14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लोकप्रीय


मणिपुर जातीय दङ्गाः मृत्यु हुनेको संख्या ५४ पुग्यो, १० हजार मानिस विस्थापत

मणिपुर जातीय दङ्गाः मृत्यु हुनेको संख्या ५४ पुग्यो, १० हजार मानिस विस्थापत


एजेन्सी । भारतको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । झडपकै कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
हिंसात्मक झडपकै कारण जनजाति समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ । परिस्थित नियन्त्रणमा लिन प्रभावित केही जिल्लाहरुमा कर्फ्यु लागू गर्नुका साथै इन्टरनेट सेवा बन्द गरिएको छ ।

अशान्ति नियन्त्रण गर्ने प्रयासमा अन्तिम अवस्थामा गोली हान्ने आदेश दिइएको छ । भारतका कानुन मन्त्री किरेन रिजिजुले पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताए ।

इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ । छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएका छन् । राज्यका उच्च प्रहरी अधिकारीले दङ्गाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको बताएका छन् ।
 


रुसी कब्जामा रहेको शहर खेर्सनमा प्रदर्शन

रुसी कब्जामा रहेको शहर खेर्सनमा प्रदर्शन


एजेन्सी । रुसले कब्जामा लिएको युक्रेनको दक्षिणी शहर खेर्सनमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्। रुसी आक्रमण र नियन्त्रणविरुद्ध स्थानीय बासिन्दाले सोमबार प्रदर्शन गरेका हुन्। तर प्रदर्शनकारीमाथि रुसी सुरक्षाकर्मीले गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा रुसी सैनिकले प्रदर्शनकारीलाई तितरवितर पार्न गोली चलाउनुका साथै बिस्फोट पनि गराएको देखिएको छ ।

घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । मार्च ३ मा रुसी सैनिकले खेर्सन शहर कब्जा गरेका हुन् । त्यसयता त्यहाँ लगातार युक्रेनीहरुले प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच अमेरिकाले युक्रेन युद्धमा रुसले गरेका युद्ध अपराधका प्रमाणहरु संकलन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ।

उसले बाल अस्पताल, प्रसुति वार्ड, विद्यालय, संग्राहलय, सार्वजनिक स्थल, आवासीय क्षेत्र तथा आवासीय भवनालाई निशाना बनाएको छ ।


अफगानी राष्ट्रपति अशरफ ग़नीले लिए युएईमा शरण

अफगानी राष्ट्रपति अशरफ ग़नीले लिए युएईमा शरण


एजेन्सी । अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ ग़नीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् ।

तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति ग़नीले गएको आइतबार देश छोडेका थिए । युएईको विदेश मन्त्रालयले मानवीय नाताले ग़नी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ ।

बुधबार भिडियो सन्देश जारी गरेर ग़नीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । गम्भीर विपदको अवस्था आउन नदिएका लागि आफूले देश छोडेको उनले बताए ।

उनले भनेका छन्, ‘अहिले म युएईमा छु र रक्तपात र अव्यवस्था रोकियो । अफगानिस्तान फर्किनका लागि म अहिले वार्तामा छु ।’ उनले आफू ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने हल्ला पूर्ण रुपमा आधारहीन रहेको बताए ।

रुसले ग़नी हेलिकप्टर तथा कारभरि पैसा लिएर भागेको आरोप लगाएको थियो । ७२ वर्षीय ग़नीले विपदका बेला देश छोडेको भन्दै उनको आलोचना भइरहेको छ । शान्ति वार्ता तथा राष्ट्रिय पुनर्स्थापना उच्च परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले ईश्वरले उनलाई सजाय दिने बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अफगान सरकारको आलोचना गरेका छन् । गत सोमबारको सम्बोधनमा बाइडेनले आवश्यक परेका बेला समस्याको सामना गर्नु पर्नेमा देश छोडेर भागेको भन्दै ग़नीसहितका नेताको आलोचना गरेका हुन् ।

