13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


नयाँ कार्यविधि कार्यान्वयनसँगै भिजिट भिसामा विदेश जानेको संख्या  बढ्यो

नयाँ कार्यविधि कार्यान्वयनसँगै भिजिट भिसामा विदेश जानेको संख्या बढ्यो


काठमाडौं, ३० चैत । नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि भिजिट भिसामा विदेश जानेको संख्या बढेको छ । अध्यागमन विभागका अनुसार औसतमा दैनिक एक हजार सात सय नागरिक विभिन्न देश उड्ने गरेका छन् । 

गत मार्चमा ५२ हजार दुई सय ३२ र फेब्रुअरीमा ५२ हजार नौ सय २१ जना भिजिट भिसामा विदेश गएको तथ्यांक छ । त्यसअघि जनवरीमा ४६ हजार सात सय ४१, डिसेम्बरमा ५२ हजार चार सय ९५ र नोभेम्बरमा ४७ जार ६० जना गएका थिए । १० माघदेखि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेलाई सरल बनाउँदै नयाँ ६ बुँदे कार्यविधि लागू गरेको थियो । त्यसयता खासगरी खाडी देश जाने बढेका छन् । 

नयाँ कार्यविधिअनुसार दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, पाँच सय अमेरिकी डलर तथा खाडीका युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियाका लागि भने स्वघोषणासमेत गर्नुपर्ने प्रावधान छ । विगतमा १७बुँदे मापदण्डमा १२ कक्षासम्म अध्ययन गरेकोलगायतका प्रावधान थिए । सोही मापदण्डका आधारमा अध्यागमनका कर्मचारीले सेटिङ चलाएको खुलेपछि प्रहरीले दुई महिनाअघि अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । सोही घटनापछि गृहले भिजिट भिसालाई सरलीकृत गरेको हो ।


कुवेत पठाइदिने प्रलोभनमा श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

कुवेत पठाइदिने प्रलोभनमा श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ


काठमाडौं, २९ चैत । कुवेतमा मासिक २८ हजार रूपैयाँ तलबमा काममा लगाइदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बो पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवाको नौकुण्ड गाउँपालिका–१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाइदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्‍याएको खुल्न आएको छ ।

तत्पश्चात कुटपिट गरी कोठामा बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा पीडित नेपाल फर्किन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका घलेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको छ ।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।


विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री


काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। भारतीय उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए।

प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे।


देश र जनताको हितमा लाग्नूस् : ओली

देश र जनताको हितमा लाग्नूस् : ओली


काठमाडौं, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध रुपमा अघि बढ्न पार्टी कार्यकर्तालाई उनले सुझाव दिए।

आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताएका हुन्।

आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउन हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोहीअनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उनले बताए। 

करिब ३ करोड २५ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको भवनको उद्घाटनअघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुगेका थिए। हेलिकप्टरमा त्यहाँ पुगेका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकनसमेत गरे। 

उनले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधवार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकामतर्फबाट पुगेका सवारीसाधनका चालकलाई सम्मान पनि गरेका थिए।


ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने

ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने


काठमाडौं, २९ चैत । नयाँ वर्ष २०८१ सालदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने भएको छ ।
बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टै खुल्ने जनाएका छन् ।
गृहमन्त्री रवि लामिछानेको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ घण्टै व्यवसाय सञ्चालन गराउन चालेको कदम सकारात्मक भएको परिषद् र बोर्डले बताएको छ ।

ठमेलको भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान् बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।
 


नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण


काठमाडौं, २९ चैत । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

बैंकले आज पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ ।
 


पोखरा महानगरपलिकाकी सब–इन्जिनियरसहित दुई जना घुससहित पक्राउ

पोखरा महानगरपलिकाकी सब–इन्जिनियरसहित दुई जना घुससहित पक्राउ


काठमाडौं, २९ चैत । पोखरामा सेवाग्राहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब-इन्जिनियरसहित दुई जना  पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । 

सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिइएकाे हाे । उनीहरुसँग सेवाग्राहीसँगबाट लिएको एक लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि उक्त रकम मागेकाे अख्तियारले जनाएकाे छ ।

कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब-इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट आख्तियारको टोलीले पक्राउ गरेकाे थियाे । पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको बताएका छन् ।

उनले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्सा दिनका लागि आर्थिक लेनदेन भएको बताए । यसैगरी, पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोइरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताए । अख्तियारले अब उनीहरुविरूद्ध प्रक्रिया पूरा गर्दै कारबाही गर्ने भएकाे छ ।


युरोपको सबैभन्दा लामो पुल भत्काउन चाहन्छौँः जेलेन्स्की

युरोपको सबैभन्दा लामो पुल भत्काउन चाहन्छौँः जेलेन्स्की


एजेन्सी ।  युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस र क्रिमियालाई जोड्ने पुल भत्काउने लक्ष्य रहेको बताएका छन् । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेयता दुई देशबीच युद्ध जारी छ ।

त्यसयता युक्रेनी अधिकारीहरूले रुसका लागि महत्त्वपूर्ण रहेको १९ किलोमिटर लामो पुल भत्काउने धम्की दिँदै आएका छन् । यो पुल रुसका लागि सैनिक र अन्य हिसाबले पनि महत्त्वपूर्ण छ ।

यसबीच सोमबार जेलेन्स्कीले जर्मन मिडिया जायन्ट एक्सेल स्प्रिंगरको स्वामित्वमा रहेको सञ्चारमाध्यमसँग बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, “हामी वास्तवमै रुसी पूर्वाधार नष्ट गर्न चाहन्छौँ । कुरा केवल केर्च (क्रिमिया)को पुलको बारेमा होइन । हामी सैन्य पूर्वाधार, पुलहरू र एयरफिल्ड नष्ट गर्ने कुरा गर्दैछौँ ।”
 


गण्डकीमा मन्त्रालयको संख्या ७ बाट ९ बनाइयो

गण्डकीमा मन्त्रालयको संख्या ७ बाट ९ बनाइयो


काठमाडौं, २९ चैत । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या ९ भएको छ। मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ बनाएका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय र एउटा बेग्लै आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको हो।
यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री अधिकारीले नै १२ मन्त्रालयलाई ७ वटामा झार्ने निर्णय गरेका थिए। गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ। 
गण्डकीमा मुख्यमन्त्री नियुक्ति कानुनविपपरीत रहेको भन्दै त्यसविरूद्ध मंगलबार तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।
गण्डकीमा गठबन्धनले सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्रीमा  दाबी पेस गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए।


 


ईद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा

ईद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा


काठमाडौं, २९ चैत । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन्। ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।