16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस पछ्याउने होड




कांग्रेस पछ्याउने होड

काठमाडौं : प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको मंगलबार अबेर रातिसम्मको प्रारम्भिक नतिजाअनुसार प्रमुख ठूला दलकै वर्चस्व रहने देखिएको छ ।ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरमलगायत दल प्रदेश नं. २ मा पहिलो शक्ति बन्ने दाबी मधेसकेन्द्रित दलले गरे पनि प्रारम्भिक परिणामले ठूला दलकै वर्चस्व रहने सम्भावना देखाएको हो ।

प्रारम्भिक परिणाममा कांग्रेस सबैभन्दा अगाडि देखिएको छ भने कांग्रेसलाई पछ्याउन एमाले, माओवादी र मधेसका क्षेत्रीय दल तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।प्रारम्भिक नतिजालाई आधार बनाउँदा राजनीतिक दलले आफूले दाबी गरेअनुसार र बाहिर अनुमान लगाइएजस्तो परिणाम कसैको पनि नआउने देखिन्छ । 

प्रदेश नम्बर दुई अन्तर्गत आठ जिल्लाका कुल १ सय ३६ स्थानीय तहमध्ये झन्डै सय हाराहारीमा जित्ने दाबी गरिरहेको कांग्रेसको परिणाम पनि उसले दाबी गरेजस्तो नहुने देखिएको छ । ठूला दलकै वर्चस्व देखिने गरी परिणाम आउने सम्भावना बढे पनि कांग्रेसले आफूले भनेअनुसार परिणाम मधेसमा नल्याउने देखिएको हो । एमाले मधेसमा कमजोर हुने र निर्वाचन परिणाम एमालेको प्रतिकूल आउने बताइए पनि ऊ मधेसमा कमजोर देखिएको छैन ।

विश्लेषक चन्द्रकिशोर झा भन्छन्, ‘एमालेले लिएको मधेस नीतिका कारण निर्वाचनमा उसको परिणाम निराशाजनक आउने व्यापक प्रचारबाजी थियो, तर परिणाम त्यसको विपरीत आएको छ । एमालेको संगठन खलबल नभएका कारण मधेसमा उसको स्थिति बलियैे देखिएको हो ।’

माओवादी केन्द्रलाई मधेसमा कमजोर रहेको बताइए पनि उसको स्थिति प्रचारमा आएजस्तो देखिएको छैन । मधेसमा माओवादीको अवस्था पहिलेभन्दा सुध्रिएर गएको प्रारम्भिक परिणामले देखाउँछ ।
विश्लेषक झा अहिलेको प्रारम्भिक परिणामले पहिलो र दोस्रो चरणको निर्वाचनमा जस्तै मुख्य दल नै मधेसमा बलियो शक्तिका रूपमा उदाउने अनुमान लगाउँछन् । ‘०४६ सालदेखि नै मुख्य दलले मधेसमा ‘पावर एक्सरसाइज’ गरेको र त्यही कारण उनीहरूको नै अहिले पनि मधेसमा वर्चस्व कायम रहने प्रारम्भिक नतिजाले देखाएको छ,’ झा भन्छन् ।

राजपाले मधेसको मुद्दा उठाउने शक्ति आफू मात्र भएको र मधेसको पहिलो शक्ति हुने दाबी गरे पनि उसको परिणाम त्यस्तो देखिएको छैन ।‘मधेसको मुद्दा अब मधेसवादी दलले मात्र उठाउँछन् भन्ने अवस्था सरकारले संविधान संशोधन विधेयक (संसद्बाट असफल भए पनि) संसद्मा लगेदेखि नै हटिसकेको थियो, अहिले निर्वाचनको प्रारम्भिक परिणामले पनि त्यही देखाइरहेको छ’, मधेस मामिलाका जानकार डा.राजेश अहिराजले अन्नपूर्णसँग भने, ‘मधेसी दलभन्दा राष्ट्रिय पार्टीकै वर्चस्व देखिने सम्भावना छ ।’

राजपाले आफूलाई मात्रै मधेसको शक्ति ठाने पनि उसको संगठन कमजोर रहेको, केन्द्रीय नेता चुनावमा नखटिएको, टिकट वितरणमा नेताबीचमै असन्तुष्टि देखिएको र केन्द्रीय समितिको बहुमतको निर्णयमा निर्वाचनमा नगएको कारण पनि निर्वाचनमा राजपा कमजोर देखिएको विश्लेषक चन्द्रकिशोर तर्क गर्छन् ।

यसअघिका स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टीका रूपमा रहेको छ । एमालेले दोस्रो स्थानको कांग्रेसभन्दा ५० बढी स्थानीय तहमा जितेको छ । एमालेले २७६, कांग्रेसले २२६, माओवादी केन्द्रले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ र अन्यले २५ स्थानमा जित निकालेका थिए ।

राजापाले यसअघि दुवै चरणको निर्वाचन बहिष्कार गरेको र उसको आधारक्षेत्र पनि मधेसको दुई नम्बर प्रदेश नै भएकाले उसको यस अगाडिको प्रदेशको नतिजा शून्यमा थियो । तर, निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले भने यसअघिको निर्वाचनमा क्रमशः ८ र ६ स्थानीय तह जितेको छ ।

प्रदेश नम्बर ४ बाहेक कांग्रेसले एमालेलाई कुनै पनि प्रदेशमा बढी स्थानीय तह जितेर पहिलो पार्टी बन्न दिएको थिएन । तर, दुई नम्बर प्रदेशको प्रारम्भिक नतिजामा आएकै अनुपातमा मतपरिणाम आइरहेकामा कांग्रेस प्रदेश नं. २ मा भने एमालेभन्दा ठूलो पार्टी बन्ने सम्भावना छ । यो समाचार तयार पार्दासम्म मतगणना भइरहेका कुनै पनि स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक नभए पनि कांग्रेसले ४४ स्थानमा अग्रता लिइरहेको छ । त्यसपछि एमाले, माओवादी र राजपा दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धा गरिरहेका छन् । एमालेले २५ स्थानीय तहमा अग्रता लिइरहेको छ । त्यस्तै, माओवादी केन्द्रले २२, राजपाले १७, संघीय समाजवादी १५ र नेपाल लोकतान्त्रिकले ५ स्थानमा अग्रता लिएको छ ।

सोमबार प्रदेश २ का कुल १३६ मध्ये १३५ स्थानमा मात्रै निर्वाचन सम्पन्न भएको थियो । सप्तरीको राजविराज नगरपालिका-१५ का एक जना उम्मेदवारको निधन भएपछि उक्त वडाको दुई वटा मतदान केन्द्रमा भने असोज ५ मा निर्वाचन हुने भएको छ । अन्य १३५ वटै स्थानमा सोमबार रातिदेखि नै मतगणना जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । केही स्थानमा भने राजनीतिक दलको विवादका कारण केहीबेर मतगणना स्थगन हुने र फेरि सुचारु हुने क्रम चलिरहेको छ ।

natija



Related News


यसमा तपाइको मत


Comments