फेसबुकमा लाइभ गरिएको भिडियो सन्देशमा राष्ट्रपति ग़नीले आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको बताएका छन् । जुत्ता पनि लगाउन नभ्याएको उनले बताए ।


अमेरिकाले अफगान अनुवादकहरुलाई विशेष भिसामार्फत सुरक्षित क्षेत्रमा लैजाने

अमेरिकाले अफगान अनुवादकहरुलाई विशेष भिसामार्फत सुरक्षित क्षेत्रमा लैजाने



एजेन्सी । अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभाषेका रुपमा सहयोग गरेका अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजाने भएको छ । जोखिममा रहेका अनुवादकहरुलाई अमेरिका वा अर्को कुनै देश लगिने भएको हो ।

अमेरिकाको नेतृत्वमा सन् २००१ यता हुँदै आएको नेटा सैनिकको अभियान अफगानिस्तानमा अन्त्य हुँदैछ । सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो अगस्ट अन्तिमसम्ममा आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् ।

त्यसपछि पनि अफगानिस्तानमा अमेरिकी मिसनको सुरक्षाका लागि ६५० जति अमेरिकी सैनिक फिर्ता रहने छन् ।

अमेरिकीसहितका सैनिक फिर्ताको क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरुका सहयोगीका रुपमा काम गरेका अनुवादकहरु जोखिममा आएको भन्दै चासो र चिन्ता थपिएको थियो ।

अनुवादकहरुले आफूहरुको सुरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेका थिए । ह्वाइट हाउसले अपरेशन एलाइज् रेफ्युजीका रुपमा अनुवादकहरुलाई अमेरिका वा अरु कुनै देश पठाउने घोषणा गरेको हो । यो प्रक्रिया अन्तर्गत जोखिममा रहेका अनुवादकहरुलाई शरणार्थीका रुपमा लैजाने प्रक्रिया जुलाई अन्तिम हप्तादेखि सुरु हुने ह्वाइट हाउसले जनाएको छ ।

अफगान अनुवादकहरुले (दायाँ) अमेरिकी सैनिकलाई स्थानीय बासिन्दासँग कुराकानीमा सहयोग गर्दै आएका थिए । तस्बिर : गेट्टी इमेज


चीनको अन्तरिक्ष क्षमता बिस्तार

चीनको अन्तरिक्ष क्षमता बिस्तार


एजेन्सी ।  चीनले तीन अन्तरिक्ष यात्रीलाई आफ्नो नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको हो ।

उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो ।

तीन यात्रीहरुले नयाँ अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् र उनीहरुले त्यहाँ अन्तरिक्ष केन्द्रको निर्माण सम्बन्धी काम गर्ने सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

अन्तरिक्ष यात्रीहरु नी हेशेङ्ग, लियू बोमिङ्ग र ताङ्ग होङ्गबोले अन्तरिक्ष यात्रा सुरु गरेका हुन् । उनीहरुले पृथ्वीबाट ३८० किलोमिटर पर रहेको अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् । यो चीनको अहिलेसम्मको लामो अवधिको अन्तरिक्ष अभियान हो । पछिल्लो पाँच वर्षयता चीनले पहिलोपटक टोली पठाएको हो ।

सेन्झोउ–१२ क्याप्सुल अन्तरिक्ष यानबाट उनीहरु गएका हुन् ।

चीनले पछिल्लो समय आफ्नो अन्तरिक्ष क्षमता बिस्तार गर्दै लगेको छ । 


मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल

मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल


२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदान गरेपछि मतपेटिकामा खसाल्न लागेको मतपत्र उल्टो पट्याइएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमाले निकट प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार फणि महतले फेसबुकबाट माधव नेपालको तस्वीर सार्वजनिक गर्दै स्टाटस लेखे- ‘रौतहटमा मतदाता शिक्षा पुगेको छैन भन्ने उदाहरण !’

