16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रियादमा इरानी दूतावास सात वर्षपछि पुनः खुल्यो




रियादमा इरानी दूतावास सात वर्षपछि पुनः खुल्यो

काठमाडौं, २४ जेठ । रियाद, जेठ २४ :  करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ। चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो।
चिनियाँ मध्यस्थतामा तेहरान र रियादबीच भएको पछिल्लो सम्झौताअन्तर्गत वर्षौंदेखिको द्वन्द्व अन्त्य गर्न सहमत भएको केही महिनापछि मङ्गलबार साउदी अरबको राजधानी रियादमा इरानको दूतावास पुनः सञ्चालन भएको छ। सातवर्षको इरानी दूतावास रियादमा खुलेको हो। 
राजदूतावास उद्घाटन समारोहलाई रियादमा सम्बोधन गर्दै इरानका उपविदेशमन्त्री अलिरेजा बिग्देलीले साउदी अरब र इरानबीचको सम्बन्धका विविध आयामको चर्चा गरे। उनले साउदी अरबमा इरानको झण्डा पुनः फहराएपछि दुई देशबीचको सहकार्य नयाँ युगमा प्रवेश गरेको बताए। 

आपसी समझदारी, स्थायित्व र शान्तिका निम्ति राष्ट्र–राष्ट्रबीचको सञ्चार र संवादका लागि कूटनीति नै उत्तम माध्यम भएको उपविदेशमन्त्री बिग्देलीले बताए। उनले असल छिमेकीको सिद्धान्तका आधारमा छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्न इरान सधैं इच्छुक रहेको बताए। आर्थिक सम्बन्ध र आपसी लगानी प्रवद्र्धनले क्षेत्रीय शान्ति र स्थायित्व हासिल गर्न मद्दत पुग्ने तर्क उनले गरे। 

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीका अनुसार जेद्दास्थित इरानको महावाणिज्य दूतावास र इस्लामिक सहयोग सङ्गठनको सम्पर्क कार्यालय पनि एक दिन पछि फेरि सञ्चालनमा आउनेछ।  खाडी राष्ट्रका क्षेत्रीय प्रतिद्वन्द्वी इरान र साउदी अरब बीच गत मार्चमा आपसी सम्बन्ध पुनः स्थापना गर्न सहमत भएपछि मध्यपूर्वको स्थायित्व र सुरक्षामा देखिएको अनिश्चय हटनाका साथै त्यसबाट  यमनदेखि सिरियासम्म क्षेत्रीय द्वन्द्वलाई कम गर्न मद्दत मिलेको थियो।

चीनको बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः नवीकरण गर्न र आफ्ना दूतावास एवं कूटनीतिक नियोग पुनः खोल्ने सम्झौता भएको थियो। चीन, साउदी अरब र इरानद्वारा संयुक्त रूपमा जारी गरिएको त्रिपक्षीय विज्ञप्तिअनुसार साउदी र इरानले संयुक्त राष्ट्र संघको वडापत्रका सिद्धान्त र उद्देश्यहरूको पालना गर्दै वार्ता र कूटनीतिको माध्यमबाट आफ्ना असहमतिहरूलाई समाधान गर्न सहमति जनाएका थिए। 
 



Related News


यसमा तपाइको मत


Comments