08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नीलो गुलाफ (कथा )




नीलो गुलाफ (कथा )

-लक्ष्मण सिटाैला-

पुल तरेर पारी पुगेपछि अकस्मात पानी पर्यो। यो पानीलाइ यतिबेला नै किन पर्न परेको होला ?। गर्मी थियो। त्यसैले पर्यो। पर्नु उस्को धर्म हो। भिज्नु हाम्रो बाध्यता । छाता थिएन। छाता नहुनु हाम्रो कमजोरी । तर हिंड्दा आकाशमा हेरेकै हो। खाली थियो आकाश । थिएन कतै उडन्ते भुवा । म भिजे । उनी भिजिन। बाटो भिज्यो। घासहरु भिजे। बाटो चिप्लो भयो । जस्तो रुदा आँखाको कोष भिज्छ लपक्कै। आँखा रुदा गालाको भिर भिजे जस्तै भिजिरह्यो त्यो पहाड । ओत लाग्ने स्थान थिएन। म पछि छु। उनी अघि छिन। पहाडी बाटो । रातो माटाे । एउटा रुख आयो। बाक्लो हागाबिगा भएको । एक झर पानी ओत्ने। उनको लुगा निथ्रुक्क भिजेको थियो। कपालबाट पानी तर्किरहेको। जिउमा लुगा टासिदा अर्कै राम्री।एउटा अर्कै सुन्दरता। कस्तो गुलाफी मुहार । पानी पर्दा भिजेर उठेको त्यस्को इन्द्रेणी । सर्वाङ्ग भिजेकी। उन्को निदार।अर्ध चन्द्रमाकारको। उन्को सर्वाङ्गतामा एउटा माद थियो।

कस्तो बैशाखी आँखा। पानीले भिज्दा अलिकति उठेको उन्को वक्षस्थलअर्कै झन्झनाहट । अर्कै इन्द्रेणी । अर्कै उभार। भिजिरहन मन लाग्यो। पानी बौलाहा हो। म पनि बौलाहा हु। यो सारा सारा उत्ताउलो उभार उत्ताउलो जगत। यसरी पहिलो चोटि भिज्दै छु म प्रकृतिसग । अलिकति बाटो लम्बिदिए हुन्थ्यो । अलिकति समय लम्बिदिए हुन्थ्यो । सारा कम्पन । यो खुसीको चपल दहमा पौडिन मन लाग्यो। धोइएको शरीरबाट प्राकृतिक अत्तर मगमगाइ रहेको छ । छोउ छोउ लाग्यो। बोलाउन मन लाग्यो। पानीको सरसराहटले म बोलेको उनी सुन्दिनन। कानैमा गएर तातो श्वास फ्याक्तै भने -

"ओत लागौन है ! "

उनी रोकिइन। मलाई हेरिन। मुस्कुराइन। रुख नजिकै पुग्यौं । पानी झन बढ्न थाल्यो। बादल उडिरहेको आकाश । कुहिरोले छोपेको पहाड । अलिकति पर पनि केही देखिन्न। चकमन्न् छ। एकान्त छ। यो निकटता पनि किन यति मीठो ! सिर्सिर बतास छ्ल्केको छ उनको कपालबाट । उनी चिसो अनुभुत गरिरहेकि थिइन । त्यो कालो केशरासी हावाले उडाएर बिगारिदियोस भन्ने चाहन्थे म। अहिले त पानीले भिज्यो। पानीको छिटाले भिजाएको त्यो दिब्य मुहारमा मेरो खुसीको मखमली छल्केको छ। हावाको बेगसगै दर्किरहेको छ। छड्के पानीको धारले रेटेको छ उनको छिनेको कम्मरलाई। सलक्क परेको रुखको फेद। त्यही फेदको फेरोलाइ च्याप्प समातेर उभिरहेका हामी दुई । निरन्तर हावाको झोक्काले छोइरह्यो उनलाइ। पातलो हावा तर चिसो । पानीको कण मिसिएको। जहाँ छुन्थ्यो हावाले म त्यतै हेरिरहन्थे। मलाई हावाको छुवाइ देखेर ईष्र्या लाग्न थाल्यो।

मलाई छलेर उन्लाइ छुने त्यो बतास । अह मलाई मन परेन। तर बेला बेलामा त्यो प्रबेगले सलक्क अगाडि आएको कपाललाइ पछाडि धकेलिदिन्थ्यो। खोइ किन पो हो मलाई यो दृश्यले निकै रोमाञ्च बनाउथ्यो। निधारबाट ओठ हुँदै चिउडाेबाट तप्किरहेको पानी हेर्दै छु। कस्तो आनन्दको त्यो मुहार। त्यसमाथी पनि मलाई हेरेर मुस्काएको त्यो कम्पित आँखा ।

गाजलको धार बगेर तप्केको पानी । अन्जुलीमा थापे। सगै छौ। छोइएको छौ।पानीको पातलो धर्सा बगिरहेको छ हाम्रो छुवाइ बिचबाट । इन्द्रेणी पर्यो।पारी शिव मन्दिर छेउमा । आउने जाने कोहि छैन।बाटो एक्लै छ। यो बिराट पृथ्वीमा हामी एक्लै एक्लै । आहा ! हामी । यो हामी भित्रको एकै किरण । एकै उज्यालो !!