महतले प्रतिकात्मक रुपमा राखेको सो तस्वीर एकाएक भाइरल बन्यो । पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले नजानेर मतपत्र उल्टो पट्याएका हुन् त ? सामाजिक सञ्जालमा यो प्रश्न पनि उठ्यो ।

कतिपयले निर्वाचन आचारसंहिता विपरीत माधव नेपालले सूर्य चिन्हमा मत दिएको देखिने गरी मतपत्र प्रदर्शन गरेको आरोप पनि लगाउन भ्याए ।

रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेर पत्नी गायत्री नेपालसहित बाहिरिएका एमाले नेता नेपालसँग अनलाइनखबरले सम्पर्क गर्दा उनी कार्यकर्ता र जनताकै बीचमा थिए । नेता नेपाल मतदान गरिसकेपछि भोजपुरी भाषामा स्थानीयसँग कुरा गरिरहेका थिए ।

‘तपाईले मतपेटिकामा मतपत्र हाल्दै गरेको फोटो त भाइरल भइसक्यो नि’ अनलाइनखबरले यसो भन्दा पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गरे- हो र ? किन हो ?

चुनाव चिन्ह देखिने साइडबाट मतपत्र पट्याएको र त्यो उल्टो भएको भन्ने टिप्पणीबारे हामीले सुनाएपछि एमाले नेता नेपालले त्यसबारे प्रष्ट पारे ।

उनले भने- ‘मैले सोचविचार गरेरै त्यसरी पट्याएको हो । सुल्टो पट्याउँदा मसी लत्पतिने अवस्था देखियो । मैले मतदान गरेको ठाउँमा त्यस्तो देखियो ।’

त्यसोभए निर्वाचन आयोगले स्वस्तिक छाप लगाउन प्रयोग गरेको मसीको गुणस्तर कमजोर हो त ? यदि यस्तो हो भने अरुले प्रयोग गरेको मतपत्रमा पनि मसी लत्पतिने पो हो कि ?

पूर्वप्रधानमन्त्री नेपालको अभिव्यक्तिले निर्वाचन आयोगले प्रयोग गरेको मसीको गुणस्तरबारे गम्भीर प्रश्न उब्जिएको छ । आयोगले प्रयोगमा ल्याएको मसी लत्पतिने खालको भएमा यसदे मतपत्र बदर हुने खतरा रहन्छ ।

अहिलेसम्मको मतदाता शिक्षामा मतपत्र पट्याउँदा स्वस्तिक छाप भित्रपटि्ट पर्ने गरी पट्याउनुपर्ने भनिँदै आएको छ । तर, पूर्व प्रधानमन्त्रीले नै मसीमाथि प्रश्न उठाउनुपर्ने अवस्थाले मतदाता शिक्षा र मसीको गुणस्तर दुबैमा प्रश्न उठाएको छ ।

हामीले यसबारे आयोगका प्रवक्ता नवराज ढकालसँग जिज्ञासा राख्यौं ।

प्रवक्ता ढकालले यसबारे अनविज्ञता प्रकट गर्दै ‘त्यस्तो हुनु नपर्ने’ छोटो प्रतिक्रिया दिए ।


२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए

२२ वर्षका सीईओ, जसले किसानको जीवनमा परिवर्तन ल्याए


२ भदौ, काठमाडौं । ०६८ सालतिर एसएलसी दिने तयारीमा रहेका १६ वर्षे पारस कटुवालका बाबु खोजराज एक दशकपछि घर फर्केका थिए । धरानमा बस्दै आएका पारस, उनकी आमा र भाइ बाबुले इजरायलमा खेतीपातीको जागिर छाडेर फर्केकामा खुशी थिए ।

तर, उनी आएको केही दिनमै परिवारमा ठूलै वादविवाद भयो । ‘बुवाले अब हामी कृषिमा लागौँ भन्नु भयो,’ पारस सम्झन्छन्, ‘उहाँमा खेतमा काम गर्न मन नलागेर इजरायल जानु भएको थियो, फर्केपछि त फेरि खेतीमै लाग्ने कुरा गर्नु हुन्छ ।’

