14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, २५ कात्तिक । नेपाल र कोरियाबीच नेपाली श्रमिकको दक्षता बढाउने सम्बन्धमा सम्झौता भएको छ। यस सम्बन्धमा नेपालको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र दक्षिण कोरियाको ग्लोबल इन्स्टिच्युट फर ट्रान्सफरिङ स्किल्स (गिफ्टस) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
दक्षिण कोरियाको एचआरडीअन्तर्गत रहेको गिफ्ट्सका कार्यकारी निर्देशक बियोङ वुक ली र प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यले हस्ताक्षर गरेका हुन्। तालिम प्रतिष्ठानले विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गर्दै आएका १५ वटा तालिम केन्द्रलाई प्रदेश तहमै सम्झौता गरेको छ।
सम्झौता अनुसार आगामी दिनमा कोरिया जाने नेपाली युवालाई तालिमको सीप परीक्षण, प्रमाणीकरण र स्तरीकरण गरिने छ। कोरियामा काम गर्ने नेपाली श्रमिकहरूलाई कोरियाका रोजगारदाताले एकदमै मनपराउने गरेको गिफ्ट्सका कार्यकारी निर्देशक लीले बताए।
इपिएस कोरिया शाखाका निर्देशक गुरूदत्त सुवेदीले थप कार्ययोजना बनाएर अघि बढ्ने बताए। प्रतिष्ठानबाट अब दिइने तालिम कोरिया जाने नेपालीहरूका लागि मात्र नभएर स्वदेशमै रोजगर हुन पनि सघाउने बताए।
प्रतिष्ठानले कोरियाको श्रम बजारसँगै नेपालको श्रम बजार तथा अन्य गन्तव्य मुलुकलाई आवश्यक पर्ने खालको श्रम शक्ति उत्पादन गर्ने दाबी पनि गरेको छ। प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यले यस्तो खालको तालिम प्रदान गरेपछि कोरियामा जाने कामदारलाई समेत थप सहज हुने बताए।