अगाडि देखिएको पुल एक्लै छ। सगै सगै उभिएका रुखहरु साक्षी छन। हामीले छोएको यो रुखलाइ अरु रुखहरुले हेरिरहे जस्तो लाग्यो। एउटा पुरुष मनको अगाडि उभिएको स्त्री स्वरुप ! अलिकति लज्जा ।अलिकति संकोच ।अलिकति डर। अलिकति सन्देह । अलिकति माया । अलिकति काउकुती सबै सबै मिसिएको । पानी झन झन बर्सिदिए हुन्थ्यो भनेर सोचे। भुइ कुहिरो अझै बाक्लो गरेर लागिदिए हुन्थ्यो भनेर सोचे। समय अझै लम्बिदिए हुन्थ्यो भनेर सोचे। मनभित्र सोचाइको नदी उर्लिन थाल्यो। यो एकान्त कति प्यारो । यो घनघोर बर्षा कति मीठो । उनको यो सामिप्यता कति मीठो । त्यो छल्केर चिसो बोक्तै डुलिरहेको हावा कति प्यारो। प्यारो मान्छेसग उभिदा सगै उभिएको त्यो पहाड अझै कति मायालु ।

पानी थामिएन। नथामियोस पनि । भुइ कुहिरो हटेन नहटाेस यो पनि । हामीलाई कसैले नदेखुन। हामी कसैलाई नभेटु। यो समय किन यति धेरै प्रीतिकर लागेको । पानीले गाएको गीत किन यती प्रीतिकर । निथ्रुक्क छिन उनी। लाली पखालिएको पानी चुहिनु अनौठो त के होर । गाजल पखालिएको पानी आँखा भएर बगिदिनु त के हो र! तर ती सबै दृश्यले अकिन्चन आक्रमण गरिरह्यो मलाई । आँखा पखालिएको पानी । आखाको नानी छोएर बगेको बतास । त्यही रोकिदिउकी जस्तो लाग्यो। नजिकै छौ। यति नजीक कि हामीले फेरेको श्वास पनि सुन्छौ एक अर्काको । धड्कन धेरै बडेको सुने उन्को। सगै छौ हामी । सपक्कै टासिएर पानी छल्दै उभिएको रुखको फेदमा ।

आनंद के यहि हो ? उत्फुल्लता के यहि हो ? यो के हो ? अलिकति माद लागे जस्तो। धेरै त मायाको नशा लागेजस्तो । मुहारको दिप्ती यति बलिरह्यो कि वरिपरि नै बले जस्तो। नजरबाट बिस्तारै उठेर आयो एउटा अनमोल उभार। त्यो चकमन्नतामा एक्कासि बोलेछु-

"मैले मागेको दिन्छ्यौ" ?

प्रश्न नसकिदै मौन स्वीकृति आयो। म खुसी भए । शायद यति धेरै खुसी पहिलो चोटि हुँदैछु । मुटुको धड्कन बढ्यो। श्वास फुलेर आयो मानौ प्रभातको कलिलो घामले फूललाइ छोइरहेछ।ओठ छोएर बगिरह्यो त्यतिनै बेला एउटा कलिलो हावा । अलिकति मिसिएको थियो सुगन्धित मायाको अत्तर । महकायो सारा परिदृश्य । भुइ कुहिरो डम्म लागेको थियो। रुखको हागाबाट तप्केको पानी हामी दुवैको ओठमा परिरहेको थियो। एकछिन त केही सुनिएन। शुन्य जस्तो । कहि कतै केही देखिएन। भुइँ कुहिरोले सघायो हाम्रो शरीरलाई छोप्न। वरिपरि उठेर हेरिरहेका घाँसका मुनाहरु पनि आफै लजाए । त्यो नीलो गुलाफी बैँस जगमगायो।

एकान्त पनि यति प्रीयकर लागेको यो पहिलो चोटि हो। उन्को आखाको भृकुटीबाट एउटा उज्यालो छायां मै तिर बिस्फारित भयो। रुखबाट एक जोडी चरी पारी भुरुरु उडेर गए। भुइ कुहिरो बिस्तारै हट्न थाल्यो। पारी शिवालय मन्दिर अलिकति देखिन थाल्यो। पानी थामियो। पारी मन्दिरमा बजेको घन्टको प्रध्वनीले एउटा अर्कै प्रमोदिता लहराउन थाल्यो कानमा ।

असरल्ल परेको कपाल मिलाउदै कम्पित स्वरले बोल्छिन उनी -

" पानी त थामियो नि अब जाने होइन ?"

केहिबेर अघिको बोली र अहिलेको बोलिमा फरक छ उनको।पहिलेको बोली प्यास मिसिएको बोली । अहिलेको बोली तृप्तीको बोली । अहिलेको आवाज मधुरता मिसिएको आवाज। अहिलेको कम्पन माया मिसिएको कम्पन । पहिलेको ध्वनि चाह मिसिएको ध्वनी । अहिलेको ध्वनि प्राप्तिको ध्वनि । गुलाफ भिजे जस्तै त्यो मुहारको दिब्य दर्शन पाउँदा आज कति खुसी भए म । कस्तो यो तृप्तीको झन्कार ! सरदको तारबाट बजिरहेको सुखद आलाप जस्तै । शरीर भरी भरी भरिएको आनंद बिसाएर शान्त निर्मल आकाश जस्तै स्वच्छ सानन्द भए म । अघिअघिको तातो सबै सबै निख्रीएर एउटा प्रशान्त उज्यालो तर्फ लम्कियौ हामी । भुइ कुहिरो हट्यो बल्ल देखिए घरहरू । पृथ्वीबाट न्यानो बाफ माथी माथी नीलो आकाश तर्फ उठिरहेको थियो। अस्तु !!!

(लक्ष्मण सिटौलाको फेसुबुकबाट साभार) 

 

 

 



यसमा तपाइको मत


Comments