खोजराजले के गर्न लागेका हुन् ? न त परिवारले बुझे, न छरछिमेक र इष्टमित्रले नै । ‘केही महिनासम्म छलफल चल्यो, बुवाले हामीलाई कन्भिन्स गराएरै छोड्नु भयो,’ पारस भन्छन् ।

दुःख गरेर कमाएको करिब ६० लाख रुपैयाँबाट खोजराजले बालाजु जीतपुर फेदीमा जग्गा भाडामा लिएर तरकारी खेती थाले । र, ‘इजरायली प्रविधि’को नवीन प्रयोग थाले, नेपालमा ।

पारसलाई अझै चित्त बुझेको थिएन । नेपालका शहरहरूमा पढेका नयाँ पुस्ताकै पदचिन्ह पछ्याउँदै उनले अस्ट्रेलिया पुगेर उतै बस्ने सपना बुन्न थाले । मनमा अस्ट्रेलियाको सपनाले डेरा जमाएको थियो, तन भने बाबुको खेती स्याहार्नमा व्यस्त ।

बाबुले गर्न खोजेको कुरा बुझ्न उनले केही समय पर्खिनु पर्याे । खोजराजले इजरायलमा काम गर्दा ‘थोपा सिँचाइ’ प्रविधिको राम्रो ज्ञान हासिल गरेका थिए । उक्त प्रविधिबाट खेतीमा पानीको खपत घट्नुका साथै दुई सय प्रतिशतसम्म उत्पादन बढाउन सकिने पारसले बुझे ।

सामान्यतया एक वर्षमा मुस्किलले एउटा गोलभेँडाको बोटबाट ५/६ किलो उत्पादन हुन्छ । तर, उनीहरुको खेतमा १२ किलोसम्म फल्यो !

केही समय नबित्दै पारसको अस्ट्रेलिया सपना बिथोलियो । र, बाबुको काममै पूर्ण रुपमा लाग्न थाले । आफ्नो कामबाट किसान दाजुभाइले पनि फाइदा उठाउन् भनेर नेपाल थोपा सिँचाइ प्रालि स्थापना गरे ।

उनको कम्पनीले थोपा सिँचाइमा प्रयोग हुने उपकरण आयात गरेर बिक्री र जडान थाल्यो । हालसम्म १० हजारभन्दा बढी कृषकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफलता पाइसकेका छन्, उनले ।

‘शुरुमा नयाँ–नयाँ कृषक भेट्न म आफैं खेतबारी चहार्थें । कसैले फोन गरे तुरुन्तै दोडिन्थें,’ उनी भन्छन्, ‘थोपा सिँचाइबारे किसान दाजुभाइलाई बुझाउनु थियो ।’ सफलताको ग्राफ उकालो लाग्दै गर्दा उनी अहिले कम्पनीको सीईओ बनेका छन् ।

भन्छन्, ‘हामीले नयाँ कुरा केही गरेका होइनौँ । यो प्रविधि त दशकौंदेखि थियो । त्यसलाई नेपाल ल्याएका मात्रै हौं ।’

बिरुवालाई चाहिने पानी यकिन गर्ने, पाइपमा भएको प्वालबाट बिरुवालाई पानी र मल दिने । उनले यसै गरिरहेका छन् ।

ब्रिटिस कलेजबाट बीबीए उत्तीर्ण पारसलाई बाबु खोजराजले सबै काम सुम्पेका छन्, अहिले ।

उनको कम्पनी गत वर्ष उद्यमीहरुलाई वैदेशिक लगानी भित्र्याउने कार्यक्रम ‘रक्स्टार्ट इम्प्याक्ट’को छनोटमा पर्‍यो  । सयदिने तालिम लिएपछि पारसले आफ्नो व्यवसायलाई उचाइ दिने मनस्थिति बनाए । छिट्टै नेदरल्यान्ड्सका लगानीकर्ताले उनको कम्पनीमा लगानी गर्दैछन् । र, स्वदेशमै बसेर उद्यम गर्ने सपनाले डेरा जमाएको छ, पारसको मनमा अहिले ।

