14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


उपनिर्वाचन हुने र इलाम र बझाङमा मौन अवधि सुरु

उपनिर्वाचन हुने र इलाम र बझाङमा मौन अवधि सुरु


काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला बझाङ र इलाम जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध (मौन अवधि) सुरु भएको छ । 

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । निर्वाचन आयोगका अनुसार बुधबार राति १२ बजेदेखि बझाङ र इलाममा मौन अवधि सुरु भएको हो ।

प्रतिनिधि सभाको बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) र इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागू गरिएको छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि र इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।


उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।


स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री


काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

'स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।'

नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए । 

स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।


प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु


काठमाडौं, १२ वैशाख  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ । मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता शुरु भएको हो । 

भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।


आज भूकम्प स्मृति दिवस मनाइँदै

आज भूकम्प स्मृति दिवस मनाइँदै


काठमाडौं, १२ वैशाख ।  विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।

आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन् ।

भूकम्पको केन्द्रविन्दु बारपाक काठमाडौँबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।

यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।


भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२ः३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा पराकम्पन गएको थियो । भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः वैशाख १३ गते सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव नौ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपाल्चोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्यो ।

विसं २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको गृह मन्त्रालयले जनाएको छ । 


विपिन रिहाइका कतारी राजासँग राष्ट्रपति पौडेलको आग्रह

विपिन रिहाइका कतारी राजासँग राष्ट्रपति पौडेलको आग्रह


काठमाडौं, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी राजा शेख तमिम बिन हमाद अल थानीसँग आग्रह गरेका छन्।

दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारका राजा थानीसँग राष्ट्रपति पौडेलले शीतलनिवासमा भएको औपचारिक भेटवार्तामा विपिन जोशीको रिहाइका लागि कुरा राखेका थिए।

कुराकानीका क्रममा थानीले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताएका थिए। इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन छन्। हराएका विपिन कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी निवासी हुन्।
 


काठमाडौँ आइपुगे कतारका अमिर थानी

काठमाडौँ आइपुगे कतारका अमिर थानी


काठमाडौं, ११ वैशाख । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे । 

स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । 

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उहाँ आज अपरान्ह विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् । सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।


प्रधानमन्त्री दाहाल र रसियन चेम्बर्स अफ कमर्सका अध्यक्ष कटीरिनबीच भेट

प्रधानमन्त्री दाहाल र रसियन चेम्बर्स अफ कमर्सका अध्यक्ष कटीरिनबीच भेट


काठमाडौं, ११ वैशाख ।  प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्।

बालुवाटारमा मंगलबार भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
 
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

‘व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ।’

दुई पक्षीय भेटका क्रममा नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताएका छन्।

नयाँ परिस्थितिमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएको सचिवालयले उल्लेख गरेको छ।
 


मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको मृत्यु

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको मृत्यु


एजेन्सी । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।
दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए। बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।
 


कतारका अमिर आज नेपाल आउँदै

कतारका अमिर आज नेपाल आउँदै


काठमाडौं, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् । 


वैदेशिक रोजगारीः श्रमिकलाई हवाई जहाजभित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

वैदेशिक रोजगारीः श्रमिकलाई हवाई जहाजभित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह


काठमाडौं, ११ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तब्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् । यसरी वैदेशिक रोजगारीमा जादा घण्टौसम्म भोक भोकै बस्नु पर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरी दिन मन्त्री अर्यालले आग्रह गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने बिषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाईन्सलाई अनिवार्य रुपमा खाना उपलब्ध गराउनु पर्ने नियम बनाईदिनुपर्नै उनले बताए ।