08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

' डेंगीको प्रकोप अकल्पनीय छ '




' डेंगीको प्रकोप अकल्पनीय छ '

-डा.रवीन्द्र पाण्डे-

काठमाडौं उपत्याकामा डेंगीको प्रकोप अकल्पनीय छ | घरघरमा सिकिस्त बिरामी छन् | यसअघिंका डेंगीका प्रकोपभन्दा यो निकै फरक छ | अधिकांश संक्रमितलाई कोभिड भन्दा गाह्रो भएको छ | सबै अस्पताल प्याक छन् | आइसीयु र भेन्टिलेटरमा धेरै संक्रमित छन् | निको भएका संक्रमित निकै कमजोर अवस्थामा छन् | पोस्टकोभिड जस्तै पोस्ट डेंगी सिन्ड्रोम कष्टप्रद छ |

जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरु छिटो निको भएका छन् | जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ, उनीहरु खान तथा पिउन डराउँदा सिकिस्त भएका छन् | पारासिटामोलको चर्को अभाव छ | धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन |

पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ | कलेजोमा असर गरेको छ | डेंगीमा पारासिटामोलको बिकल्प छैन | ज्वरो / टाउको दुखाइ / हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन |

अहिलेको डेंगीले कतिपय बिरामीलाई हातखुट्टा नचल्नेसम्म भएको छ |

तपाईं वा आफन्त संक्रमित भएको छ भने यी कुरामा ध्यान दिनुहोला –

१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा / किवी / अनार / जुनार / पाकेको फर्सी / पालुंगो / दुध / जीवनजल, सादा पानी पटकपटक प्रशस्त खुवाउनुहोला |

२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला |

३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला |

४. शरीरमा एलर्जीजस्तै बिमिरा भएमा एलर्जीको औषधि सेवन गर्नुहोला |

५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला |

६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला | भरे / भोलि नभन्नुहोला |

७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे Febrile seizure अर्थात बेहोश हुन सक्छन | ज्वरो नियन्त्रण नभए १ मिनेट पनि घरमा नराख्नुहोला |

८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला |

९. डेंगीमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ | मेवाको पातले डेंगी निको गर्दैन | प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्दछ | त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला | मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो |

१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिनहरु नखानुहोला | खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला |

११. लक्षण देखिनेबित्तिकै Blood CBC, Dengue Prophile टेस्ट गर्नुहोला | २ दिन बिराएर Blood CBC टेस्ट गर्नुहोला | प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसंग तुरुन्तै सम्पर्क राख्नुहोला |

१२. डेंगीले धेरै दुख दिन्छ तर सितिमिति मार्दैन | मनोबल उच्च राख्नुहोला |

डेंगी एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन | संक्रमितलाई टोकेको लामखुट्टेले टोकेमा मात्र सर्दछ | तसर्थ लामखुट्टेको टोकाइबाट बच्ने हर प्रयास गर्नुहोला | यहाँहरुको सुस्वास्थ्यको कामना गर्दछु |



Related News


यसमा तपाइको मत


Comments