सन् २०१४ मा शुरु भएको रक्स्टार्ट इम्प्याक्ट कार्यक्रम अन्तरगत अहिलेसम्म २१ कम्पनीहरूले वैदेशिक लगानी भित्राउन सफल भइसकेका छन् । यस वर्ष कार्यक्रममा भाग लिन चाहने कम्पनीहरूले आश्विन १९ सम्म मा दरखास्त दिन सक्ने रक्स्टार्टले जनाएको छ ।


गायिका मिलन अमात्यले गरिन् डिभोर्स, कारण- दीपक लिम्बुसँगको अफेयर !

गायिका मिलन अमात्यले गरिन् डिभोर्स, कारण- दीपक लिम्बुसँगको अफेयर !


जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…

यो मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्य आफ्नै जीवनमा भने सदाका लागि पति मेन्सन अमात्यकी प्रियसी बन्न सकिनन् ।

करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका छन् ।

केही दिनअघिमात्र नेपाल आइडलमा अतिथी कलाकारका रुपमा उपस्थित भएकी मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको प्रियसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकी हुन् । मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् । सांगीतिक यात्रालार्इ अगाडी बढाउन चाहेकाले समझदारीमै डिभोर्स गरेको मिलनले बताएकी छिन । उनी नयाँ पुस्ताकी चर्चित गायिका हुन् ।

अन्तमा उनैले गाएको गीतको यो अंश पनि उनको अबको जीवनमा लागु हुनेछ, जसका लागि उनले मेन्सनलाई त्यागिन् ।

माया गर्नुनै भूल हो कि मायालु..तर तिमी बिना यो मन मान्दैन… ।


देउवा मन्त्रीमण्डल ५६ सदस्यीय, तर बनेन विश्व रेकर्ड !

देउवा मन्त्रीमण्डल ५६ सदस्यीय, तर बनेन विश्व रेकर्ड !


२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थपेका हुन् ।

राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । दुबै राज्यमन्त्रीले सोमबार नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिए ।

यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

अर्थहीन विस्तार

माओवादी केन्द्र र फोरम लोकतान्त्रिकको समर्थनसँगै देउवा सरकार बहुमतमा हुन्छ । साथै सुरुमा नै साना दलहरुले पनि उनलाई समर्थन गर्दै आएका छन् ।

देउवा सरकार आफैंले प्रदेश र संसदको चुनाव मंसिर १० र २१ मा गर्ने निर्णय गरिसकेको छ र भदौ १४ बाटै निर्वाचन आचार संहिता समेत लागू भएको छ ।

यस्तो अवस्थामा राप्रपाबाट फुटेको राप्रपा प्रजातान्त्रिकको आन्तरिक व्यवस्थापन मिलाउने नाममा देउवाले गरेको पछिल्लो दुई मन्त्रिपरिषद् विस्तार अर्थहिन छ ।

तर, अझै बनेन विश्व रेकर्ड !

०५२ मा आफैंले बनाएको रेकर्ड तोड्दै जम्बो मन्त्रीमण्डल बनाएको भन्दै देउवाको आलोचना भइरहेको छ । तर, ५६ सदस्यीय हुँदा पनि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ‘जम्बो मन्त्रिपरिषद’को रेकर्ड भने बनाएका रहेनछन् ।

गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा जम्बो मन्त्रिपरिषदको रेकर्ड महेन्द्र राजापाक्षेको नाममा छ । श्रीलंकाको राष्ट्रपति हुँदा उनले २००५ मा ५२ क्याबिनेट मन्त्री नियुक्त गरेका थिए र, यो २००८ मा गिनिज बुकमा रेकर्ड दर्ता भएको छ ।

देउवा सरकारमा भने २६ मन्त्री, ३ उपप्रधानमन्त्री र प्रधानमन्त्री गरी ३० सदस्यीय क्याविनेट छ त्यसैले श्रीलंकको रेकर्ड भने तोडिएको छैन ।