काम सह्रानीय रहेको र आगामी दिनमा समेत ट्राफिक नियमलाई थप कडाईका साथ पालन गर्न/गराउन निर्देशन दिनुभयो । ट्राफिक प्रहरीलाई छल्नलाई होइन आफू सुरक्षित हुनका लागि गम्भिर तथा सचेत भएर सार्वसाधारणले ट्रफिक नियम तथा लेन अनुशासनको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै ट्राफिक प्रहरीको बोली, वचन तथा व्यवहार नरम तर कारबाही कडा हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

समारोहका प्रमुख अतिथि गृहमन्त्री रवि लामिछानेलाई सोही समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कँवरले कृतज्ञताको चिनो हस्तान्तरण गर्नुभयो । 

समारोहमा काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलले स्वागत मन्तव्य व्यक्त गर्दै सचेतना अभियान महत्वपूर्ण रहेको र यसले एउटा जम्मेवार नागरिक बन्न सघाउँने बताउनुभयो । साथै पद्‍म कन्या क्याम्पसकी उप-प्राध्यापक भगवती सेढाईं र नेपाल यतायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहित कार्यक्रमको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

उक्त विशेष अभियान अन्तर्गत एक हप्तासम्म यात्रुमैत्री विशेष अभियान, पैदल यात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, जिरो ट्राफिक भायोलेशन, किप क्लियर, यात्रुबाहक सवारी साधन परीक्षण, प्रहरी बैंण्ड डिस्प्ले र ट्राफिक एफएममा ट्राफिक सचेतना विशेष सम्वाद कार्यक्रम संचालन गरिने उक्त अवसरमा जानकारी दिइयो ।  

कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता सह-सचिव नारायण प्रसाद भट्टराई, काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विभिन्न विभागका महानिर्देशकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र विद्यार्थी तथा संचारकर्मीहरू एवम् आमनत्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 


 


प्रतिनिधिसभा बैठक: हिउँदे अधिवेशन अन्त्य गरिँदै

प्रतिनिधिसभा बैठक: हिउँदे अधिवेशन अन्त्य गरिँदै


काठमाडौं, २ वैशाख । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकपछि संसदको हिउँदे अवधिवेशन आज राति १२ बजेबाट अन्त्य गरिनेछ । अधिवेशन अन्त्यका लागि सरकारले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा सभामुखले राष्टपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखि तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नेछन् ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।

यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम ९१० बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै


काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा विश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची छ।

संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन्।

महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेशसभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ।
 


विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री


काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। भारतीय उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए।

प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे।