16 Chaitra, 2080 / 29 March , 2024
काठमाडौं, २९ पुस । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर रिहा भएका हुन् ।
पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाण्डौ उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाण्डौको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।
गएको कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गएको कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।