12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

धर्मभक्त माथेमालाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा 




धर्मभक्त माथेमालाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा 

काठमाडौं, १३ माघ । सहिद धर्मभक्त माथेलमाले प्राणदण्ड पाउनु भएको ठाउँ सिफल उकालोमा  आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । 

आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिश स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यसलाई थप सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको हो । 
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गरिन् । ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलीदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’ 

माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानव सेवा आश्रम उहाँकै नामबाट बनाउने योजनामा छौँ । उपप्रमुख डंगोलको भनाइ थियो । 
स्मृति सभामा वडा ७ का अध्यक्ष बिमलकुमार होडाले, सहिदहरुले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भनेर दिएको सन्देश ग्रहण गर्नुपर्ने धारणा राखे । अधिकार प्राप्तिका कोणबाट नागरिकहरुलाई प्राप्त भएको सुविधा जोगाउन सहिदले देखेको सपनालाई साक्षी राखेर काम गर्नुपर्ने होडाको भनाइ थियो । ‘माथेमाले प्राणदण्ड पाएको स्थान धार्मिक स्थल हो । यस क्षेत्रमा सहिद सम्बन्धी अध्ययन गर्न सकिने पुस्तकालय, अनुभूति गर्न सकिने योगदान सम्बन्धी सामग्री सहितको विशेष स्थान बनाउनुपर्छ । यसका लागि वडाले अगुवाई गर्नेछ’ होडाको भनाइ थियो ।  

सहिदहरुले नागरिक स्वतन्त्रताबाहेक अरु केही पनि अपेक्षा गर्नुभएको थिएन । सभामा बोल्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले भने,‘ हामीले सहिदका लागि होइन, आफ्नै लागि उनीहरुका योगदानको सम्झना गर्न जरुरी छ ।’

माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उहाँलाई नपुग्दो केही थिएन । उहाँ दरवारभित्रैको पहुँचवाला थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिनुभयो । शारिरीक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए । वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथ प्रजा परिषद गठन गरेका थिए ।   

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उहाँलाई प्राणदण्ड दिइएको थियो । उनी बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । ३ पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उनी ३१ वर्षको मात्र थिए । 

वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो । 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । 

धर्मभक्तले प्रतिवन्धित समयमा राणाहरुको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरुलाई व्याया सिकाउने ठाउँ बनाएका थिए ।  
 




यसमा तपाइको मत


Comments